स्टोरेज आयोजनामा मिश्रित लगानी उपयुक्त

दिगो र विश्वसनीय ऊर्जा प्राप्त गर्न जलाशय तथा अर्धजलाशय अर्थात् स्टोरेज आयोजना बनाउन अग्रसर हुनुपर्छ

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ऊर्जाका रूपमा जलविद्युत् आयोजना हो । जलविद्युत्लाई आर्थिक विकासको उपयुक्त आधारसमेत भनिएको छ । तर, स्वयं जलविद्युत् क्षेत्रभित्रको इकोसिस्टम (उत्पादन, प्रसारण, उपभोग र व्यापार) भने सन्तुलनमा छैन । नेपालमा विद्युत्को कुल जडित क्षमता २३ सय मेगावाट हाराहारी छ, जुन पछिल्लो समय बढ्दै पनि गएको छ । तर, विद्युत्को उच्च माग भने १६–१७ सय मेगावाट हाराहारी छ । यसरी नेपालमा विद्युत्को मागभन्दा उत्पादन बढी भई भारत निर्यातसमेत गर्न थालिएको छ । 

मागभन्दा बढी विद्युत् उत्पादन भए पनि हिउँदमा उत्पादन घट्छ । यस्तो अवस्थामा पुनः भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । साथै, प्रसारण लाइन नबनेर केही जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेका छैनन् । प्रसारण लाइन नबनेकै कारण औद्योगिक क्षेत्रमा मागअनुसार विद्युत् पुर्याउन सकिएको छैन । यसरी हेर्दा अझै पनि हाइड्रोपावरको इकोसिस्टम सन्तुलनामा छैन । त्यसलाई सन्तुलनमा राख्न सक्नुपर्ने आजको चुनौती हो । यसमा सन्तुलन राख्न सकिएन भने हाइड्रोको इकोसिस्टम दुर्घटनामा जान सक्छ । 

नेपालमा लामो समयसम्म विद्युत् उत्पादनमा मात्रै बढी फोकस गरियो । तर, त्यसअनुसार विद्युत् प्रसारण तथा खपत विस्तार गर्ने कार्यमा जोड दिइएन । फलस्वरूप नेपालमा विद्युत् खेर जाने अवस्था आइसकेको छ । पछिल्लो समय विद्युत् उत्पादन उच्च मात्रामा बढ्दै जाने देखिन्छ । तर, त्यसअनुसार खपत बढाउने गरी काम गरिएको छैन । फलस्वरूप भोलिका दिनमा पनि हाइड्रोको इकोसिस्टममा असन्तुलन कायमै हुने देखिन्छ । त्यो अवस्थामा विद्युत्को खपत बढाउन अग्रसर हुनुपर्छ । भारत विद्युत् खपतको उपयुक्त बजार हो । साथै, स्वदेशी खपतमा पनि अग्रसर हुनुपर्छ । 

वर्षात्मा निर्यात हुने गरे पनि हिउँदमा भारतबाट नै विद्युत् आयात गर्नुपर्ने बाध्यता पनि कायमै छ । किनकि, नेपालमा ऊर्जा सम्मिश्रण कमजोर छ । जलाशय तथा अर्धजलाशययुक्त आयोजना आवश्कयताअनुरूप बनिसकेका छैनन् । अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । यसकारण बर्खाको वेला खोलामा पानीको बहाव (सतह) बढी हुँदा पूर्ण क्षमतामै आयोजना सञ्चालन गर्न सकिन्छ । र, नेपालबाट भारतमा विद्युत् निर्यात गर्नसमेत सकिन्छ । हिउँदमा भने खोलामा पानी बहाव (सतह) कम हुन्छ । यति वेला कुल क्षमताको ३० प्रतिशत हाराहारीमा मात्रै विद्युत् उत्पादन हुन्छ । 

अहिले विद्युत्को कुल जडित क्षमता २३ सय मेगावाट हाराहारी छ । तर, हिउँदमा भने एक हजार मेगावाट हाराहारी विद्युत् उत्पादन हुने गरेको छ । तर, नेपालमा विद्युत्को अधिकतम माग भने १६–१७ सय मेगावाट रहेको छ । त्यसअनुसार हिउँदमा भारतदेखि नै विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । यो अवस्थामा दिगो र विश्वसनीय विद्युत् प्राप्तिका लागि ठूलो चुनौती छ । तसर्थ, अब दिगो र विश्वसनीय ऊर्जा प्राप्तिका लागि जलाशय तथा अर्धजलाशय अर्थात् स्टोरेज (वर्षात्को पानी जम्मा गरेर हिउँदमा विद्युत् उत्पादन गर्ने) आयोजना बनाउनतर्फ अग्रसर हुनुपर्छ ।

