तत्कालका लागि सत्ता राजनीतिको मियो गुमाएपछि पार्टीभित्रैबाट आलोचना खेपेर रक्षात्मक अवस्थामा पुगेका देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएको पाँच दिनसम्म पछिल्लो राजनीतिक घटनाक्रमबारे केही बोलेका छैनन्, बरु आत्मसमीक्षामा छन्
पाँचदलीय गठबन्धन बचाउन नसक्दा संसद्को ठूलो दल भएर पनि तत्कालका लागि सत्ता राजनीतिको मियो गुमाएपछि असहज देखिएका निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले चुपचाप छन् । पार्टीभित्रैबाट आलोचना खेपेर रक्षात्मक अवस्थामा पुगेका देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएको पाँच दिनसम्म पछिल्लो राजनीतिक घटनाक्रमबारे केही बोलेका छैनन्, बरु आत्मसमीक्षामा छन् । यतिसम्म कि देउवाले मेलमिलाप दिवसमा वक्तव्यसमेत निकालेनन् ।
देउवा सरकारबाट बाहिरिएको ६ दिन पुगेको छ । र, धुम्बाराहीस्थित नयाँ निवासमा सरेको तीन दिन पूरा भयो । तर, यसबीचमा सोमबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथमा देखिएका देउवा त्यसयता कुनै औपचारिक–अनौपचारिक कार्यक्रममा पनि सहभागी भएका छैनन् । अहिले उनी आफ्नै निवासमा आउने पार्टीका सीमित नेतासँग राजनीतिक छलफल गरिरहेका छन् ।
धुम्बाराहीस्थित भाडाको निवासमा नेता–कार्यकर्तासँग भेटघाटमा देउवाले २२ पुसमा केन्द्रीय कार्यसमिति बैठकको तयारीबारे परामर्श गरिरहेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर इतर समूहले बैठकमा सभापतिको राजीनामा वा विशेष महाधिवेशनसम्मको माग गर्ने रणनीति बनाएपछि देउवाले निकट नेतालाई प्रतिवादको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
बिहीबार देउवालाई भेटेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाणका अनुसार देउवा पछिल्लो घटनाक्रम र केन्द्रीय समिति बैठकलगायत विषयमा छलफलमा व्यस्त छन् । खाणका अनुसार उनी गठबन्धन जोगाउन नसकेकोमा सन्तुष्ट भने छैनन् । ‘गठबन्धन जोगाउनुपथ्र्यो, सकिएन । विभिन्न कारणले बचाउन सकिएन । अब संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले भूमिका खेल्छ,’ भेटमा देउवाको भनाइ उद्धृत गर्दै खाणले नयाँ पत्रिकासँग भने ।
सभापति देउवा खाण, निवर्तमान सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेतासँग निरन्तर भेटघाट र छलफलमा छन् । धुम्बाराहीस्थित निवासमा सभापति देउवाले निरन्तर भेटघाट गरिरहेको कार्की बताउँछन् । ‘नयाँ निवासमा निरन्तर भेटघाट भइरहेको छ,’ उनले भने, ‘भेटमा समसामयिक विषयमा छलफल हुने गरेको छ ।’
आफू पहिलो कार्यकालमा प्रधानमन्त्री बन्ने देउवाको अडानपछि माओवादी अध्यक्ष प्रचण्ड अन्तिममा एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेका थिए । १० पुसमा प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए भने अर्को दिन शपथ भएको थियो । प्रधानमन्त्रीको शपथ सकिएलगत्तै देउवा पूरा कार्यक्रम नबसी निस्किएका थिए । शपथमा पनि उनको हाउभाउ असहज देखिन्थ्यो ।
बुढानीलकण्ठस्थित निजी निवास मर्मत भइरहेकाले देउवाले प्रचण्ड प्रधानमन्त्री भएको तीन दिनपछि मात्रै सरकारी निवास छाडेका थिए । गत बुधबार उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । बुधबार बिहान १० बजे बालुवाटार छाडेका देउवा त्यसयता कुनै पनि कार्यक्रमका लागि बाहिरिएका छैनन् । ‘भेटघाटमै व्यस्त हुनुहुन्छ । प्रधानमन्त्रीको शपथग्रहणमा सहभागी भएयता कुनै पनि कार्यक्रममा सहभागी हुनुभएको छैन,’ स्वकीय सचिव भानु देउवाले भने ।
