पर्यटनबाट लाभ लिन कहाँ चुक्यौँ ?

पर्यटकीय प्रडक्टका हिसाबले नेपाल विश्वकै उत्कृष्ट गन्तव्यमै पर्छ । विश्वलाई ट्रेकिङ सिकाउने नेपालमै मुस्किलले एकाध ट्रेकिङ गन्तव्य प्रवर्द्धन गर्न सकिएको छ ।

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

कोभिड महामारीपछि विश्व पर्यटन लयमा फर्किन संघर्षरत छ । नेपालको पर्यटन क्षेत्र पनि तंग्रिन खोज्दै छ । तर, नेपालजस्तो देशमा जति पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आएनन् । सन् २०२२ मा विदेशबाट ६ लाख १४ हजार पर्यटक भित्रिए, जुन संख्या कोभिडअघि सन् २०१९ को तुलनामा ६५ प्रतिशत मात्र हो ।

कोभिडले उकुसमुकुस भएर बसेका पर्यटक धमाधम विश्वव्यापी भ्रमणमा निस्किरहेका वेलामा यो संख्या अपेक्षित होइन । तर, सुधार संकेत भने पक्कै हो । आजको दिनमा विश्वको पर्यटन कसरी अगाडि बढिरहेको छ, त्यो ट्रेन्डलाई क्याचअप गर्नेतर्फ केन्द्रित हुनुपर्छ । विश्व पर्यटनसँग नेपाली पर्यटन पनि सम्बन्धित हुन्छ । हामी बदलिँदो विश्व पर्यटनको ट्रेन्ड समाएर अगाडि बढ्न सक्यौँ भने मात्र हाम्रो पर्यटन उद्योगले फस्टाउने मौका पाउँछ ।

विश्वका पर्यटकीय देशहरूले लय समात्न थालिसकेका छन् । कोभिडअघि पर्यटनलाई त्यति प्राथमिकतामा नराखेका देशहरूले पनि यतिवेला पर्यटक तान्न आक्रामक ढंगले लागिरहेको देखिन्छ । तर, विश्व पर्यटनबाट फाइदा लिन नेपालले समातेको गति भने अत्यन्तै सुस्त देखियो ।

विदेशी पर्यटक बढ्नेबित्तिकै देशमा विदेशी मुद्रा भित्रिन्छ । अहिलेको संकट नै विदेशी मुद्रा सञ्चिति घट्नु हो । सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन विलासी वस्तुको आयात रोक्नुपरेको थियो । यदि विदेशबाट प्रशस्त पर्यटक भित्र्याउन सक्ने हो भने देशमा विदेशी मुद्रा पनि भित्रिनेछ । यसले राज्यलाई फाइदा त हुन्छ नै, सँगसँगै पर्यटन व्यवसायीलाई  पनि लाभ हुन्छ । देशमा रोजगारीका अवसर बढ्छन् । पर्यटन धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमा पर्छ । पर्यटकीय मुलुकले पर्यटनबाट फाइदा लिन नसक्नुको प्रमुख कमजोरी भनेकै विश्व पर्यटनको ट्रेन्डलाई फलो गर्न नसक्नु हो । 

कोभिडपछि कम्बोडिया, थाइल्यान्ड, भियतनाम, इन्डोनेसियाको पर्यटन पनि हेरियो । वल्र्ड ट्राभल मार्टमा लन्डन पनि पुगियो । त्यहाँका पर्यटकीय गतिविधि हेर्दा एसियाली मुलुकमा पर्यटनको सुखद संकेत देखिन्छ । मध्यपूर्व मात्र नभएर दक्षिणपूर्वी एसियामा पर्यटनको राम्रो वेभ आउँदै छ । तर, मध्यपूर्वी र दक्षिणपूर्वी मुलुकले अँगालेको ट्रेन्ड समात्न सकेन भने नेपालले पर्यटनबाट कहिल्यै लाभ लिन सक्दैन । स्मरण छ, हिजोका दिनमा मध्यपूर्वी मुलुकमा पर्यटन भन्ने नै थिएन ।

विदेशी पर्यटक बढ्नेबित्तिकै देशमा विदेशी मुद्रा भित्रिन्छ । अहिलेको संकट नै विदेशी मुद्रा सञ्चिति घट्नु हो । सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन पनि प्रशस्त पर्यटक भित्र्याउन सक्नुपर्छ । यसले राज्यसँगसँगै पर्यटन व्यवसायीलाई पनि लाभ हुन्छ । 

