नेपाल टी–२० लिग : लुम्बिनीको विजयी यात्रा समाप्त

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

नेपाल टी–२० लिगको छैटौँ खेलमा आएर लुम्बिनी अल स्टार्सको विजयी यात्रा टुंगिएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भएको प्रतियोगिताको १५औँ खेलमा लुम्बिनी पोखरा एभेन्जर्ससँग नौ विकेटले पराजित भएको हो । प्रतियोगितामा लुम्बिनीले पहिलो हार व्यहोर्दा पोखराले भने लगातार दोस्रो जित निकालेको छ । हारका बाबजुद लुम्बिनी ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा कायम छ । सात खेलमा चार अंक जोडेको पोखरा पाँचौँ स्थानमा यथावत् छ ।

बलिङमा विपिन र जाहिरको दिन
बलिङतर्फ विपिन खत्री र जाहिर खान चम्किएपछि लुम्बिनी सस्तैमा समेटिएको थियो । टस जितेर ब्याटिङ रोजेको लुम्बिनी १९.५ ओभरमा सबै विकेट गुमाउँदा एक सय २७ रनमा समेटिएको हो । लुम्बिनीका भारतीय खेलाडी हरमित सिंहले २१ बलमा तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ३८ रन बनाए । यसैगरी, दक्षिण अफ्रिकाका साड्ले भान स्चालक्विकले १६, सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले १३ तथा ह्यारी टेक्टर र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १० रन जोडे । लुम्बिनीलाई सस्तैमा समेट्न पोखराका विपिन र जाहिरले समान तीन विकेट लिएका थिए । आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले समान एक विकेट लिएका हुन् ।

जनकपुरको दोस्रो स्थान बलियो 
समिउल्लाह सिनवारीको अलराउन्ड प्रदर्शनप्रेरित जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई ४९ रनले पराजित गरेको छ । चौथो जितसँगै जनकपुरले दोस्रो स्थान बलियो बनाएको छ । जनकपुरको पाँच खेलबाट आठ अंक रहँदा काठमाडौं नाइट्स, विराटनगर र पोखराको चार अंक छ । पुछारमा रहेको फार वेस्ट युनाइटेडको दुई अंक छ । शीर्ष चारमा रहेका टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । 

चलेन विराटनगरको ब्याटिङ
एक सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रन मात्र बनाउन सक्यो । विराटनगरका हुसेन टलटले सर्वाधिक ४२ रन बनाए । पाकिस्तानका २६ वर्षीय टलटले २० बलमा चार चौका र दुई छक्का हिर्काएका थिए । यसैगरी, प्रदीप ऐरी ३६, गौरान्सु शर्माले ३३ तथा कप्तान आन्द्रे म्याकार्थीले १४ रन जोडे । प्लेयर अफ दी म्याच जनकपुरका समिउल्लाहले सर्वाधिक तीन विकेट लिँदा ललितनारायण राजवंशीले दुई विकेट लिएका थिए । 

समिउल्लाहको आक्रामक इनिङ
अलराउन्डर समिउल्लाहले आक्रामक ब्याटिङ गरेपछि जनकपुरले बलियो योगफल तयार पारेको थियो । जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८९ रन बनायो । अर्धशतकीय इनिङ खेल्नेक्रममा समिउल्लाहले ४० बलमा ६ चौका र ६ छक्का मद्दतमा अविजित ७८ रनको योगदान दिएका थिए । 

शेख दाजु–भाइको बलियो साझेदारी
आरिफ र आसिफ शेख दाजुभाइले बलियो ब्याटिङ साझेदारी गरेपछि पोखरा दोस्रो जित निकाल्न सफल भयो । लुम्बिनीले भने आफ्नो विजयी यात्रा कायम राख्न सकेन । लुम्बिनीले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पोखराले १० बल बाँकी हुँदा मात्रै एक विकेट गुमाउँदै भेट्टाएको थियो । पोखराका आसिफ शेखले ६२ बलमा नौ चौकाको मद्दतमा अविजित ७७ रनको योगदान गरे । उनी नै खेलको प्लेयर अफ दी म्याच घोषित भए । आरिफ शेखले अविजित १२ बलमा २५ रन जोडेका थिए । ओपनर सुमित महर्जन १३ रनमा पेभिलियन फर्किएपछि शेख जोडीले दोस्रो विकेटका लागि अविजित ९५ रनको प्रभावशाली साझेदारी गरेका हुन् ।  

सुझावित समाचार