मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको हो।
आगामी मंलबारदेखि प्रभावित क्षेत्रका स्थानियले सेयर भर्न सक्ने गरी साधारण सेयर खुल्ला गरिने कम्पनी सञ्चालक समितिका अध्यक्ष श्रीराम महर्जनले बताए। कम्पनीको १३औँ साधारण सभाको अवसरमा अध्यक्ष महर्जनले प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको बताएका हुन्।
कम्पनीको कुल जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजारबराबरको आठ लाख दुई हजार पाँच सय कित्ता साधारण सेयर प्रभावित क्षेत्रका लागि सेयर निष्काशन गरिने अध्यक्ष महर्जनले जानकारी दिए।
तत्काल आयोजनामा कार्यरत कर्मचारी, श्रम स्वीकृति पाएका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिक र सर्वसाधारणका लागि ३४ प्रतिशत अर्थात् २७ लाख २८ हजार पाँच सय कित्ता सेयर निष्कासन गर्ने तयारी भइरहेको छ।
प्रभावित क्षेत्रका लागि खोल्न लागिएको १० प्रतिशत सेयर ओखलढुंगाका तीनवटा स्थानीय तहका नागरिकले आवेदन दिन पाउने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका सिओओ विजेन्द्र प्रधानले बताए।
आयोजना सञ्चालन भएको पालिका मोलुङ गाउँपालिकाका बासिन्दाले पाँच प्रतिशत, सुनकोसी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकले बाँकी पाँच प्रतिशत सेयर भर्न पाउने प्रधानको भनाइ छ। यसअघि संस्थापक सेयर लिसेककेका मोलुङ गाउँपालिकाका स्थानीयले यो साधारण सेयर भर्न पाउने छैनन्।
हाइड्रोले मोलुङ गाउँपालिकाका आठवटै वडाका स्थानीयलाई संस्थापक सेयर यसअघि नै दिइसकेको छ। मोलुङका स्थानीयलाई प्रभावित क्षेत्र भनेर संस्थापक सेयर दिएपछि सिद्धिचरण र सुनकोसीका तत्कालीन जनप्रतिनिधिले करिब एक वर्षअघि आफ्नो क्षेत्रका नागरिकले पनि सेयर पाउनुपर्ने भन्दै लिखित रूपमै आयोजनाको ध्यानाकर्षण गराएका थिए।
सेयर भर्नका लागि नाबालकको हकमा जन्मदर्ता साथै अन्यको हकमा नागरिकतासँगै बैंकखाता र डिम्याट खाता अनिवार्य आवश्यक पर्नेछ । आगामी माघ १८ गते सम्म साधारण सेयर भर्न सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। मोलुङ गाउँपालिका ओखलढुंगामा सञ्चालित मोलुङ हाइड्रो पावरबाट हाल सात मेघावाट विद्युत् उत्पादन भइरहेको छ।
वार्षिक १५ करोड आम्दानी
गत आर्थिक वर्षमा मोलुङ हाइड्रोले १५ करोड ६० लाख ९५ हजार ६७ रुपैयाँ आम्दानी गरेको छ। उत्पादन सुरु गरेको केही समय केन्द्रीय प्रसारणमा नजोडिँदा घाटा व्यहोरेको मोलुङ हाइड्रोले गत वर्षबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि आम्दानी गर्न थालेको हो।
आयोजनाले आम्दानी दिन थालेको, तर बैंकहरूले ब्याजदर बढाउँदा थप आर्थिक भार परेको कम्पनी सञ्चालक नवीन महर्जनले बताए।
‘विगतमा समयमै खपत नहुँदा आम्दानी नभएर घाटामा थियो, १३२ केभिए प्रसारण लाइन बनेपछि अब नियमित आम्दानी हुन थालेको छ,’ उनले भने, ‘१९ करोडसम्म वार्षिक आम्दानी गर्ने लक्ष्य थियो। १९ सम्म नभए पनि १५ देखि १७ करोड आम्दानी हुनेछ। केही वर्षमा ऋण चुक्ता गरेपछि कम्पनी फाइदामा जान्छ।’
मोलुङ हाइड्रो ओखलढुंगामा सञ्चालित विद्युत् आयोजनामध्ये सबैभन्दा पहिला उत्पादन सुरु भएको आयोजना हो।