बागमती प्रदेशका १५ सांसदले मातृभाषामा शपथ लिने

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन्। १५ जनामध्ये ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेश सभा सचिवालयले जनाएको छ। 

मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यहरूमा कांग्रेसका ३, एमालेका ४, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना रहेका छन्।

सचिवालयका अनुसार कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जनले नेवारी भाषामा शपथ लिने भएका छन्। 

यस्तै, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ। यसैगरी, माओवादी केन्द्रका ५ मध्ये ३ जनाले नेवारी र २ जनाले तामाङ भाषामा शपथ लिने भएका छन्। 

माओवादीका गङ्गानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले नेवारी तथा राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिने सचिवालयले जनाएको छ।

एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका २ जना सदस्यहरू शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिने सचिवालयले जनाएको छ।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्।

नवनिर्वाचित प्रदेश सदस्यहरूले पौष १४ गते बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालयमा शपथग्रहण गर्ने कार्यक्रम छ।

सुझावित समाचार