सबाल्टर्न : मुक्ति चेतनाको भ्रम

आफूलाई मार्क्सवादका ऋणी भन्ने सबाल्टर्न पक्षधरले मार्क्सवादी इतिहास दृष्टि र लेखनलाई आभिजात्यीय भन्ने आरोप लगाउँछन्

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

आधुनिक इतिहासबोध र इतिहास लेखनमा तीनवटा आधारभूत दृष्टिकोण देखिन्छन् : राष्ट्रवादी, साम्राज्यवादी वा नवसाम्राज्यवादी र मार्क्सवादी । सामान्यतः कृषक प्रतिरोध र उत्पीडित जातिहरू (अप्रेस्ड नेसनालिटिज) को मुक्तिको प्रश्न पनि मार्क्सवादी दृष्टिकोणमै समेटिएको पाइन्छ । यी दुवै विषयमा (कृषक प्रतिरोध र उत्पीडित जातीय मुक्तिको प्रश्न) प्रति साम्राज्यवादी वा नव–साम्राज्यवादीहरू प्रायः मौन नै हुने गर्छन् र राष्ट्रवादीहरू कदाचित् केही बोले भने त्यो उनीहरूको आफ्नो राजनीतिक र आर्थिक सत्ता कायम राख्ने उद्देश्यबाट प्रेरित हुने गर्छ । 

तर, केही दशकदेखि इतिहासबोध र लेखनका क्षेत्रमा एउटा नयाँ समूह सक्रिय देखिन्छ, जसलाई चल्तीको भाषामा सबाल्टर्न (उपाश्रयवाद) भनिन्छ । नेपाली लेखनमा कतिपयले यसलाई ‘भुइँमान्छे’का रूपमा अनुवाद गरेको पनि पाइन्छ । इतिहासबोध र लेखनको यस दृष्टिकोणका पक्षधरले सुरुमा आफूलाई कृषक प्रतिरोधसम्म सीमित राखेका थिए । तर, पछि उनीहरूले यसमा उत्पीडित समुदाय (हाम्रो अर्थमा हिन्दू वर्णाश्रमभित्र जात संरचनामा तल्लो श्रेणीमा परेको, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यक समुदाय आदि) लाई समेटे । कालक्रममा यसमा नारी अस्मिताजस्ता मानवीय अस्तित्वको प्रश्न पनि थपिँदै गयो । क्रमशः तुलनात्मक रूपमा सबाल्टर्न पक्षधरहरूको एजेन्डाबाट क्रमशः कृषक प्रतिरोधको एजेन्डा हराउँदै गएको छ र उत्पीडित सांस्कृतिक समुदाय नै यसको मुख्य एजेन्डा बन्दै गएको छ ।

सबाल्टर्नको विशिष्टता के छ भने यसले आफूबाहेक इतिहासबोध र लेखनको सबै दृष्टिकोणहरूलाई अभिजात्यीय भनेर अस्वीकार गर्छ । यहाँसम्म कि उनीहरूलाई मुक्ति चेतनाबाट लेस गर्ने मार्क्सवादी दृष्टिकोणलाई पनि उनीहरूले अस्वीकार गर्छन् । उल्लेखनीय छ, उत्पीडित श्रमिक कृषकलाई त मार्क्सवादले सैद्धान्तिक रूपमै आफूमा संश्लिष्ट गरेको छ र उपनिवेशवादबाट जनताको मुक्तिका सन्दर्भमा जातीय उत्पीडनबाट मुक्तिका निम्ति वैचारिक कार्यनीति विकास गरेको छ । सबाल्टर्नका पक्षधरले सुरुमा आफूलाई मार्क्सवादको ऋणी भन्ने गर्र्थे ।

यद्यपि उनीहरूले माक्र्सवादी इतिहास दृष्टि र लेखनलाई अभिजात्यीय भन्न पनि छुटाउँदैनन् । बीसौँ शताब्दीको आठौँ दशकमा इतिहास लेखनमा संगठित वैचारिक प्रवृत्तिका रूपमा देखापरेको सबाल्टर्नको जन्मभूमि भारत मानिन्छ । यद्यपि यसको प्रेरक तत्वमा मार्क्सवादबाट विचलित कैयौँ विपरीत प्रवृत्ति पनि छन् । रणजित गुहा, पार्थ चटर्जीजस्ता पूर्वमाक्र्सवादीहरू यसका जन्मदाताका रूपमा चिनिन्छन् । यसपछि डेविड आर्नल्ड र गायत्री स्पिवाकजस्ता पश्चिमा विद्वान्हरू पनि यसमा थपिए ।