शनिबार ४७औँ मेलमिलाप दिवसका अवसरमा पनि उनी कुनै कार्यक्रममा सहभागी बनेनन् । औपचारिक रूपमा शुभकामना समेत दिएनन् । विगतमा सभापतिले शुभकामना वक्तव्य जारी गर्दै आएकोमा शनिबार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य जारी गरे । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेलमिलाप दिवसका अवसरमा ७७वटै जिल्लामा कांग्रेसले कार्यक्रम गरेको थियो । उनले सभापति कार्यक्रममा सहभागी भएको जानकारी आफूलाई नरहेको बताए । ‘सभापतिज्यू धेरै नै व्यस्त हुनुहुन्थ्यो । कुन कार्यक्रममा पुगेर सम्बोधन गरे–नगरेको मलाई हेक्का रहेन,’ उनले नयाँ पत्रिकासँग भने ।
कांग्रेस नेताहरूका अनुसार सभापति देउवा २२ पुसको केन्द्रीय कार्यसमिति बैठकअघि औपचारिक कार्यक्रममा सहभागी नहुने मनस्थितिमा छन् । बुधबार र बिहीबार भेट गरेका नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार देउवा घरमै भेटघाटमा जुटेका छन् ।
सम्भव भएसम्म केन्द्रीय समिति बैठकअघि नेविसंघको कार्यसमितिलाई पूर्णता दिन देउवाले निर्देशन दिएको शेर्पाले बताए । ‘मैले बुधबार र बिहीबार सभापतिसँग भेटेको थिएँ । भेटका लागि अरू नेताहरू पनि निवासमा आउजाउ गरिरहनुभएको छ,’ उनले भने ।
शुक्रबार पूर्वमहामन्त्री सुनील थापा, पूर्वउपसभामुख पुष्पा भुसाल र नेता किरण गिरीलगायतले देउवासँग भेट गरेका थिए । पूर्वमहामन्त्री थापाले भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए । उनका अनुसार देउवा केही दिन आराम गर्ने मनस्थितिमा छन् । ‘सभापतिले निवासमै नेता–कार्यकर्तासँग भेटघाट गरिरहनुभएको छ । उहाँ अहिले रेस्टकै मुडमा हुनुहुन्छ,’ थापाले नयाँ पत्रिकासँग भने ।
पाँचदलीय गठबन्धन भत्कने र तुरुन्तै नयाँ गठबन्धन बनेर प्रचण्ड प्रधानमन्त्री बन्ने देउवाका लागि अनपेक्षित थियो । अचानक भएको घटनाक्रमका कारण देउवाले न बिदाइ सम्बोधन गर्न पाए, न त मन्त्रिपरिषद्को अन्तिम बैठक आह्वान गरे । तनावमा देखिएका देउवा आफ्नो सरकारको कामबारे केही नभनी बालुवाटारबाट निस्किए ।
तीनै तहको निर्वाचन सकेका देउवाले सहज रूपमा सत्ता हस्तान्तरण गर्न पाएनन् । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु देउवालाई आफ्नो नेतृत्वको १७ महिनामा सरकारको सफलताका रूपमा जस लिने विषय थियो । यसबाहेक कोरोना नियन्त्रण, एमसिसी पारितलगायत विषयलाई उनले सरकारको उपलब्धिका रूपमा राष्ट्रका नाममा सम्बोधन गरेर जस लिन सक्थे । विगतमा बिदाइ क्याबिनेट बैठक र राष्ट्रका नाममा सम्बोधन गरेर उपलब्धि सार्वजनिक गर्ने प्रचलन थियो । तर, देउवाले यसतर्फ कुनै चासो दिएनन् ।
देउवा क्याबिनेटमा रहेका निवर्तमान गृहमन्त्री खाण समय पर्याप्त नहुँदा यी विषय हुन नसकेको बताउँछन् । ‘सरकारको दाबीलगत्तै नयाँ प्रधानमन्त्री नियुक्त हुनुभयो, लगत्तै शपथ पनि भयो । सरकारका उपलब्धि भन्ने पर्याप्त समय भएन र समय पनि अनुकूल थिएन,’ खाणले भने ।
