अर्थ जानकारी
कसैले विक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न चाहेमा सात दिनभित्र विक्रेतासमक्ष फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्यबराबरको अर्काे वस्तु वा आफूले त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिन सक्नेछ । यसरी वस्तु फिर्ता गर्दा त्यस्तो वस्तु खरिद गर्दा विक्रेताले दिएको बिल वा रसिद देखाउनुपर्नेछ ।
तर, देहायको अवस्थामा वस्तु फिर्ता गर्न वा सट्टा लिन सकिनेछैन :
- खरिद भइसकेपछि खरिदकर्ताले त्यस्तो वस्तुको गुणस्तर वा परिमाण परिवर्तन गरेमा ।
- निश्चित अवधिभित्र उपभोग गरिसक्नुपर्ने प्रकृतिका वस्तु भए त्यस्तो अवधि व्यतीत भइसकेको वस्तु भएमा ।
- दूध, फलफूल, तरकारी, माछा, मासुजस्ता तुरुन्त उपभोग नगरेमा सडी, गली जाने प्रकृतिका वस्तु भएमा ।
- खरिद गरेको वस्तु प्रयोग गरिसकेको भएमा ।
- सिलबन्दी गरिएको वस्तु भए सिलबन्दी तोडिएको भएमा ।
- सिलबन्दी गरेको वस्तु भए सिल नतोडिएको अवस्थामा त्यस्तो वस्तु १५ दिनभित्र फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्यबराबरको त्यस्तै अर्काे वस्तु लिन सकिनेछ ।
–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय