चितवनका मगर समुदायले कौराहा (कानराहा) संरक्षणका लागि ‘प्रथम मौलिक कौराहा प्रतियोगिता’ गर्ने भएकाे छ। भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा नेपाल मगर सांस्कृतिक संघ चितवनले भोलि शनिबार प्रतियोगिता गर्न लागेको हो।
चितवनसहित तनहुँ र नवलपरासीका १० टिमले प्रतियोगितामा सहभागिता जनाउने संघकी चितवन अध्यक्ष प्रेमकुमारी आलेमगरले पत्रकार सम्मेलनमा जानकारी दिइन्। भाषा, कला र वेशभूषा संरक्षण नभएसम्म जातीयताको अस्तित्व नरहने हुँदा त्यसको संरक्षणका लागि कार्यक्रम गरिएको उनले बताइन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट टिमले चितवन महोत्सवमा आफ्नो प्रस्तुति राख्न पाउने आयोजकले जनाएको छ। कौराहा मगर समुदायको सामूहिक नृत्य र गायन हो।