बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबारबाट सुरु भएको आठौँ संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा एकैदिन चार खेल सम्पन्न भएका छन् ।
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा सिमरा, जोरपाटी, हेटौँडा ‘ए’ र एबिसी भेट्रान्स पोखराले विजयी सुरुवात गरेका छन् ।
मंगलबार भएको पहिलो खेलमा हेटौँडाको पशुपति भेट्रान्सलाई २–१ ले हराउँदै सिमराले विजय सुरुवात गरेको हो । पशुपतिको तर्फबाट मदन श्रेष्ठले सुरुवाती गोल गरे पनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्नुपरेको हो । सिमराको जितमा पूर्ण लामा र सोनुकुमार खत्रीले गोल गरे ।
दोस्रो खेलमा पूर्वी चितवन भेट्रान्सलाई ५–० गोल अन्तरले हराउँदै जोरपाटी भेट्रान्सले विजयी सुरुवात गरेको छ । जोरपाटीको जितको लागि रमेश गुरुङले ह्याट्रिक गर्दा भेषराज लिम्बू र सागर थापाले थप एक-एक गोल गरे ।
यस्तै, मंगलबार नै भएको तेस्रो खेलमा गोर्खा भेट्रान्स सर्लाहीलाई १–० गोलले हराउँदै आयोजक हेटौँडा भेट्रान्सको ‘ए’ टिम विजयी भएको छ । हेटौँडाका गजेन्द्र लामाले गरेको गोल नै निर्णायक बन्यो ।
यसैगरी, मंगलबारको अन्तिम खेलमा चितवन भेट्रान्सलाई टाइब्रेकरमा हराउँदै एबिसी भेट्रान्स पोखरा विजयी भएको छ । निर्धारित समय एक-एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
निर्धारित खेलमा चितवनका सुरेन्द्र चौधरी र एबिसीका राजकुमार घिसिङले गोल गरेका थिए । टाइब्रेकरमा एबिसीका गोलरक्षक खेमबहादुर गुरुङले चितवनको एक प्रहार बचाउ गरेपछि जित सम्भव भएको थियो ।
२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।