प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आन्तरिक परामर्श गरेका छन् । बुधबार जुम बैठकमार्फत जिल्लाका पदाधिकारीसँग नेपालले सुझाव मागेका थिए ।
सरकारमा जाने विषयमा जिल्ला नेताहरूको मिश्रित धारणा छ । नेताहरूले मूलतः तीन सुझाव दिएका छन्, पहिलो– सरकारमा जानुपर्छ, दोस्रो– सरकारमा नगई पार्टी संगठन सुदृढ बनाउनुपर्छ । र, सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ ।
अधिकांश जिल्ला नेताले पार्टीलाई सशक्त बनाउनुपर्ने र संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । यथास्थितिमा सरकारमा नगई पार्टीलाई सशक्त बनाउनुपर्ने र संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनीहरूको जोड थियो । केही मन्त्री र राज्यमन्त्री लिएर मात्रै संगठन नबन्ने उनीहरूको सुझाव छ ।
केहीले सरकारमा सहभागी भएर वाम एकताको पक्षमा भूमिका खेल्नुपर्ने सुझाव दिए । सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने विकल्पबारे पनि केही जिल्ला नेताको सुझाव छ । नेपालले सरकारको साझा नीति तथा कार्यक्रम र पार्टीलाई हेर्ने दृष्टिकोणका आधारमा समर्थन वा विरोध गर्ने नेपालले संकेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपालसँग बुधबार बिहान भएको छलफलमा सत्तारूढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । त्यसअघि प्रचण्डले नेपालसँग सरकारप्रतिको धारणा मागेका थिए । जवाफमा नेपालले सरकारप्रति नकारात्मक धारणा नभएको प्रतिक्रिया दिएका थिए । लगत्तै प्रचण्डले सरकारलाई समर्थन गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।
नेपालले एकीकृत समाजवादीलाई खबरै नगरी नयाँ समीकरणमा पुगेको भन्दै प्रचण्डसँग गुनासो गरेका थिए । जवाफमा प्रचण्डले ‘हतारमा भन्न पाइएन, गल्ती भयो भन्ने जवाफ’ दिएका थिए । नेपालले पार्टीमा संस्थागत छलफल गरेर मात्र निर्णय लिने जवाफ फर्काएका थिए ।
प्रचण्डसँगको छलफललगत्तै नेपालले जिल्लाका पदाधिकारीसँग भर्चुअल परामर्श लिए । ‘प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । मैले आफ्नोतर्फबाट कुरा राखेँ । छलफल, सल्लाह नै नगरी निर्णयमा पुग्नुभयो । प्रधानमन्त्री बनिसक्नुभएको छ । अब किन हाम्रो समर्थन चाहियो ?’ नेपालको भनाइ उद्धृत गर्दै जुम बैठकमा सहभागी एक नेताले भने, ‘त्यसपछि प्रचण्डले हतारमा भन्न पाइएन, गल्ती भयो भन्नुभयो । मैले नीति तथा कार्यक्रम कस्तो हुने ? हाम्रो भूमिका कस्तो हुने भन्नेबारे स्पष्ट खाका ल्याउन भनेको छु । कोदो र तोरीको गठबन्धन कसरी छुट्याउनुहुन्छ ? प्रस्ट दृष्टिकोण ल्याउनुस्, त्यसपछि निर्णय गर्छौँ ।’
भर्चुअल बैठकमा सहभागी करिब तीन सय नेतामध्ये ५० जनाले धारणा राखेका थिए । जिल्लाका नेताहरूको राय–सुझाव लिइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । जिल्लाका नेताहरूको राय–सुझावका आधारमा स्थायी कमिटीबाट निर्णयमा पुग्ने समाजवादीको तयारी छ । आगामी १६ पुसमा स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए ।
बैठकमा नेपालले वाम–लोकतान्त्रिक गठबन्धनमा भएको छलफलदेखि नयाँ गठबन्धन र प्रधानमन्त्रीसँग भएको पछिल्लो छलफलबारेसम्म जानकारी गराएर सुझाव मागेका थिए । नेपालले विकसित राजनीतिक घटनाक्रमबारे जिल्लाका पदाधिकारीलाई जानकारी गराएका थिए ।