११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राखेको आरोपमा पक्राउ

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

११ वर्षअघि बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको अभियोगमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका– १० का ३३ वर्षीय महेश केसीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो । 

उनले १३ वैशाख ०६८ मा फिरौती रकम माग्ने उद्देश्यले कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको प्रहरीको भनाइ छ । त्यसवेला नेपाली सेनाको टोलीले विस्फोटक पदार्थ डिस्पोज गरेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एसपी दिनेश मैनालीले विस्फोटक पदार्थ कसुरमा संलग्न अभियुक्त ११ वर्षपछि पक्राउ परेको र उनीविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद लिइएको जानकारी दिए ।

उनले भने, ‘११ वर्षअघि नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखिएको थियो । घटनामा संलग्न अभियुक्त फरार थिए । खोज्दै जाने क्रममा उनी गोदावरीमा लुकिछिपी बसेको सूचना आयो । प्रहरीले पक्राउ गरेर सात दिन म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ ।’ 

प्रहरीका अनुसार अभियुक्त केसीले विस्फोटक पदार्थ राखेपछि इन्देणी कम्प्लेक्सका सञ्चालकसँग टेलिफोनमार्फत फिरौती रकम मागेका थिए । रकम नदिए कम्प्लेक्स उडाइदिने उनको धम्की थियो । यसका लागि उनले समूह नै बनाएका थिए । विस्फोटक पदार्थ डिस्पोज भएपछि उनीहरू फरार भएका थिए । 

प्रहरीका अनुसार उनीविरुद्ध ‘विष्फोटक पदार्थ ऐन’ कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानरत भइरहेको छ ।

सुझावित समाचार