४ मंसिरमा सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभा सञ्चालन गर्ने जिम्मेवारी पाएका थिए ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले । उमेरले ८० कटेका राणाले प्रतिनिधिसभाको अध्यक्षता गर्दा सहजता भएन । पाको उमेरका कारण शारीरिक अशक्तता अध्यक्षता ग्रहण गर्ने क्रममा देखिएको थियो । एक एक शब्दमा उच्चारण गर्ने राणा वेलावेला अकमकिरहेका थिए । हुन्छ र हुन्न भन्नेमै झुक्किएका थिए । असहज भएपछि कांग्रेसकी ईश्वरी न्यौपानेले अध्यक्षता गरेकी थिइन् । नेताहरू बोल्दा उनले समयमा कडाइ गरेकी थिइन् । सभाको कमान्ड गर्न सक्ने क्षमता उनमा देखिएको थियो । अन्तिममा आराम गरेर फर्किएका राणाले सभा टुंग्याएका थिए ।
देउवाको छटपटी
पहिलो बैठकमा ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दा सबै एकाग्र भएर उभिए पनि प्रतिपक्षी दलका नेता देउवामा छटपटी देखिन्थ्यो । शारीरिक अशक्तताले बसिरहँदा पनि उनी हलचल गरिरहेका थिए । एमाले अध्यक्ष ओली उपरखुट्टी लगाएर बसिरहेका थिए । अन्य नेताहरू भने सीधा बसेका थिए । सभामा सबैभन्दा बढी ध्यानपूर्वक कुरा सुन्नेमा गृहमन्त्री लामिछाने थिए । कांग्रेस सभापति देउवाले सम्बोधन गर्दा प्रस्ट बुझिएको थिएन । यहीवेला कांग्रेस महामन्त्री गगन थापा मोबाइल चलाउँदै बसिरहेका थिए ।
गगन थापाको सिट कब्जा
कांग्रेसका सांसदहरू प्रतिपक्षी रोमा बसेका थिए । बायाँपट्टिको चारवटा रोमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र स्वतन्त्र सांसद बसिरहेका थिए । दायाँपट्टिका दुई रोमा विपक्षी कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र स्वतन्त्र सांसद बसेका थिए । पहिलो दल कांग्रेसका सांसदले दायाँपट्टिको दोस्रो रो ओगटेका थिए । पहिलो लहरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का थिए । दोस्रो लहरमा पार्टीका प्रवक्ता प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा, शशांक कोइराला बसेका थिए । कांग्रेसको वरीयताअनुसार प्रकाशशरण बसेको सिटमा गगन बस्नुपर्ने थियो । तर, महत पहिल्यै आएर बसे । दोस्रो लहरको सिट कब्जा भएपछि गगन तेस्रो लहरमा सहमहामन्त्री बद्री पाण्डेसँगै टाँसिएर बसे । अघिल्लो लहरमा प्रकाशशरण बसेपछि गगन तेस्रो लहरमा कोभिड प्रोटोकलअनुसार सिट व्यवस्थापन उल्लंघन गरेर पाण्डेसँगै बसेका थिए ।
माधवलाई नसुनी हिँडे ओली

बैठकमा छैटौँ नम्बरमा जसपा दलका नेता रामसहायप्रसाद यादव बोलिरहेका थिए । यत्तिकैमा एमाले अध्यक्ष ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ बाहिरिए । सभाको अध्यक्षता गरिरहेकी न्यौपानेले यसपछि बोल्ने माननीय सदस्य माधव नेपाल भनेर अगावै सूचित गरेकी थिइन् । माधवको पालो नआउँदै ओली उठेर हिँडे । १० मिनेटभन्दा बढी बोलेका नेपालले जनचाहनाअनुसार काम गर्न सरकारलाई आग्रह गरे । बोली मात्रै होइन, व्यवहारमा गरेर देखाउन उनले जोड दिएका थिए । बैठकमा स्वतन्त्र सांसदहरू बोल्दा रास्वपा, राप्रपा र जनमतका सांसदहरूले थपडी बजाएका थिए ।
जसमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संघीयता र गणतन्त्र ल्याउनेहरूबाटै खतरा रहेको उल्लेख गरे । उनले प्रतिनिधिसभाको यो कार्यकाल सच्चिने अवसर भएको बताए । नेमकिपाका सांसद प्रेम सुवालले संसद्लाई सरकारको रबरस्टाम्प नबनाउन आग्रह गरे । हचुवाका भरमा संसद्मा प्रस्ताव नल्याउन आग्रह गर्दै उनले प्राज्ञिक थलो बनाउनुपर्ने जोड दिए । प्रभु साह, अमरेश सिंह र योगेन्द्र मण्डलले काम गर्ने वेला आएको भन्दै निराशाजनक कुरामा नअल्झिन आग्रह गरेका थिए ।