दाजु विलियमले भौतिक आक्रमण गरेको बेलायती पूर्वराजकुमार ह्यारीको खुलासा

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारीले उनको आगामी पुस्तकमा दाइ विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । केही वर्षअघि राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका ह्यारीको चाँडै बजारमा आउन लागेको संस्मरणात्मक पुस्तकमा उक्त खुलासा गरिएको छ । यससम्बन्धी समाचार प्रकाशनअघि पुस्तक हात पारेको चर्चित बेलायती मिडिया गार्जियनले पहिलोपटक लेखेको थियो । 

मेघन मार्केलसँगको विवाहबारे कुराकानी हुने क्रममा दाइ विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा उल्लेख गरेका छन् । बेलायतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीबारे आइरहेका अनर्गल समाचारबारे दाजुभाइबीच बहसको विषय बनेको ह्यारीले पुस्तकमा लेखेको गार्जियनले आफ्नो समाचारमा उल्लेख गरेको छ । ‘स्पेयर’ नामको पुस्तकमा ह्यारीले उनका विगतका धेरै लुकेका पाटा खुलाएको दाबी छ । पुस्तकमा ह्यारीको लागुपदार्थ सेवन, यौन अनुभव, अफगानिस्तानमा सैन्य सेवा र त्यस क्रममा दर्जनौँको हत्या गरेकोजस्ता कुरा समेटिएको चर्चा छ । 

भावी राजा हुने लाइनमा रहेका विलियमले २०१९ मा केन्सिङटन राजप्रासादको मैदानस्थित नटिंघम निवासमा आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेको र विवाद बढ्दै गएपछि आफ्नो ‘कलर’ समातेर भुइँमा लडाएको ह्यारीले पुस्तकमा लेखेको गार्जियनले उजागर गरेको छ । भुइँमा लड्दा आफू कुकुरलाई खाना खुवाउने भाँडोमा गाडिएको, त्यस क्रममा आफूलाई चोट लागेको पनि ह्यारीले संस्मरणमा लेखेका छन् ।

आफू घाइते भएपछि भने विलियमले माफी मागेको पनि पुस्तकमा उल्लेख छ । विश्वका १६ भाषामा प्रकाशन हुनुअघि पुस्तकको स्पेनी भाषाको प्रतिलिपि हात पारेको बताउँदै एसोसिएटेड प्रेस(एपी)ले पनि पुस्तकमा ह्यारीले आफू र शाही परिवारका अन्य सदस्यका जीवनका नखुलेका विवरण उजागर गरेको लेखेको छ । एपीका अनुसार पुस्तकमा उजागर भएका तथ्यले राजपरिवारका विभिन्न सदस्यलाई असर गर्न सक्ने जनाएको छ । ह्यारी सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा सरिक भएका थिए ।

त्यसवेला आफूले अपाचे हेलिकोप्टरको सहचालकका साथै एक फौजीका रूपमा २५ जना मारेको प्रसंग पनि संस्मरणमा समावेश छ । उक्त हत्याप्रति आफूलाई न गर्वको न पछुतोकै भावना रहेको ह्यारीले लेखेको मिडियाले दाबी गरेका छन् । 

सुझावित समाचार