बागमती प्रदेशको पहिलो कार्यकालको तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डे र उनका केही मन्त्रीहरूले जाँदाजाँदै आफू र आफूहरूले सम्हालेका मन्त्रालयले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले पौष २५ गते अपराह्न ४ बजे दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम दिन आज स्वयं मुख्यमन्त्री पाण्डे, स्वास्थ्यमन्त्री निमा लामा र संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन्।
४३८ दिन मुख्यमन्त्री बनेका पाण्डेका यस्ता छन् दाबी
गत २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्री सम्हालेका राजेन्द्र पाण्डेले २०७९ पौष २४ गतेसम्म १४ महिना अर्थात् ४३८ दिनको अवधिमा गरेका कामको उपलब्धि आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले सार्वजनिक प्रशासन एवं कर्मचारी व्यवस्थापन, नीति तथा योजना निर्माण, विपद् व्यवस्थापन, वन तथा वातावरण क्षेत्र, भूमि व्यवस्था तथा सहकारी क्षेत्र, श्रम, रोजगार, युवा तथा खेलकुद क्षेत्र, पर्यटन क्षेत्र, यातायात क्षेत्र, खानेपानी सिँचाइ तथा ऊर्जा क्षेत्र, पूर्वाधार विकास क्षेत्र, कृषि क्षेत्र, स्वास्थ्य र शिक्षा तथा सामाजिक क्षेत्रमा आफ्नो कार्यकालमा उपलब्धिपूर्ण काम गरेको दाबी गरेका छन्।
उनले यस अवधिमा विभिन्न विषयसँग सम्बन्धित ६ वटा ऐन, ९ वटा अध्यादेश, ३ वटा नियमावली, एउटा विनियमावली, २ वटा निर्देशिका, १९ वटा कार्यविधि, ५ वटा मापदण्ड तथा एउटा आदेश गरी कानुनी आधार तयार गरिएको दाबी गरेका छन्।
मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा सडक पूर्वाधारतर्फ १६० दशमलव १४ किलोमिटर कच्ची, २०० दशमलव ७७ किलोमिटर ग्राभेल, ११६ दशमलव ८६ किलोमिटर कालोपत्रे, ७३ दशमलव ९३ किलोमिटर ढलान सडक र १९ वटा पुल तथा झोलुंगे पुल-ट्रस ब्रिज ६ वटा निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको उल्लेख गरेका छन्।
यस्तै, प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषद्बाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको, शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ जारी गरिएको, प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको उनले उपलब्धि भनेका छन्।
मुख्यमन्त्री पाण्डेले प्रदेशभरिका १३ वटा अस्पतालहरूलाई स्तरोन्नति गरी विशेषज्ञ सेवासहित सञ्चालन, धादिङ अस्पताल, हेटौँडा अस्पताल, त्रिशूली अस्पताल, सिन्धुली अस्पताल र बकुलहर अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालबीच मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्न सम्झौता भएको विषयलाई उपलब्धि मानेका छन्।
यसैगरी, एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७८-७९ मा १५७ जना विद्यालयमा नर्सलाई नियुक्ति दिई सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको र चालू आर्थिक वर्षमा मा ६० जना विद्यालय नर्स नियुक्तिको प्रक्रियामा रहेको विषय उल्लेख गरेका छन्।
प्रदेश कृषि विकास अध्यादेश, २०७९ जारी गरी सोबमोजिम किसान परिचयपत्र वितरण कार्यविधि, २०७९ राजपत्रमा प्रकाशित गरिएको, कृषि औजार कारखाना स्थापना कार्य अगाडि बढाइएको, विदेशी लगानीकर्ता खोजी गरी संघीय सरकारसँगको समन्वयमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना स्थापना गर्न प्रक्रिया सुरु गरिएको विषयलाई पनि उनले उपलब्धिका रूपमा समेटेका छन्।
हेटौँडामा प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र तोकी सञ्चालनमा ल्याइएको, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण कार्य सुरु गरिएको, हेटौँडामा स्थापना भएको दुग्ध पाउडर प्लान्ट निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको बताएका छन्।
सवारीचालक अनुमतिपत्रको लागि साबिकमा यातायात व्यवस्था विभागबाट मापदण्ड निर्धारण हुँदै आएकोमा आवश्यक मापदण्ड निर्धारण प्रदेश मन्त्रालयबाटै सुरु गरिएको, विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणालीमा सुधार गरी साबिकमा रहेको करिब १३ लाख ५० हजार प्रतीक्षा सूचीमा रहेका आवेदकहरूले तत्काल सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था गरिएको, आवेदन गरेको १५ दिनभित्रै सवारीचालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने सुविधा सुनिश्चित गरिएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन्।