नेपाली राजनीतिमा सबाल्टर्नलगायत गैरजनवादी प्रवृत्तिहरूले उत्पीडित समुदायलाई राजनीतिक र सांस्कृतिक रूपमा भ्रमित बनाई जनताको साझा इतिहासलाई खण्डित गरिरहेका छन् र विघटित हुन लागेका पुरातन शक्तिलाई पुनः एकजुट हुने मौका दिइरहेका छन्
 

यसपछि यसको लामो शृंखला छ, जसमा गैरमाक्र्सवादी धाराका विद्वान्हरू बढी छन् । यहाँ उल्लेखनीय के छ भने जतिवेला भारतीय राजनीतिमा मार्क्सवादी वर्गसंघर्षको अवधारणाभन्दा भिन्न राममनोहर लोहिया, डा. भीमराव अम्बेडकर र जयप्रकाश नारायणजस्ता ‘डेमोक्य्राटिक सोसलिस्ट’हरूले समाजको आमूल परिवर्तनका निम्ति उत्पीडित वर्गको ठाउँमा वर्णलाई केन्द्रमा बसाले, त्यसै बखत रणजित गुहाहरूले सबाल्टर्नको सैद्धान्तिक लेख लेख्न सुरु गरेका थिए । इतिहास र इतिहासमा मुक्तिका निम्ति भएका प्रयत्न र संघर्षहरूको विशिष्ट सांस्कृतिकता प्रेरित वैचारिक समीक्षामा आधारित यी लेखमा परिलक्षित वैचारिक प्रवृत्तिको संश्लिष्ट संयोजनलाई सबाल्टर्न भन्न थालियो । 

सबाल्टर्नबारेका प्रारम्भिक लेखमा किसान र उत्पीडित समुदाय आधुनिक विश्वमा वर्ग होइन, समुदाय हुन् भन्ने माक्र्सवादी धारणाप्रति व्यापक सहमति देखिन्छ । विभेदीकृत र शोषित किसान, सांस्कृतिक समुदाय र लैंगिक समुदायभित्र पनि पुँजीवादी, निम्न पुँजीवादी, अर्ध–सर्वहारा र सर्वहारा वर्ग हुन्छन् तथा प्रवृत्तिगत रूपमा केही त अझै सामन्ती छन् भन्ने स्वीकार गरिएको थियो । तर, मुक्तिको प्रश्नमा युरोपियन र अमेरिकन पुँजीवादी रुढिवादी समाजशास्त्रीय परम्परामा विकसित र लोकप्रिय धारणाझैँ सबाल्टर्नवादीले पनि परम्परागत अभिजात्य वर्ग र जनसमुदायको विषयलाई एउटै डालोमा हेरे । परिणामतः उनीहरू समुदायमा विद्यमान वर्गस्थितिलाई उपेक्षा गर्न पुगे ।

यसैकारण उनीहरूको इतिहास दृष्टि एकांगी हुन पुग्यो, उत्पीडित समुदायको मुक्तिका निम्ति भएका सबै संघर्षमा आफूबाहेकका सबै प्रयत्न, इतिहास लेखन अभिजात्यीय लेखन मात्र लाग्न थाल्यो र उनीहरू आफ्ना समझदारीबाहेकका सबै इतिहासप्रति अविश्वास गर्न थाले ।

समयसँगै जानिँदो–नजानिँदो शैलीमा सबाल्टर्नको दृष्टिबोधले नेपाली समाजको विकासको इतिहास र राजनीतिमा पनि प्रभाव बनाउँदै गएको देखिन्छ । कृषक चेतना त अझै कमजोर छ, तर मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, नारी अस्मिताको चेतना आदि सांस्कृतिक, क्षेत्रीयतावादी तथा लैंगिक अधिकारसम्बन्धी आन्दोलनहरू र सांस्कृतिक अस्मितासम्बन्धी प्रतिरोधी चेतना गणतन्त्रपछि नेपाली समाज र राजनीतिमा विशिष्ट रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