लामो समयसम्म विद्युत् उत्पादनमा बढी फोकस गरियो । तर, त्यसअनुसार विद्युत् प्रसारण तथा खपत विस्तार गर्ने कार्यमा जोड दिइएन । फलस्वरूप नेपालमा विद्युत् खेर जाने अवस्था आइसकेको छ ।

त्यसो त स्टोरेज आयोजना बनाउने काम आफैँमा चुनौतीपूर्ण छ । किनकि, यो राज्यको आवश्यकता भए पनि आर्थिक रूपमा फिजिबल छैन । यस्ता आयोजना बनाउन खर्च बढी लाग्छ । त्यसअनुसारको लगानी प्रतिफल हुँदैन । तसर्थ, स्टोरेज आयोजनामा आकर्षण बढेको छैन । यस्तो अवस्थामा सरकार स्टोरेज आयोजना बनाउन अग्रसर हुनुपर्ने हो । तर, सरकारको लगानी गर्ने क्षमता कमजोर छ । निजी क्षेत्र पनि त्यसमा आकर्षित हुन सकेको छैन । तसर्थ, अब कसरी हुन्छ, लगानी जुटाएर स्टोरेज आयोजना बनाउनतर्फ लाग्नुपर्छ । त्यसमा एचआइडिसिएल पनि अग्रसर भइरहेको छ ।

स्टोरेज आयोजना बनाउन ठूलो मात्रामा पुँजी आवश्यक पर्ने भए पनि सरकारसँग पर्याप्त पुँजी छैन । निजी क्षेत्रसँग पनि सोअनुसार पुँजी भएको देखिँदैन । तसर्थ, स्टोरेज आयोजना बनाउनका निमित्त विदेशी लगानी भिœयाउन जोड दिनुपर्छ ।

कुन मोडेलमा लगानी खोज्ने ? 
अहिले बजारले निर्धारण गरेको ब्याजदरमा कमर्सियल कर्जामा जलविद्युत् आयोजना बनाइएको छ । सोही मोडेलमा स्टोरेज आयोजना बनाउन सकिँदैन । कारण, यसमा लागत बढी लाग्छ । बजारले नै निर्धारण गरेको ब्याजदरमा कर्जा लिएर आयोजना बनाउँदा प्रतिफल आउँदैन । आयोजनाबाट हुने आम्दानीले बैंकको ब्याज तथा ऋण तिर्नमै ठिक्क हुन सक्छ । अनुदान तथा सस्तो ब्याजदरमा पनि पर्याप्त कर्जा पाउने सम्भावना हुँदैन । तसर्थ, स्टोरेज आयोजना बनाउन कमर्सियल मिश्रित लगानी  (कमर्सियल र सस्तो ब्याज भएको मिश्रित कर्जा) मोडेलमा स्टोरेज आयोजना बनाउन जोड दिनुपर्छ । 

स्वदेशी बैंक तथा एचआइडिसिएलजस्ता संस्थाबाट कमर्सियल ऋण र विदेशी दातृनिकायबाट सस्तो ब्याजदरमा ऋण लिन सकिन्छ । त्यसरी ऋण लिएमा कुल ब्याज सस्तो पर्न जान्छ । त्यसपछि आयोजनाले लगानीअनुसार प्रतिफल दिन सक्छ । त्यसरी स्टोरेज आयोजना बनाउन मिश्रित लगानी  मोडेल राम्रो हुन्छ । 

अर्काे विकल्प भिजिएफ 
स्टोरेज आयोजना बनाउन प्रोत्साहन गर्ने अर्काे नीति भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) पनि एक हो । आयोजनाले लगानीअनुसार प्रतिफल नदिने अवस्था आएमा सरकारले त्यहाँ भायबिलिटी ग्याप फन्डिङको सुविधा दिने नीति ल्याउनुपर्छ । त्यसपछि स्टोरेज आयोजना बनाउन आकर्षण बढ्न सक्छ । 

सरकारले ल्याएको नीति कति ठीक ? 
सरकारले बजेटमार्फत स्टोरेज आयोजना पार्ट–पार्टमा फरक–फरक प्रवद्र्धकमार्फत बनाउने नीति ल्याएको छ । तर, अझै त्यो कार्यान्वयन हुन सकेको छैन । आयोजनाको ड्याम एउटा कम्पनीले बनाउने र अर्काेलाई विद्युत्गृहलगायतका संरचना बनाउन लगाउने भन्ने सरकारको नीति छ । त्यो भएमा एउटै प्रवद्र्धकलाई लगानीको भार बढी पर्दैन र आयोजना बनाउन सजिलो हुन्छ । यसमा ड्यामतर्फको प्रवद्र्धकले मुख्यतः विद्युत्गृहलाई पानी बिक्री गरेर आम्दानी गर्छ । साथै, सोही ड्याममा माछापालन गरेर थप आम्दानी गर्न सकिन्छ । 

