जुम्लामा बिक्री भएन बन्दाकाउली

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

चन्दननाथ नगरपालिका–७, महत गाउँकी कृषक जयसरा महतले तीन रोपनी जमिनमा बन्दाकाउली खेती गरेकी छिन् । उनले उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्या भएको छ । बजारीकरणको राम्रो व्यवस्था नहुँदा आफूले यस्तो समस्या भोग्नुपरेको उनले गुनासो गरिन् । बेमौसममा पनि प्रतिकिलो ३५ रुपैयाँमा बन्दाकाउली बिक्री नहुने गरेको उनले बताइन् । 

कतिपय व्यवसायीले अत्यन्तै कम मूल्यमा मात्र    खरिद गर्न तयार हुने उनी बताउँछिन् । बिहीबार मात्रै उनले जुम्ला बजारमा १५ किलो बिक्री गरिन् । एक हप्ताभित्र बन्दा बिक्री नगरे बारीमै खेर जाने उनको भनाइ छ । तरकारी बेचेरै उनले घरखर्च चलाउँछिन् ।   

गत वर्ष ५० हजार रुपैयाँ आम्दानी भएकोमा यो वर्ष १० देखि १५ हजार रुपैयाँ मात्रै हात लागेको उनी बताउँछिन् । धेरै खेतमा कुहिएको र बाँकी गाईगोरुलाई काटेर खुवाउने गरेको उनको भनाइ छ । बन्दाको बिउ उमार्नदेखि उत्पादन लिने वेलासम्ममा धेरै लगानी भएकाले कम मूल्यमा बेच्दा लगानी नै नउठ्ने उनी बताउँछिन् । गत वर्ष यो सिजनमा राम्रो मूल्यमा बन्दा बिक्री गर्ने गरे पनि यो वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दा आउँदा बिक्री गर्न धौ–धौ भएको उनको भनाइ छ ।   

अर्की किसान राजकौरा महतको पीडा पनि उस्तै छ । उनको दुई रोपनी खेतमा उत्पादन गरेको बन्दा आफन्तलाई दिनुपरेको छ । उचित मूल्य नपाइने भएपछि बन्दा खेतमै कुहिएको बताइन् । ‘अघिल्लो वर्ष २० हजार कमाएकी थिएँ,’ उनले भनिन्, ‘अहिले पाँच हजार पनि भएन ।’ उत्पादनमा गुणस्तरीयता भए पनि बन्दालाई बजारको समस्या छ । समय–समयमा बन्दामा लाग्ने रोग–किराको प्रकोपले किसानलाई सताउने गरेको छ । बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन् ।

सुझावित समाचार