एकपटक सुकरातका एक परिचित छिमेकी उनीकहाँ आए । उनले निकै उत्साहसाथ भने– मैले हजुरका मित्रबारे एउटा अनौठो कुरा सुनेको छु । उनको कुरा सुन्नासाथ सुकरातले भने– तपाईंले सुनेको कुरा म अवश्यै सुन्नेछु । तर, त्यो सुन्नुअघि एउटा सानो परीक्षण गरौँ ।
सुकरातका छिमेकीले अचम्म मान्दै सोधे– कस्तो परीक्षण ? सुकरातले जवाफ दिए– कुनै त्यस्तो अनौठो परीक्षण होइन, सामान्य तीन तहको परीक्षण मात्र हो । छिमेकीले सोधे– के–के हुन् त ती तीन तह ? पहिलो, सत्यताको तह । तपाईंले जसको कुरा सुन्नुभएको छ, के उनको कुरा पूर्णतः सत्य छ ? छिमेकीले भने– छैन, मैले यो कुरा कतै सुनेको मात्र हुँ ।
सुकरातले भने– केही छैन, ठिकै छ । दोस्रो, सकारात्मकताको तह । तपाईंले जे सुन्नुभएको छ, के त्यो सकारात्मक छ ? छिमेकीले भने– अहँ, यो त यसको ठिक उल्टो पो छ । सुकरातले भने– तेस्रो, उपयोगिताको तह ।
अब तपाईं मलाई बताउनुहोस् कि, यहाँ तपाईंले मलाई बताउन लागेको कुरा के मेरा लागि उपयोगी छ ? छिमेकीले जवाफ दिए– अहँ, त्यस्तो उपयोगी त छैन । छिमेकीको जवाफ सुनेपछि गम्भीर हुँदै सुकरातले भने– मेरा प्रिय मित्र, जे कुरा तपाईं मलाई सुनाउन खोज्दै हुनुहुन्छ, त्यो न सत्य हो, न सकारात्मक छ र न त उपयोगी नै छ । यस्तो अवस्थामा त्यो कुरा मलाई बताउनुको औचित्य के छ ? सुकरातका छिमेकीलाई आफ्नो गल्तीको महसुस भयो र उनी सुकरातसित माफी मागेर घरतिर लागे ।