हुलाकबाट गाँजा तस्करी

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

सेवाग्राहीको प्राथमिकतामा पर्न छाडेपछि अस्तित्वको संकटबाट गुज्रिरहेको गोश्वारा हुलाक अमेरिकी गाँजा तस्करीको ‘प्लाटफर्म’

समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिकतामा पर्दैन । करिब–करिब अस्तित्वको संकटबाट गुज्रिरहेको हुलाक सेवालाई लागुऔषध तस्करले भने ‘गुड बुक’मा राख्ने गरेको देखिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकले नै यसलाई पुष्टि गरेको छ । 

अमेरिकाको क्यालिफोर्नियाबाट डिल्लीबजार गोश्वारा हुलाक हुँदै गत २० भदौमा तस्करी भएर आएको दुई किलो गाँजासहित काभ्रे मन्डनदेउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राई, काठमाडौं खुसिबुनिवासी ३० वर्षीय राहुल क्षेत्री र काठमाडौं नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठ पक्राउ परे । गोश्वारा हुलाकबाट अमेरिकी गाँजा नेपाल आएको घटनामाथि प्रहरी गहिरो अनुसन्धानमा लाग्यो । यसै क्रममा मनोज राईकै नाममा क्यालिफोर्नियाबाटै पुनः अर्को पार्सल आइपुग्यो । पार्सलभित्र सर्ट, जिन्स पाइन्ट, जोली रेन्चर र केही म्यागेजिन थिए । जब प्रहरीले एक–एक गर्दै कपडा टक्टक्यायो, त्यहाँ एक किलो तीन सय ३० ग्राम गाँजा पनि भेटियो । 

यसअघि ४ कात्तिक ०७६ मा अमेरिकाबाटै तस्करी गरेर ११ किलो दुई सय ग्राम गाँजा र चरेस नेपाल भित्र्याइएको थियो । त्यतिवेला पनि तस्करले हुलाक नै प्रयोग गरेका थिए । फ्लाई दुबईको जहाजबाट नेपाल आइपुगेको गाँजा ‘म्युजिक सिस्टम’भित्र लुकाएर ल्याइएको थियो । ‘म्युजिक सिस्टम’ बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभ्रे पाँचखाल– १० का ३८ वर्षीय अच्युत त्रिपाठी पुगेका थिए । पक्राउ परेका उनको बयानका आधारमा उक्त गाँजा र चरेस ठमेलस्थित डिलाइट होटेलका सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेले ल्याउन लगाएको खुलेको थियो । त्यसअघि अमेरिकाबाट गाँजा र चरेस तस्करी भएर नेपाल आएको फेला परेको थिएन ।

हुलाक नै प्रयोग गरेर ११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेट नेपाल आइपुग्यो । वीरगन्जका २२ वर्षीय राजशिखर गुप्ताको नाममा पार्सल भई आएको उक्त चकलेट बेलायतबाट पठाइएको थियो । बक्सभित्र गाँजामिश्रित दुई किलो दुई सय ५८ ग्राम तौलबराबरको ‘क्यान्डी’ थियो । प्रहरीले गुप्तालाई चकलेट बुझ्ने क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट पक्राउ गर्‍यो । उनको कोठा चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध एम्फेटामाइनबाट बनेका पाँच सय ‘ट्याब्लेट’ फेला पार्‍यो । उक्त लागुऔषध भने जर्मनबाट ल्याइएको खुलेको थियो । 

योगेन्द्रकुमार खड्का प्रवक्ता, लागुऔषध नियन्त्रण ब्युरो

पछिल्ला केही वर्षयता हुलाकमार्फत लागुऔषध तस्करी हुने गरेको अनुसन्धानबाट देखिन्छ । विशेषगरी गाँजा तस्करी भएको छ, त्यो पनि अमेरिकादेखि । यसले एउटा स्वाभाविक प्रश्न के उठाएको छ भने अमेरिकादेखि गाँजा नेपालमा किन आइरहेको छ ? तथ्यमा आधारित उत्तर अझै भेटाउन सकिएको छैन ।

प्रहरीले सुन्धारास्थित तत्कालीन गोश्वारा हुलाक कार्यालयबाट १४ फागुन ०७६ मा तीन किलो दुई सय ४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त गाँजा क्यानडाबाट पार्सल भई नेपाल आइपुगेको थियो । तस्करले ‘पेडियाट्रिक न्युट्रेसन’को टिनभित्र लुकाएर उक्त गाँजा नेपाल पठाएको थियो । अनुसन्धानपछि उक्त गाँजा पनि अमेरिकी ‘ब्रिड’ (नश्ल)को रहेको खुलेको थियो । 