देउवा सरकारका अर्का एक मन्त्री भने सत्तासमीकरणमा आएको फेरबदल र सत्ताबाट कांग्रेस बाहिरिने अवस्थाका कारण देउवाको ‘मुड अफ’ हुँदा यी विषयमा चुकेको बताउँछन् । ‘सार्वजनिक सम्बोधनमार्फत उपलब्धि जनस्तरमा अवगत गराउने अवसर थियो, तर सरकार निर्माणमा नाटकीय परिवर्तनका कारण कांग्रेस सत्ताबाट प्रतिपक्षमा रहने अवस्थाले उहाँले यी विषयमा ध्यान दिने जाँगरै गर्नुभएन,’ ती मन्त्रीले नयाँ पत्रिकासँग भने ।
तत्कालीन सरकारका प्रवक्तासमेत रहेका कार्कीले अन्तिम अवस्थामा सकारका उपलब्धि सार्वजनिक नभए पनि यो इतिहासमा दर्ज हुने र जनताले मूल्यांकन गर्ने दाबी गरे । ‘जुन परिस्थितिमा सरकार बन्यो त्यसपछि हामीले ट्र्याकबाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउन सक्यौँ । लोकतन्त्रमा प्राप्त उपलब्धि गुम्ने अवस्थामा थिए, त्यसलाई जोगाउन सक्यौँ,’ उनले भने, ‘कोरोना देउवा सरकारकै प्राथमिकताका कारण नियन्त्रणमा आयो । तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । सन्तुलित विदेश नीति अपनायौँ । सबै मित्रराष्ट्रसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम राख्न सफल भयौँ । डामाडोल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार गर्यौँ । यसबाहेक धेरै काम हामीले गर्न सक्यौँ । देउवा सरकारको १७ महिने कार्यकाललाई जनता र इतिहासले मूल्यांकन गर्नेछ ।’
देउवालाई महामन्त्रीद्वयको दबाब : गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गरौँ

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका थिए । शनिबार ४७औँ मेलमिलाप दिवसमा संयुक्त शुभकामना वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले घुमाउरो रूपमा सभापति देउवामाथि जिम्मेवारी लिन दबाब दिएका छन् । वक्तव्यमा नेतृत्वले सावधानी पुर्याउन नसक्दा कांग्रेस प्रतिपक्षमा पुगेको र यस अवस्थाले पार्टीमा असन्तुष्टि बढेको उल्लेख गरिएको छ ।
‘निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनुपर्थ्योभनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक होइन,’ वक्तव्यमा छ ।
यससँगै अब कांग्रेसले परिवर्तित अवस्थाको गम्भीर आत्मसमीक्षा गरेर अबको बाटो तय गर्नुपर्ने महामन्त्रीद्वयको भनाइ छ । महामन्त्रीद्वयले अब कांग्रेसले राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने, सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने र जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने,’ वक्तव्यमा छ, ‘कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ । आत्मसमीक्षा गरेर मात्रै पुग्दैन, त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा केवल सत्ताको राजनीतिमा योपटक पछि परेका मात्रै हौँ, हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका वेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन ।’
वक्तव्यमा कांग्रेसमा देखिएको अलमलको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । महामन्त्रीद्वयले बिपीको मर्मलाई आत्मसात् गर्दै एकताबद्ध भएर चुनौतीको सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ०३३ मा ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति लिएर बिपी कोइराला निर्वासनबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।