नेपालीले विदेशबाट फर्किंदा साथमा ल्याउने थप एउटा मोबाइल सेटमा भन्सार नलाग्ने भएको छ । यो व्यवस्थाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनमा विदेशबाट मोबाइल सेट ल्याउँदा नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था तत्काल लागू नहुने भएको हो ।
पुरानै व्यवस्थाअनुसार नेपालीले विदेशबाट स्वदेश फर्किंदा आफूले प्रयोग गरिरहेको सहित दुईवटा फोन ल्याउन पाउनेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छली गरेर भित्रिने मोबाइल नियन्त्रण गर्न भन्दै १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन गर्न लागेको थियो । तर, यस व्यवस्थाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री दाहालले पुरानो सरकारले गरेको व्यवस्था तत्काल लागू नगर्न र पुरानै व्यवस्थालाई निरन्तरता दिन निर्देशन दिएका थिए ।
विदेशबाट अतिरिक्त मोबाइल ल्याउँदा थप एउटाको भन्सार तिरेर प्रज्ञापनपत्र लिनुपर्ने र त्यसभन्दा बढी मोबाइल जफतसम्म हुने व्यवस्था गरिएपछि विदेशमा रहेका नेपालीहरूले विरोधस्वरूप ‘नो रेमिट्यान्स’ ह्यासट्याग अभियान चलाउन सुरु गरेका थिए ।
एमडिएमएस कार्यान्वयन भएको खण्डमा विदेशबाट फर्किंदा आफन्तलाई उपहारका रूपमा ल्याएको एउटा मोबाइलमा भन्सार लाग्ने र तेस्रो मोबाइल ल्याएमा भन्सार विभागले जफत गर्ने व्यवस्था थियो ।
विदेशबाट भित्रिने अवैध मोबाइल फोन नियन्त्रण गर्न सकारले यो व्यवस्था लागू गर्न लागेको प्राधिकरणको दाबी छ । तर, सीमित मोबाइल व्यापारीलाई पोस्न विदेशबाट रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिरहेका श्रमिकलाई घर फर्किंदा आफन्तलाई एउटा मोबाइल उपहारसमेत ल्याउन नदिएको भन्दै सबैतिरबाट सामाजिक सञ्जालहरूमा सरकारको विरोध सुरु भएको थियो । एमडिएमएस लागू भएपछि विदेशबाट ल्याएर दर्ता नगरिएका मोबाइल सेट पनि बन्द हुनेवाला थिए ।
विदेशबाट निजी प्रयोजनका लागि साथमा ल्याएका मोबाइल सेटहरू अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि पूर्ववत् रूपमा हुँदै गरेको ‘आइएमइआई’ रजिस्ट्रेसन प्रक्रियाअनुसार नै रजिस्ट्रेसन हुने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।