यी घटनाले पछिल्लो समय लागुऔषध तस्करी गर्न गोश्वारा हुलाकको प्रयोग भइरहेको स्पष्ट पार्छ । लागुऔषध ब्युरोको तथ्यांकअनुसार तीन वर्षयता तस्करले लागुऔषध तस्करी गर्न हुलाक प्रयोग गरेको देखिन्छ । साना–ठूला गरी हुलाकबाट तस्कर हुने लागुऔषधका आठ ‘अप्रेसन’मा प्रहरी संलग्न भयो । जुन सबै गाँजा र चरेससँग सम्बन्धित थिए । तथ्य के भेटियो भने, पाँच ‘अप्रेसन’मा बरामद गाँजा अमेरिकी ‘ब्रिड’का थिए । बाँकी तीन ‘अप्रेसन’मध्ये बेलायत, क्यानडा र नेदरल्यान्डका गाँजा थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत देखिएको थियो । 

ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्का लागुऔषध तस्करले पछिल्ला दिन हुलाक प्रयोग गर्ने गरेको विभिन्न घटनाले नै पुष्टि गरेको बताउँछन् । ‘गएको केही वर्षयता हुलाकमार्फत लागुऔषध तस्करी हुने गरेको अनुसन्धानबाट देखिन्छ । यस क्रममा विशेषगरी गाँजा तस्करी भएको छ, त्यो पनि अमेरिकादेखि,’ उनले भने, ‘यसले एउटा स्वाभाविक प्रश्न के उठाएको छ भने अमेरिकादेखि गाँजा नेपालमा किन आइरहेको छ ? तथ्यमा आधारित उत्तर भेटाउन सकिएको छैन ।’

अमेरिकामा गाँजा : प्रतिबन्ध र फुकुवा 
गाँजाका दुर्व्यसनी बढ्न थालेपछि अमेरिकाले ५२ वर्षअघि ‘कम्प्रिहेन्सिभ ड्रग एब्युज प्रेभेन्सन कन्ट्रोल एक्ट, १९७०’ ल्यायो । जसले गाँजा उत्पादन, बिक्री र सेवनलाई प्रतिबन्ध लगायो । तर, तीन वर्षपछि अमेरिकाको वरेगन राज्यले गाँजा उत्पादन र बिक्रीलाई खुला गरिदियो । क्यालिफोर्नियाले सन् १९९६ देखि औषधि उत्पादन गर्ने उद्देश्यले गाँजाको खेती सुरु गर्‍यो । कोलोराडो र वासिङ्टन राज्यले त सन् ०१२ देखि ०.३ प्रतिशत टिएचसी रहेको गाँजा सेवनलाई खुला नै गरिदियो । 

अमेरिकाका ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला–ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, भोइला, ग्रो, स्टिजी, लोयल हर्व, बटमलाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् । 

यसकारण आउँछ अमेरिकी गाँजा

अमेरिकाबाट २० भदौ ०७९ मा गोश्वारा हुलाक कार्यालय डिल्लीबजार आइपुगेको दुई केजी गाँजा । उक्त गाँजा लुकाएको पार्सल बुझेर लैजाने क्रममा काभ्रे मण्डनदेउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राईलाई प्रहरीले पक्राउ गरेको थियो । 

लागुऔषध नियन्त्रण ब्युरोले तीन वर्षमा गरेको आठ अप्रेसनमध्ये पाँच अप्रेसनमा बरामद गाँजा अमेरिकी नश्लका थिए । बाँकी तीन बेलायत, क्यानडा र नेदरल्यान्डका थिए । जसमध्ये अधिकांशको गन्तव्य भारत थियो । पूर्वडिआइजी मल्लका अनुसार अमेरिकी गाँजा तस्करी भएर नेपाल आउनुमा अमेरिका बसेर नेपाल फर्किएका दुर्व्यसनी, नेपाल आएका अमेरिकी पर्यटक र तेस्रो मुलुक निर्यात कारण हुन सक्छन् । अमेरिकी गाँजा नेपाल आउनुमा तीनवटा मुख्य कारण देखिन्छ । पहिलो, अमेरिका बसेर नेपाल फर्किएका दुर्व्यसनी नेपाली । उनीहरूमा अमेरिकी गाँजाको लत बसेको हुन सक्छ । त्यस्ता दुर्व्यसनीले अमेरिकी गाँजा मगाएका हुन सक्छन् । दोस्रो, अमेरिकी पर्यटक । नेपाल आउने अमेरिकी पर्यटक बढेका छन् । उनीहरूबाट अमेरिकी गाँजाको माग भएकाले नेपालमा तस्करी भएको हुन सक्छ । र, तेस्रो, गाँजा तस्करले नेपाललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गरेको हुन सक्छ । तेस्रो मुलुक लैजान नेपाललाई प्रयोग गरेको हुन सक्छ । 