तर, उनीहरूले विश्व पर्यटनलाई फलो गरे । साउदी पर्यटन प्रचारमा एग्रेसिभ छ । दुबई विश्वकै पर्यटनको केन्द्र बनिसक्यो । मलेसिया र इन्डोनेसियाले पर्यटनमा फड्को मारिसके । दक्षिणपूर्वी एसियामा थाइल्यान्ड विश्वकै पर्यटकीय हब बनेको छ । थाइल्यान्ड जसरी पर्यटन प्रवद्र्धनमा जुट्यो र सफलता पायो, अरू एसियाली मुलुकले पनि सोही ट्रेन्ड समाते । श्रीलंका, माल्दिभ्सजस्ता दक्षिण एसियाली देशहरू विश्व पर्यटनकै गाइडलाइन बन्न पुगेका छन् । तर, प्रशस्त सम्भवना भएर पनि नेपालले पर्यटनमा केही गर्न सकेन । 

हामीसँग भएका प्रडक्ट बिक्री गर्न सकेनौँ । नेपालको ब्रान्डिङ नै गर्न सकेनौँ । गुणस्तरीय पर्यटनमा झन् चुक्यौँ । पर्यटकीय प्रडक्टका हिसाबले नेपाल विश्वकै उत्कृष्ट गन्तव्यमै पर्छ । विश्वलाई ट्रेकिङ सिकाउने पनि नेपाल हो । जब कि विश्वलाई ट्रेकिङ सिकाउने देशमा एक–दुईवटा मात्र ट्रेकिङ गन्तव्य प्रवर्द्धन गर्न सकिएको छ । अरू थुप्रै ट्रेकिङ गन्तव्य प्रवद्र्धन गर्नै सकेनौँ । संघीय सरकार मात्र होइन, स्थानीय र प्रदेश सरकार पनि गन्तव्य विकास तथा विस्तारमा चुके । 

नेपालमा कल्चरल र एड्भेन्चर टुरिजमको ठूलो सम्भावना छ । एड्भेन्चर टुरिजमभित्र हिमाल आरोहण, ट्रेकिङ, र्याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, स्काई डाइभ, जंगल सफारी, क्यानोनिङलगायत पर्छन् । सबैभन्दा धेरै आम्दानी सिर्जना हुने पनि एड्भेन्चर टुरिजममै हो, जुन क्षेत्रमा फोकस एकदमै कम भयो । आजको दिनमा नेसनल पार्क टुरिजम अफ्रिकामा केन्द्रित भयो । वाइल्डलाइफ भन्नेबित्तिकै अफ्रिका मात्र सम्झना आउँछ । जब कि नेपालमा पनि १९६४ मै सफारी पर्यटन सुरु भएको थियो । 

अफ्रिका पुगेर वाइल्डलाइफमा रमाउने पर्यटक नेपाल आउने गर्थे । जुन पर्यटकीय प्रडक्ट हामीले मारिसकेका छौँ । विश्वका ठूला हिमालहरू नेपालमा छन्, तर आरोहीहरू विदेशमा रहेका साना हिमाल चढ्न आकर्षित देखिन्छन् । मतलब, हामीले हिमालकै मार्केटिङ गर्न पनि चुक्दै गइरहेका छौँ । सांस्कृतिक रूपमा पनि हामी धेरै धनी छौँ । यहाँ धेरै हेरिटेज साइट छन् । विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल नेपालमै छ । तर, खै त लुम्बिनीमा विश्वभरका बुद्धिस्ट पर्यटक भित्र्याउन सकेको ?

नेपालमा लामो समय एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइसकेको थियो । जसबाट उडान विस्तार गरेर पर्यटक भित्र्याउन पनि समस्या परिरहेको थियो । अब हामीसँग तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । एकै वर्ष भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । तर, भैरहवा विमानस्थल सञ्चालनमा आएको आठ महिना नाघिसक्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । कुवेतको जजिरा एयरवेज र स्वदेशी हिमालयन एयरलाइन्सले यात्रु नपाएको भन्दै उडान रोक्ने बताइरहेका छन् ।

