संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने सत्तासाझेदार दलहरूको निर्णय

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

 सत्तासाझेदार दलका शीर्ष नेताहरूको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले संयुक्त अपिलमार्फत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत माग्ने निर्णय गरेको हो ।

१० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । सरकारलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । यसबाहेक दुई स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् । 

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सत्तासाझेदार दलमध्ये एमालेका ७९, माओवादी ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । स्वतन्त्र सांसदहरू प्रभु साह र अमरेशकुमार सिंहको पनि सरकारलाई समर्थन छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे निर्णय लिएको छैन् । 

त्यसैबीच, प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि विश्वासको मत मागेका छन् । नेपालले विश्वासको मत दिनेबारे छलफलमै रहेको जवाफ दिएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने दिन बिहान सचिवालय बैठक बसेर विश्वासको मतबारे निर्णय लिने एकीकृत समाजवादीको तयारी छ । एकीकृत समाजवादीले समर्थन गरेको छैन । एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सदस्य छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने–नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतसम्बन्धी निर्णय लिने अधिकार दिएको हो । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । माओवादीले सोमबार संसदीय दलको बैठक बोलाएको सांसद माधव सापकोटाले बताए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, विभिन्न दलहरूसँग भएको संवाद, विश्वासको मतलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा ८९ सिटसहित पहिलो दल रहेको कांग्रेस विश्वासको मत दिने–नदिनेबारे अनिर्णीत छन् । कांग्रेसले यसबारे मंगलबार बिहान निर्णय लिने बताएको छ । 

सुझावित समाचार