के छ अमेरिकी नश्लको गाँजामा ? 
११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेटको रासायनिक अनुसन्धान भयो । उक्त चकलेटमा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) नामक रसायन भएको भेटियो । जुन रसायनको सेवनपछि मानिसले ‘कृत्रिम आनन्द’ महसुस गर्छ । यो त्यही रसायन हो, जुन गाँजामा प्रशस्त मात्रामा पाइन्छ । अमेरिकी नश्लको गाँजामा यसको मात्रा अझ धेरै हुन्छ । स्वाद पनि केही नौलो हुन्छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसीको मात्रा नेपाली गाँजामा भन्दा तीन गुणा धेरै हुन्छ । ‘हाइब्रिड’ गरिएको हुनाले पनि अमेरिकी गाँजामा डेल्टा– ९ टिएचसी धेरै हुने उनको भनाइ छ । ‘नेपाली गाँजा र अमेरिकी गाँजाको नश्ल फरक छ । गाँजामा डेल्टा– ९ टिएचसी रसायन हुन्छ । जुन अमेरिकी गाँजामा नेपालीको भन्दा दुई–तीन गुणा धेरै हुन्छ,’ उनले भने, ‘अर्कोतिर अमेरिकी गाँजा ‘हाइब्रिड’ गरिएका छन् । त्यस्ता गाँजामा डेल्टा– ९ टिएचसी रसायन धेरै हुनु स्वाभाविक हो । जसको सेवनपछि मानिसले कृत्रिम आनन्द अधिक मात्रामा महसुस गर्छ । किनकि यो कडा हुन्छ ।’

नेपालमा गाँजाखेती बहस 
लागुऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । त्यसैले कानुनविपरीत हुलाकमार्फत गाँजा तस्करी हुनु जघन्य अपराध हो । कानुनतः घटनामा संलग्नविरुद्ध कडा सजाय हुने भएकाले गाँजा तस्करी जोखिमयुक्त भए पनि तस्करहरूले हुलाक सेवा नै प्रयोग गरेका छन् । 

लागुऔषध अनुसन्धान ब्युरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्का तस्करले यो विधि परीक्षण गरिरहेको अनुमान गर्छन् । उनी भन्छन्, ‘थोरै–थोरै परिमाणमा गाँजा बरामद भएका छन् । तर, यो क्रम केही वर्षयता निरन्तर छ । तस्करले परीक्षणका लागि यो विधि प्रयोगमा ल्याइरहेको हुन सक्ने अनुमान छ । त्यसैले यी घटनालाई गम्भीरताका साथ हेरिरहेका छौँ । हुलाक कार्यालयमा निरन्तर निगरानी राखेका छौँ ।’ 

अमेरिकी सरकारकै दबाबमा ०३३ देखि नेपालमा गाँजाको खेती मात्र होइन, गाँजा सेवन र बिक्रीमा समेत पूर्ण प्रतिबन्ध लागेको थियो । तर, अहिले अमेरिकाकै ४२ राज्यमा गाँजाखेती हुँदै आएको छ । त्यसबाहेक क्यानडा, थाइल्यान्ड, अस्ट्रेलिया, ब्राजिल, डेनमार्क, जर्मनी, ग्रिस, नेदरल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, श्रीलंकालगायत ४५ भन्दा धेरै मुलुकले वैधानिक रूपमा गाँजाखेती गर्छन् । काठमाडौं विश्वविद्यालयका प्रा.डा. पन्ना थापाका अनुसार सन् २०१९ मा मात्रै विश्वभर कानुनी रूपमै २१ अर्ब अमेरिकी डलरको गाँजा कारोबार भएको छ । तर, नेपालमा गाँजाखेती पूर्ण रूपमा प्रतिबन्ध छ । 

गाँजाखेती हुने विश्वका मुलुकलाई ‘रेफरेन्स’ राख्दै पछिल्ला केही वर्षदेखि नेपालमा पनि गाँजाखेतीको सम्बन्धमा बहस सुरु भएका छन् । विशेष गरी पूर्वसांसद शेरबहादुर तामाङले सदनमै आवाज उठाएपछि गाँजाखेतीको बहस सतहमा देखियो । बहस चौतर्फी चल्यो । गृह मन्त्रालय पनि गाँजाखेती सम्बन्धमा अध्ययनमा 

जुट्यो । नियन्त्रित ढंगले गाँजाखेती गर्न सकिने भन्दै नयाँ कानुनको तयारीमा जुट्यो । गृहले बनाएको ‘गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक’ अहिले कानुन मन्त्रालयमा पुगेको छ । थप अध्ययनका लागि कानुन मन्त्रालयले कानुन सेवा आयोग पठाएको छ । आयोगको रायलगत्तै विधेयक छलफलका लागि अब बन्ने संसद्मा पेस गरिने गृहका सहसचिव डा. भीष्म भुसालले बताए । 

उनले भने, ‘लामो बहसपछि हामीले ‘गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक’ तयार गर्‍यौँ । यो अहिले कानुन मन्त्रालयमा छ । काननुले राय लिन कानुन आयोग पठाएको हामीले सूचना पाएका छौँ । कानुनबाट स्वीकृत भएर आएलगत्तै यो अघि बढ्नेछ ।’

See More On

सुझावित समाचार