दोस्रो प्रदेश खेलकुद सञ्चालनका लागि २०७९ को चैतमा आयोजना गर्ने गरी तयारी गरिएको प्रदेश युवा नीति, २०७९ जारी गरिएको, प्रदेश खेलकुद नीति, २०७९ को तर्जुमा गर्न कार्यदल गठन गरिएको, गौरीटार रंगशालाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको, सहकारी अनुगमनसम्बन्धी नयाँ मापदण्ड जारी गरी सूचक निर्धारणसहित अनुगमन तथा नियमन कार्य सुरु गरिएको, सामाजिक सुरक्षाका लागि दाउरा आपूर्ति कार्यविधि, २०७९ स्वीकृति गरी गरिब तथा असहाय परिवारलाई निःशुल्क दाउरा उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको कुरालाई मुख्यमन्त्री पाण्डेले उपलब्धिका रूपमा लिएको उल्लेख गरेका छन्।
स्वास्थ्यमन्त्री निमा लामाका उपलब्धिहरू
गत २०७८ साल कात्तिक २५ गते स्वास्थ्यमन्त्रीका रूपमा नियुक्त भएका निमा लामाले आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धिहरूलाई पत्रकारमार्फत सार्वजनिक गरेका छन्।
उनले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा कोरोनाको समयमा ७ वटा प्रदेशमध्ये बागमती प्रदेश शतप्रतिशत कोरोनाविरुद्धको खोप लगाउन सफल भएको र एक विद्यालय एक नर्स कार्यक्रमलाई लिएका छन्।
उनले आफ्नो कार्यकालमा ५ सय १९ जना विद्यालय नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको दाबी गरेका छन् प्रदेशभरिका १३ वटा अस्पतालहरूलाई स्तरोन्नति गरी विशेषज्ञ सेवासहित सञ्चालन गरिएको, धादिङ, हेटौँडा, त्रिशूली, सिन्धुली र बकुलहर अस्पतालमा मिर्गौला रोगीहरूका लागि डायलाइसिस सेवा विस्तार उल्लेख गरेका छन्।
यसैगरी, मन्त्री निमा लामाले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न भएको सम्झौतालाई पनि उपलब्धिका रूपमा रहेको बताएका छन्।
उनले विपन्न नागरिकहरूका लागि निःशुल्क रक्त सञ्चार सेवा प्रदानसम्बन्धी कार्यविधि निर्माण गरी रगत र रक्ततत्वमा प्रयोग हुने ब्लडब्याग र रक्त परीक्षण निःशुल्क रूपमा उपलब्ध गराइएको, उपत्यकाबाहिर आयुर्वेद औषधि उत्पादनका लागि बागमती प्रदेशको पहिलो आयुर्वेद औषधि उत्पादन केन्द्र, रत्ननगरमा स्थापना गरिएको र प्रादेशिक अस्पतालहरूमा विपन्न नागरिक आकस्मिक कोषको स्थापना गर्नुका साथै जनआन्दोलनका घाइतेको निःशुल्क उपचार कार्यक्रम सञ्चालनमा ल्याइएको विषयलाई उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
यस्तै, बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौंँडा अस्पतालमा गर्भवती महिलाको लागि ७३ वटा पोर्टेबल अल्ट्रा मेसिन र एमआरआई मेसिन खरिद गरी स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरेको आफ्नो उपलब्धिमा उल्लेख गरेका छन्।
संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ
संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पनि आइतबार बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्नो कार्यकालमा सम्पादन गरेका काम र आगामी कार्यदिशा सार्वजनिक गरेका छन्।
गत २०७८ मंसिर १५ गतेदेखि जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा मकवानपुरको इन्द्रसरोबरलाई केन्द्र मानेर पालुङ, चित्लाङ, दामन र दोलखाको भीमेश्वर नगरपालिकालाई फिल्म सिटीको रूपमा विकास गर्न सम्भाव्यता तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको कार्यलाई उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
मन्त्री श्रेष्ठले प्रदेश पर्यटन ऐन, २०७८ जारी, प्रदेश पर्यटन ऐन, २०७८ मा पर्यटन व्यवसायी एवं सरोकारवालाको मागसमेतलाई ध्यानमा राखेर हेरफेर, प्रदेश पर्यटन नीति, २०७८ को मस्यौदा तयार र छलफल, प्रदेश पर्यटन नियमावली २०७९ मस्यौदा तयारी कार्य प्रारम्भ गरेको जानकारी गराएका छन्।
उनले पर्यटकीय गन्तव्य विकास र थप आकर्षक बनाउनका लागि प्रदेश गौरवको योजनाको रूपमा दोलखा जिल्लाको जिरीमा ताल निर्माण गर्न समावेश गरी यसै वर्षदेखि निर्माण कार्य अगाडि बढाउने प्रक्रिया सुरु गरेको बताएका छन् भने विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेको बाघमारा सामुदायिक वन सौराहामा नयाँ पर्यटकीय ब्रान्ड क्यानोपी वाकको सम्भाव्यता तथा विस्तृत अध्ययन कार्य सुरु गरी निर्माण कार्य अगाडि बढाइएको उल्लेख गर्दै नयाँ पर्यटकीय ब्रान्ड राइनो चिल्ड्रेन पार्क भरतपुर, चितवनमा निर्माणाधीन रहेको जानकारी दिएका छन्।
यस्तै, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न २०७९ लाई घुमफिर वर्षको रूपमा घोषणा गरी कार्यान्वयनमा ल्याइएको काठमाडौं उपत्यका पर्यटन कार्यालय, हात्तीवन, ललितपुरबाट प्रदान गरिने सेवा अनलाइन माध्यमबाट प्रवाह गर्ने व्यवस्था गरिएको, बागमती प्रदेशका पर्यटकीय स्थलको प्रचारप्रसारको लागि यस प्रदेशमा निर्माण तथा छायांकन गर्ने चलचित्रलाई अनुदान दिने सूचक र मापदण्ड तयार गरिएको विषयलाई मन्त्री श्रेष्ठले उपलब्धि भएको बताएका छन्।