चर्को ब्याज लिएर बैंकले अत्यधिक नाफा कमाए भन्नु भ्रम हो : पवन गोल्यान

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्यधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन्।

आइतबार परिसंघको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाले समाजको उन्नति र देशको आर्थिक विकासमा योगदान गर्दै आएको उल्लेख गरे। बैंकहरूले देशको विकास र समृद्धिका लागि गरेको ठूलो योगदानलाई भुलेर छरिएको भ्रममा ऋणी र सर्वसाधारण परेको उनको भनाइ छ।

‘ऋणीलाई चर्को ब्याजदर लगाएर अत्यधिक कमाएका छन् भन्ने भ्रम ऋणी र सर्वसाधारणलाई परेको छ। तर, वास्तविकता त्यस्तो छैन। अधिकांश सेवा तथा सुविधालाई निःशुल्क प्रदान गर्ने नियमनकारी निकायको निर्देशन विद्यमान रहेको छ। कर्जा र ब्याजबीच अन्तर पनि घटाउँदै ४ प्रतिशतसम्ममा झार्ने निर्देशन जारी भइसकेको छ। जसले गर्दा बैंक तथा वित्तीय संस्थाको प्रतिफल दर घट्दै गइरहेको छ। अहिले मुद्दती निक्षेपमा रकम राख्दा पनि १२/१३ प्रतिशत वार्षिक ब्याजदर आउँछ र गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको प्रतिफल दर त्यसैको हाराहारीमा थियो,’ उनले भने।

अध्यक्ष गोल्यानले बैंकहरू पारदर्शी भएर त्रैमासिक रूपमा वित्तीय विवरण प्रकाशित गर्ने भएकाले बैंकहरूलाई पुरस्कृत गरिनुपर्ने बताए। चुरोट, मदिरा व्यवसाय गर्ने फर्म, कम्पनीकै समूहमा राखेर अन्य फर्म कम्पनीलाई भन्दा ५ प्रतिशत बढी आयकर लिइने गरेको उनको गुनासो छ।

सुझावित समाचार