संकटको घडीमा आशा र निराशाबीच सन्तुलन

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

इतिहासले धेरै पाठ पस्किन्छ, तर समग्र तस्बिर सधैँ नै बहुरंगी धागाको जेलिएको गुच्छाजस्तै हुन्छ । समग्र तस्बिरले लिने दिशाले हामीले छनोट गरेको खास धागोबारे थुप्रै कुरा बताउँछ । आशावादीसँग सधैँ आशाको एउटा त्यान्द्रो हुन्छ भने निराशावादीले जानाजानै निराश हुने बहाना भेट्टाउँछन् ।

आशावादी २५ वर्षअघिको तुलनामा चिजहरू अहिले कति धेरै राम्रो भएका छन् भनेर सोच्छन् । गरिबी घटेको छ, विद्यालय जानेको संख्या र साक्षरता निरन्तर बढेको छ । प्रसूतिका कारण मृत्यु हुने आमाको संख्या अब निकै कम छ । औसत आयु बढेको छ, अनि विश्वव्यापी बाल मृत्युदर पनि घटेको छ ।

निःसन्देह, आशावादीलाई आजको दिनका चिन्ता पनि जानकारीमा छन् । युक्रेन युद्ध एउटा अथाह पीडा भएको छ । कोभिड– १९ महामारीले स्थायी विपत्तिको रूप लिइरहेको देखिँदै छ । उच्च मुद्रास्फीति र यसको सामना गर्न अपनाइएका वनजंगलमा लागेको डढेलो रोक्न बाढी ल्याएजस्तो अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भका मन्दीकारीलगायत उपाय । 
राजनीतिमा संयुक्त राज्य अमेरिका र विश्वभर नै उदाउँदो दक्षिणपन्थ, र अन्तमा, जलवायु परिवर्तन । आशावादी यी समस्या इन्कार गर्दैनन् । एसिया, युरोप र उत्तरी अमेरिकाका धेरै भाग नरकपूर्ण बनेको गत ग्रीष्ममा तापक्रम १०४ डिग्री फरनेहाइट (भारतका केही भागमा १२२ डिग्री फरेनहाइट)भन्दा माथि पुगेको उनीहरूलाई थाहा छ । केही हप्ता त्यहाँ बस्दा, जलवायु संकटलाई अब बेवास्ता गर्न असम्भव रहेको आभास मिलेको थियो ।

साथै, आशावादीहरूलाई हामीले संकट पहिले पनि भोगेका थियौँ भन्ने पनि थाहा छ । अहिले हामी सन् १९६० को सुरुवाती दशकलाई जोन अफ केनेडीको मुस्कान र ज्याकी ओको समयका रूपमा सम्झन्छौँ, तर त्यो समय पनि धेरै खतरापूर्ण थियो । क्युबा मिसाइल संकटले हामीलाई आणविक युद्धको सँघारमा पु¥याएको थियो । ‘डोमिनो सिद्धान्त’ले विश्वभर साम्यवादको संक्रामक प्रसार हुने भविष्यवाणी गरेको थियो । भियतनाम युद्धको तरखर, विश्वको बढ्दो जनसंख्या, कमजोर खाद्य आपूर्ति र अनिकालहरू । यी समग्र चुनौतीले भयानक चिनियाँ अनिकालजस्ता संकट निम्त्याएका थिए । चिनियाँ अनिकालमा झन्डै तीन करोड मानिस भोकभोकै मरेका थिए । सन् १९७० को दशक पनि खासै राम्रो थिएन । ती नापाल्म (एक प्रकारको विषाक्तता) एवं वाटरगेट, पोल्पोट र बोकासाका वर्ष थिए । अ–औपनिवेशीकरणपछिको उत्साह सेलाउँदै गएको समय थियो त्यो ।

आशावादीहरूलाई हामी ती संकटबाट बाहिर आयौँ भन्ने पनि थाहा छ । त्यसैले उनी आज पनि प्रगति देख्छिन् । अन्ततः अमेरिकी कंग्रेसले जलवायु परिवर्तनसँग जुझ्न एउटा महŒवपूर्ण कानुन पास गरेको छ । कोभिड– १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । र, अहिले हामीसँग पछिल्लो भेरियन्टसँग समेत जुध्ने खोप छ । युक्रेनमा रुसले सामना गरिरहेको कडा प्रतिकार सम्भावित आक्रमणकारी शक्तिका निम्ति चेतावनी हो । आशावादी सकारात्मक मोडमा आशाको किरण देख्छन् ।

निराशावादी पनि मानवताका थुप्रै उपलब्धिलाई स्विकार्छ । तर, हामीलाई लालच तथा उपभोक्तावाद, निर्मम महŒवाकांक्षा र दयाहीन शोषणले डो¥याइरहेको छ भन्ने डर उसलाई छ । ऊ यी कुरा हामी सबैका निम्ति घातक भए पनि आफ्नो व्यवहार परिवर्तन गर्न असमर्थ हुने गरी हामी यसमै अभ्यस्त भएको देख्छ । उसका अनुसार समुद्री सतह बढ्नेछ र विस्थापितले आफ्नो थातथलो अन्यन्त्र बसाउन खोज्दा युद्धहरू भड्किनेछन् । हामीमध्ये बस्न आफ्नै घर हुने भाग्यमानीचाहिँ चमत्कारको पर्खाइमा हुनेछौँ । किनकि हामी आफूले बाँचेको तौतरिका परिवर्तन गर्न अनिच्छुक र असमर्थ छौँ ।