तर, समाज, राजनीति, संस्कृति र इतिहासबारेको एकल दृष्टिकोणले गर्दा उत्पीडित समुदायका आन्दोलन एकल हुँदै गइरहेका छन् । क्रमशः नेपालीमा उत्पीडित समुदायका आन्दोलनमा मुक्तिचेतना, राज्यसत्तामा वास्तविक स्वामित्व र यसका निम्ति उत्पीडित वर्ग र समुदायको साझा संघर्षको अवधारणा ओझेलमा पर्दै गइरहेको छ ।

मधेस, आदिवासी जनजाति, मुस्लिम, महिला, धार्मिक समुदाय, दलित, अल्पसंख्यक आदि क्षेत्रीय, जातीय र सांस्कृतिक उत्पीडित समुदाय सबैको आ–आफ्नो एकल इतिहास, एकल नेतृत्व र विशिष्ट चेतना निर्मित छ, जसले उनीहरूलाई आफूबाहेक अरूप्रति अविश्वास गर्न सिकाउँछ ।

यसलाई भ्रमित चेतना नै भन्नुपर्छ कि प्रत्येक जातिको ‘आफ्नो’ भनिएको इतिहासमा अन्य समुदायका शत्रु र मित्र पात्र र समुदाय हुने गर्छन्, जो मुक्तिका निम्ति साझा संघर्षमा सामेल हुने गर्छन् । हरेक एकल सामुदायिक इतिहासभित्र अर्थराजनीतिक, सामाजिक र सांस्कृतिक वर्चस्वको लोभले आफ्नो समुदायको हितलाई धोका दिने र समुदायभन्दा पनि अर्थराजनीतिक वर्गीय सम्बन्धलाई प्राथमिकता दिने पात्र छन् । तैपनि जनसमुदायमा ‘आफ्नो’ सांस्कृतिक उत्तेजना बलियो हुँदै गइरहेको छ ।

जनसमुदायका यिनै साझा इतिहासप्रतिको अविश्वास तथा एकल धारणाका कारण साम्राज्यवादी र संकीर्ण राष्ट्रवादीहरूले जनताका पंक्तिमा गडबडी मच्चाइरहेका छन् र साझा प्रयत्नको परिणामबारे भ्रम सिर्जना गरिरहेका छन् । तपाईंले ध्यान दिनुभयो भने संसदीय राजनीतिमा क्षेत्रीयता र सांस्कृतिक एजेन्डामा विकसित मधेसकेन्द्रित दलहरू तथा जनजातीय शक्तिहरूले संसदीय कम्युनिस्ट पार्टीहरूसँग हात मिलाए पनि सैद्धान्तिक रूपमा मार्क्सवादी वर्गसंघर्षको सिद्धान्तलाई उनीहरू स्वीकार गर्दैनन् वा यस विषयमा मौन रहनु नै लाभदायक ठान्छन् ।

यसबाट के देखिन्छ भने सत्तामा स्वामित्व, साझा संघर्ष र शोषणबाट मुक्ति चेतनाबारे जनसमुदायमा विद्यमान भ्रमित उत्तेजना क्षेत्रीयतावादी र सांस्कृतिक राजनीतिक शक्तिका निम्ति संसद्मा पुग्ने बलियो माध्यम मात्र हो । यो प्रवृत्ति नेपालमा मात्रै होइन, एक किसिमले विश्व राजनीतिमै देखिन्छ । अझ दक्षिण एसियाको राजनीतिमा त बढी नै छ । 

धर्म, जाति, र सांस्कृतिक विशिष्टताका नाममा राजनीतिक पार्टीहरू दक्षिण एसियामा सबैभन्दा धेरै छन् । अब त यस चेतनाले लोकतान्त्रिक, समाजवादीजस्ता राजनीतिक प्रवृत्तिलाई किनारा लगाउँदै फासीवादी प्रवृत्तिलाई सत्ताशीर्षमा बसाल्दै छ । भारत, पाकिस्तान, श्रीलंका आदि दक्षिण एसियाका अधिकांश देशमा धार्मिक फासीवाद सत्ताशीर्षमा छ । नेपालमा पनि गणतन्त्रको १५ वर्षपछि राप्रपा, रास्वपा र जनमत पार्टीजस्ता दक्षिणपन्थी र फासीवादी प्रवृत्तिका राजनीतिक दलहरू फर्किरहे झैँ देखिन्छ । कम से कम यसपटक त उनीहरू संसदीय समीकरणमा निर्णायक देखिएकै छन् । 