यसका अलावा पर्यटक आकर्षित गरेर अतिरिक्त आम्दानी गर्न सकिन्छ । विद्युत्गृहले भने विद्युत् बिक्री गरेर नै आम्दानी गर्ने भयो । सरकारले ल्याएको यस मोडेलअनुसार पनि स्टोरेज आयोजना सहज रूपमा बनाउन सकिन्छ । 

रेटिङ नहुँदा समस्या
स्टोरेज आयोजना बनाउन विदेशी लगानी तथा ऋण अपरिहार्य छ । तर, नेपालको अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ नहुँदा विदेशी लगानीकर्ता तथा ऋण दिने संस्था आकर्षित हुन सकेका छैनन् । रेटिङ नहुँदा नेपालमा बढी जोखिम भएको जस्तो देखिएको छ । विदेशी लगानीकर्ता काम गर्न विशेषतः प्रतिफलको ग्यारेन्टी खोज्छन् । तर, त्यसमा पोलिसी तथा ‘ब्युरोक्रेटिक हडल्स’ छ । यस्ता विषयले पनि समस्या उत्पन्न गरेको छ । तसर्थ, यसको समाधानमा पनि अग्रसर हुनुपर्छ । 

एचआइडिसिएलले के गर्न सक्छ ? 
एचआइडिसिएल पनि विद्युत्सम्बन्धी आयोजनामा लगानी गर्ने गरी स्थापना भएको सरकारी स्वामित्वको कम्पनी हो । त्यसअनुसार त्यस्ता आयोजनामा हामीले लगानी गर्दै आएका छौँ । अब भने एचआइडिसिएल सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय महत्वका ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने गरी अघि बढ्छ । त्यसमा पनि स्टोरेज आयोजनामा लगानी गर्ने तथा लगानी जुटाउने गरी एचआइडिसिएल अघि बढ्छ ।

यस्तै, स्टोरेज आयोजनामा कमर्सियल मिश्रित लगानी लाई मिडलाइज गर्ने गरी काम गर्छ । यदि कुनै स्टोरेजलगायतका राष्ट्रिय प्राथमिकताका आयोजनाले विदेशबाट सहुलियत ऋण लिन्छन् भने त्यसमा हामीले कमर्सियल फाइनान्सिङ गर्न सक्छौँ । यसमा हामी प्रतिबद्ध छौँ । 

यस्तै, आयोजनाहरूलाई विदेशी दातृ निकायहरूबाट लगानी जुटाउन हामीले नै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छाैंै । विश्व बैंकलगायतका विदेशी दातृ निकायले ऋण तथा लगानी गर्दा एचआइडिसिएलमार्फत नै गर्ने गरी अघि बढ्छौँ । विदेशमा यस्तो अभ्यास सुरु भइसकेको पनि छ । 


विदेशी दातृ निकायहरूले ऋण तथा लगानी यत्तिकै गर्दैनन् । लगानी गर्नुपूर्व आयोजना पहिचान गर्ने, जोखिम मूल्यांकन गर्नेलगायतका विषयमा अध्ययन गर्नुपर्ने हुन्छ । साथै, ऋण तथा लगानी गरेपछि पनि निरन्तर आयोजनामाथि आवश्यक निगरागी गर्नुपर्ने हुन्छ । त्यस्ता प्राविधिक काम हामीले गर्नेछौँ भने विदेशी निकायले लगानी मात्रै गरे पुग्छ । यसरी एचआइडिसिएलका माध्यमबाट विदेशी लगानी भिœयाउने गरी काम गर्छाैँ । 

एचआइडिसिएलको रिसोर्स के ? 
अहिले एचआइडिसिएलको चुक्तापुँजी २३ अर्ब ५० करोड रुपैयाँ छ । तर, यति रकमले मात्रै लगानी गर्न सकिँदैन । राष्ट्र बैंकले हामीलाई वित्तीय संस्थाका रूपमा काम गर्न अनुमति पनि दिइसकेको छ । तर, हामीले बैंक तथा वित्तीय संस्थाले जसरी निक्षेप उठाएर लगानी गर्ने भने होइन । 

त्यो अवस्थामा एचआइडिसिएलले वित्तीय स्रोत कसरी जुटाउँछ भनेर प्रश्नहरू आइरहन्छन्, जुन स्वाभाविक पनि हो । यस्तो वेला हामी वित्तीय स्रोत जुटाउनतर्फ पनि लाग्नुपर्नेछ । त्यसका लागि हाम्रो प्रबन्धपत्र तथा नियमावलीले केही म्यान्डेड दिएको छ । पावर ऋणपत्र, ग्रिन बन्डजस्ता वित्तीय उपकरण जारी गरेर रकम उठाउन सक्ने अधिकार दिइएको छ । सोहीअनुसार हामी ऋणपत्र जारी गर्ने तयारी पनि गर्दै छौँ । यस्तै, गैरआवासायी नेपाली (एनआरएन)सँग पनि समन्वय गरेर स्रोत जुटाउने योजनामा छौँ ।

सुझावित समाचार