निराशावादीलाई संयुक्त राज्य अमेरिका र सोभियत संघ कुनै न कुनै तरिकाले तेस्रो विश्वयुद्धबाट बच्न सफल रहे भन्ने पनि थाहा छ । अनि अहिले चीनले ताइवानबारे जति उत्तेजना महसुस गर्छ, क्युवा वा भियतनामबारे अमेरिका र सोभियत रुसमध्ये कुनै पनि पक्ष यस्तो घनिष्टता महसुस गर्दैनथे भन्ने पनि थाहा छ । तर, अमेरिका र चीन दुवै महाशक्ति हुन कटिबद्ध रहेको र चीनको लामो स्मृतिमा पश्चिमा साम्राज्यवाद अझै चह¥याइरहेकाले निराशावादीले चिन्ता गर्ने तेस्रो विश्वयुद्ध यसपटक भने अपरिहार्य हुन सक्छ । ऊ हामीले पहिले नै यो दिशातर्फ मोडिइसकेको ठान्छ । हामी अब जहाँ जाँदै छौँ, त्यो उसलाई मन पर्दैन ।

आशावादी र निराशावादीबीचको बहसले कुनै समाधान दिन सक्दैन भन्ने हाम्रो पेसागत अडान रहँदै आएको छ । बहसका निम्ति संसार निकै अभ्यस्त छ । यद्यपि, हामी जवाफ थाहा नपाई नै पर्याप्त काम गर्न सक्छौँ (सक्नु पनि पर्छ) । यसबीच, भोल्तेयरको ‘क्यानडिड’ले भनेझैँ हामीले आफ्नो बगैँचा लगाउनुपर्छ । हामीले सकेको राम्रो गर्ने, समाधान गर्न सकिने समस्या समाधान गर्ने अनि आँखा खुला राखेर प्रमाणमा केन्द्रित रहने हो । यही मान्यताले हामीलाई आनन्दित र परिपूर्ण जीवन बिताउन सहयोग गरेको छ । हामीले विश्वव्यापी कल्याणमा लेस मात्रै भए पनि योगदान दिनेछौँ भनेर आफूलाई विश्वस्त तुल्याउन पनि सफल भएका छौँ ।

यो महामारीले यो मान्यतालाई परिवर्तन गरेको छ । किनभने महामारीमा यस्ता कुराबारे सोच्न हामीसँग खाली समय धेरै भयो । अब हामीलाई केही समय यो चुनौतीपूर्ण बृहत्तर तस्बिरबाहेक अन्य कुरा सोच्न गाह्रो छ । कहिले हामीमध्ये एकले आशावादी महसुस गर्छाैँ, कहिलेकाहीँ दुवैले । सबैभन्दा खराब त तब हुन्छ, जब हामी दुवै निराशावादी हुन्छौँ । त्यसवेला उदासीले हामीलाई यसरी खान्छ कि हामीमध्ये कोही पनि आशावादी मुद्दामा बहसै गर्न सक्दैनौँ ।

यस्तोमा कामले हामीलाई उद्धार गर्छ । हामीले सामना गरिरहेको टाउको दुखाउने, तर व्यवस्थापन गर्न सकिने चुनौतीको सामनाले यो विश्वलाई पुनः सही दृष्टिकोणमा फर्काउन सक्छ । तर, यसरी प्राप्त शान्ति एकदमै नाजुक हुन्छ । भोजनको समयको कुनै मजाक, सस्तो मजाक, घुमफिर योजनाका कुराकानी कुनै पनि कुराले हामीलाई पुनः भुमरीमा हुत्याउन सक्छ ।

हामी फरक तरिकाले प्रतिक्रिया दिन्छौँ । हामीमध्ये एकजनाले ठूलो स्वरमा विपत्तिको उच्चारण गर्छाैँ, ठूलो स्वरले यो अभिशाप तोड्ला कि भन्ने आशामा । अर्काेचाहिँ शान्त भएर धुने लुगाफाटा छान्न थाल्छ ।

बालबालिकाले हामीलाई बचाउनेछन् भन्नु एउटा उदास कथन हो । दुःखको कुरा, यो सत्य होइन । बालबालिका पनि चिन्तित छन् । अनि आउने वर्षहरू हाम्रोभन्दा पनि उनीहरूको भविष्य हो भन्ने होसले हामी उनीहरूसँगै चिन्तित हुन्छौँ । यद्यपि, उनीहरू एउटा कुराको उपयुक्त रूपक हुन सक्छन्, जीवनको पूर्णता । जीवनको पूर्णताको भावनाले हामीलाई जोगाउन सक्छ । कहिल्यै देखा नपरेको त्यो प्लम्बरको पर्खाइमा रहँदा तपाईं झन्डै भुलिसकेको मित्रसँग पुनः जोडिनुहुनेछ । एउटा बच्चाको रुवाइ आइसक्रिम दिन्छु नभन्दासम्म फुल्याउनै नसकिने हुन्छ । २० जनाका लागि साँझको खाना पकाउने कामको भद्रगोलपनपश्चात् नै आधा मात र पूर्ण मुग्ध हाँसोसहित सबै कुरा बिर्सिएर बिरयानीको अन्तिम गाँस टिप्दाको सुखद क्षण आउँछ । चिजहरू धुमिल हुन्छन् र इतिहास पूरै किरिङमिरिङ धर्सायुक्त बच्चाको केरमेटमा विघटित हुन्छ ।

(इस्थर डुफ्लो र अभिजित बनर्जी नोबेल पुरस्कार विजेता अर्थशास्त्री हुन्)

सुझावित समाचार