उत्पीडित जातीय र क्षेत्रीय समुदायले आफ्नो भनेर विश्वास गरेको नेतृत्वको राजनीतिक धोकाका कारण गणतन्त्र र संघीयताबाट नाम मात्रकै भए पनि प्राप्त उपलब्धि गुम्ने खतरा पनि छ । यसैकारण जुन शासन संस्कृतिबाट उनीहरूले मुक्ति पाउने सम्भावना बनेको थियो, तिनै शक्ति पुनः हाबी हुँदै गइरहेका छन् । तैपनि उत्पीडित समुदायको पंक्तिमा साझा संघर्षभन्दा पनि एकल संघर्षमा बढी जोड छ । यस एकल दृष्टिकोणले विगतमा साझा भएर लड्दा अठार सय वर्ष पुरानो राजतन्त्रलाई विस्थापित गरेर अग्रगामी चरित्रको संघीय गणतन्त्र ल्याउन सफल भएको भर्खरैको ऐतिहासिक अनुभवसमेत विस्मृत पारिदिन लागेजस्तो छ । अर्कातर्फ संकीर्ण राष्ट्रवादी सांस्कृतिक तत्वहरू फेरि एकजुट हुँदै गइरहेका छन् । 

मिडियामा आएझैँ पृथ्वीनारायण शाहको नाममा एकता दिवसप्रति वर्तमान सरकार पनि सकारात्मक छ र कटौती गरिएको बिदा पुनः दिने तयारीमा रहेका खबरहरू सत्य हुन् भने यो गणतान्त्रिक संस्कृति अँगाल्नुपर्ने सत्ता पुनः पुरानै संकीर्ण राष्ट्रवादी संस्कृतिबाट प्रभावित हुँदै छ भन्ने मान्नुपर्ने हुन्छ । संकीर्ण राष्ट्रवादीहरू सशक्त हुँदै जानुको एउटै मात्र कारण हुन सक्छ, संघीय गणतन्त्रपछि उत्पीडित वर्ग र उत्पीडित जातिबीच वास्तविक अर्थमा एकताबद्ध हुन नसक्नु तथा सबै पुरातन चेतनाअनुरूप एकल इतिहास र चेतनाप्रति विश्वस्त हुनु । सुरुमा अग्रगामी देखिने सबाल्टर्न चेतना यस्तै दिशाभ्रम हो, तर यो क्रमशः बलवती हुँदै गइरहेको छ । 

माक्र्सवादको इतिहाससम्बन्धी दृष्टिकोणले इतिहासबोध सम्बन्धमा सबाल्टर्नभन्दा भिन्न दुइटा प्रवर्ग प्रयोग गर्छ । यी प्रवर्ग मूलतः वर्ग र वर्गसंघर्षका प्रवर्ग हुन् र उपनिवेशवाद विरोध तथा उत्पीडित जातीय समुदायको सन्दर्भमा राष्ट्र (जनताको साझा अर्थमा) र राष्ट्रिय मुक्ति संघर्षका रूपमा प्रयोग हुन्छन् । नेपाली समाजको सन्दर्भमा यी जनवर्गको साझा राज्य (नयाँ जनवादी राज्य) र सबै राष्ट्रियताको मुक्ति र सत्तामा समान साझेदारीको प्रवर्ग हो । निश्चय नै यस साझेदारीमा वर्गसम्बन्धले सूत्रको काम गर्नु माक्र्सवादी वैचारिकताका दृष्टिले स्वाभाविक हुन जान्छन् । 

तर, प्रवृत्तिगत रूपमा नेपाली राजनीतिमा पनि सबाल्टर्नलगायत गैरजनवादी प्रवृत्तिहरूले उत्पीडित समुदायलाई राजनीतिक र सांस्कृतिक रूपमा भ्रमित बनाई जनताको साझा इतिहासलाई खण्डित गरिहेका छन् र विघटित हुन लागेका पुरातन शक्तिलाई पुनः एकजुट हुने मौका दिइरहेका छन् । 
 

सुझावित समाचार