अर्थमन्त्रीलाई होटेल संघको तीनबुँदे सुझाव

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

होटेल संघ नेपाल (हान)को प्रतिनिधिमण्डलले बुधबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेटेर संकटग्रस्त होटेल व्यवसाय जोगाउन आग्रह गरेको छ । हानकी अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले अर्थमन्त्रीसमक्ष तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै तीनबुँदे सुझाव प्रस्तुत गरेको हो । 

सुझावमा बढ्दो ब्याजदर घटाउनुपर्ने, बैंकलाई साँवा–ब्याज भुक्तानी गर्ने समयसीमा बढाइदिनुपर्ने र ऋणको पुर्नतालिकीकरण र पुर्नकर्जा सुविधा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्यवस्था गर्न संघले सुझाव दिएको हो । बैंकको चर्को ब्याजदर होटेलजस्तो अति संवेदनशील उद्योगले धान्न नसक्ने औँल्याउँदै हानकी अध्यक्ष राणाले ब्याजदर घटाएर व्यवसाय सञ्चालनमैत्री वातावरण बनाइदिन अर्थमन्त्री पौडेललाई आग्रह गरिन् । उनले कोभिडबाट अति प्रभावित होटेल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायी पलायन हुने अवस्थामा पुगेको पनि स्पष्ट पारिन् । 

राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पुनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटेल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकता प्राप्त उद्योगका रूपमा कानुनमै व्यवस्था गर्नका लागि पनि हानले आग्रह गरेको छ । भेटमा अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागिपरेको र उद्योग व्यवसायको विकास तथा विस्तारका लागि उपयुक्त कदम चालिने बताए । 
 

सुझावित समाचार