सरकारले तीनवटै विमानस्थल फुल फ्लेजमा सञ्चालन हुने वातावरण सिर्जना गर्नुपर्छ, यसका लागि अन्तर्राष्ट्रिय बजारमा आक्रामक मार्केटिङ हुनुपर्छ । त्रिभुवन विमानस्थलको सेवा सुविधा पनि बढाउनुपर्छ । अझ, निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी भइरहेको छ । हवाई पूर्वाधारमा नेपालले फड्को मार्दै छ, ती विमानस्थलको अधिकतम उपयोग गरेर देशमा पर्यटन विकास र समृद्धिको बाटो तय गर्नुपर्छ । अन्तर्राष्ट्रिय क्यारियरलाई नेपालमा बढीभन्दा बढी ल्याउन पहल गर्नुपर्छ । 

अहिले नयाँ भैरहवा र पोखरा विमानस्थलमा एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सेफ्टी शुल्कमा शतप्रतिशत छुट दिइएको छ । यो सुविधा लम्ब्याएर भए पनि विदेशी वायुसेवा आकर्षित गर्नुपर्छ । स्टेक होल्डर एयरलाइन्ससँग टाइअप गर्नुपर्छ । जति बढी अन्तर्राष्ट्रिय उडान भयो, पर्यटक पनि त्यति नै बढी भित्रिने हुन् । हामीले श्रम गन्तव्य मुलुकमा मात्र नभएर पर्यटक आउने देशमा उडान बढाउन केन्द्रित हुनुपर्छ । युरोप तथा अमेरिकालाई नेपालसँग सीधा हवाई सम्पर्कबाट जोड्नुपर्छ । 

हामीले विमानस्थलदेखि होटेलसम्म राम्रो आतिथ्य सत्कार गर्नुपर्छ । नेपालको विकास पर्यटनमै अडिएको छ । अब पर्यटन प्रवद्र्धनमा सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरू डेडिकेटेड भएर लाग्नुपर्ने देखिएको छ । विश्व पर्यटन बजारमा नेपालको प्रमोसन एकदमै ‘विक’ भएको छ । जसले गर्दा धेरै अवसर गुमिरहेको छ । यी कुरामा ध्यान दिएको खण्डमा हाम्रो पर्यटन तुरुन्त रिभाइभ हुन्छ ।

कोभिडपछि सुस्ताएको पर्यटक आगमन सन् २०२२ मा आधा रिकभरी भएको छ । तर, यो रिकभरीले पुग्दैन । कोभिडपछि भारतीय नागरिकलाई घुमफिरमा निस्कन खुला भयो । तर, भारतबाट जति मान्छे नेपाल भित्रिने अपेक्षा गरेका थियौँ, त्यति आएनन् ।

भोलि चीन खुला हुँदा चाइनिज पर्यटक पनि नेपाल भ्रमणमा आएनन् भने यहाँको पर्यटन क्र्यास हुन सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ । नत्र, पर्यटन क्षेत्रमा भएको निजी क्षेत्रको खर्बौंको लगानी असुरक्षित हुन सक्छ । देशभरि तारे होटेल निर्माण भइरहेका छन् । निर्माणाधीन र पाइपलाइनमा रहेका तारे होटेलमा खर्बभन्दा बढी लगानी हुँदै छ । अरू पूर्वाधारमा पनि उत्तिकै लगानी भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले पनि पर्यटन क्षेत्रमा ऋण लगानी ओइर्याएका छन् । यो लगानी जोगाउन पनि पर्यटन प्रवर्द्धन गर्न जरुरी छ ।

हामी साहसिक र सांस्कृतिक पर्यटनमै केन्द्रित हुनुपर्छ । विश्व्यापी रूपमै साहसिक पर्यटनमा बढी आकर्षण देखिन्छ । यो क्षेत्रमा पर्यटकले पनि मोटो रकम खर्च गर्छन् । तर, हामी विपरीत दिशाबाट परिचालित भइरहेका छौँ । त्यो कमीकमजोरी सुधार गर्नुपर्छ । नेपाल पर्यटक प्रडक्टमा अब्बल छ, प्रचार र ब्रान्डिङ नभएको मात्र हो । निजी क्षेत्रले पनि पर्यटनमा ठूलो लगानी गरिरहेको छ । अर्बौं लगानी भएका होटेलले पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ । हामी होटेल बनाउन पाँच अर्बसम्म खर्च गर्ने तर होटेलको प्रचार प्रसार गर्न पाँच लाख पनि खर्च गर्न डरायौँ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय मार्केटिङमा दिल खोलेर खर्च गर्नुपर्छ । त्यो क्याम्पेन नै चलाउन सक्नुपर्छ । 

सुझावित समाचार