एबिसी भेट्रान्स पोखरा, एमएमसी काठमाडौं र सिमरा भेट्रान्स बारा हेटौँडाको पिप्ले–क्याम्पा रंगशालामा जारी आठौँ संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार भएका खेलहरूमा जित निकाल्दै एबिसी, एमएमसी र सिमरा सेमिफाइनल प्रवेश गरेका हुन्। बिहीबार भएको खेलमा हेटौँडा भेट्रान्स ‘ए’लाई हराउँदै एबिसी पोखरा सेमिफाइनल प्रवेश गरेको छ। एबिसी पोखराले हेटौँडालाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
पोखराको जितको लागि विजय गुरुङले ह्याट्रिक गरे भने हरिबहादुर खड्काले थप २ गोल गरे। हेटौँडाका तर्फबाट प्रशान्त पाख्रिनले सान्त्वना एक गोल फर्काए।
यस्तै, एमएमसी काठमाडौं एक्स भेट्रान्स पोखरालाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ। उसको जितका लागि शिशिरबहादुर हमालले गरेको एक मात्र गोल पर्याप्त बन्यो। यसैगरी, बिहीबारकै खेलबाट सिमरा भेट्रान्स बारा पनि सेमिफाइनलमा प्रवेश गरेको छ।
सिमराले सेमिफाइनल पुग्ने क्रममा आयोजक हेटौँडा भेट्रान्स ‘बी’ १–० गोल अन्तरले हराएको हो। सिमराको जितका लागि बिनो परियारले एक गोल गरे।
प्रतियोगिताको अन्तिम सेमिफाइनल पुग्ने टोलीको टुंगो भने लाग्न बाँकी छ। सेमिफाइनल प्रवेशका लागि शुक्रबार बिहान जोरपाटी भेट्रान्स काठमाडौं र बानेश्वर भेट्रान्स काठमाडौंबीच खेल हुने आयोजक हेटौँडा भेट्रान्सका कविन सांगामीले जानकारी दिए। सोमिफाइनलका खेलहरू पनि भोलि हुँदै छ।
२३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको विभिन्न स्थानका १७ वटा टिमको सहभागिता छ। प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।