जहाँ मान्छे र पशुको एकै ठाउँमा उपचार गरिन्छ

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

जिल्लाको एक नगरपालिकामा पशु र मान्छेको एकै ठाउँमा उपचार हुने गरेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– १० मा रहेको स्वास्थ्य चौकीको भवनमा पशुको समेत उपचार हुने गरेको छ। एउटै भवनको बाहिर गेटमा लेखिएको छ स्वास्थ्य चौकी चन्द्रपुर १० हर्दिया, अनि भित्र अर्को बोर्ड राखिएको छ पशुसेवा केन्द्र हरैयाको कार्यालय ।

एउटै भवनको एक साइडमा मान्छेको उपचार हुन्छ भने अर्को साइडमा पशुको उपचार हुने गरेको छ । सानो एउटै भवनमा मान्छे र पशुको उपचार हुने गरेकाले समस्या भएको स्थानीयको भनाइ रहेको छ । भवनको गेटमा स्वास्थ्य चौकी लेखिएको भए पनि भवनभित्र पशुसमेत बाँधेर राखिएको देख्न सकिन्छ । एउटै भवनबाट मान्छे र पशुलाई स्वास्थ्य सेवा दिनु परेको कर्मचारीहरू बताउँछन् । मान्छे र पशुको सेवा एकै ठाउँबाट दिँदा आफूलाई असहज भएको स्वास्थ्य चौकीका प्रमुख अहेव नवीन चौधरीले बताए ।

नायव पशुसेवा प्रविधिक पिंकी चौधरीले भने एकै ठाउँबाट पशु र मान्छेको उपचार सेवा दिइरहेको र त्यसले कसैलाई कुनै फरक नपर्ने बताइन् । चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखा प्रमुख दुर्गाप्रसाद चिमोरियाले पशु र मान्छेको उपचार सेवा एकै ठाउँबाट दिन नमिल्ने बताउँदै अब चाँडै पशु उपचार केन्द्र अन्यत्र सार्नका लागि आफूले पहल गरेको बताए ।

तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीले उद्घाटन गरेको सो भवन उद्घाटन भएदेखि नै पशु र मान्छेको एकै ठाउँबाट उपचार सेवा हुँदै आएको छ । सो भवनको ०७८ साल चैतमा उद्घाटन भएको थियो । तत्कालीन जनप्रतिनिधिले ठाउँको अभाव भएको भन्दै मान्छे र पशुको उपचार सेवा एकै ठाउँबाट सञ्चालन गर्ने निर्णय गरेका थिए । स्थानीयले समेत स्वास्थ्य चौकीको भवनमा पशु उपचार केन्द्र सञ्चालन नगर्नका लागि सम्बन्धित निकायसँग आग्रह गरेका थिए ।

See More On

सुझावित समाचार