राष्ट्रपति भण्डारीले गरिन् साझाको विद्युतीय बस उद्घाटन

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण
राष्ट्रपति भण्डारीले गरिन् साझाको विद्युतीय बस उद्घाटन

साझा यातायातले भित्र्याएको विद्युतीय बस उद्घाटन गर्ने क्रममा शीतलनिवासबाट ललितपुरको पाटनढोकामा ओर्लिँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातले हालै नेपाल भित्र्याएको विद्युतीय बसको उद्घाटन गरेकी छिन् । राष्ट्रपतिनिवास शीतलनिवासबाट विद्युतीय बसमा चढी पाटनढोका आएर उनले बसको उद्घाटन गरेकी हुन् । 

हाकुपटासीमा सजिएर पाटन आएकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको अवलोकनसमेत गरेकी थिइन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरिन् ।

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाःमा उनले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासबारे जानकारी लिएकी थिइन् । काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतलनिवास फर्किएकी थिइन् । 

सुझावित समाचार