टुटेको र जुटेको गठबन्धन एवं आगामी राजनीति

सत्तासँग जोडिएका सात दलको चित्त बुझाएर गठबन्धन जोगाउनु चुनौतीपूर्ण छ, ढंग पुगेन भने एउटै रथलाई चारतिरबाट तानेकोजस्तो अवस्था आउन सक्छ

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

राजनीति सम्भावनाको खेल हो भनेर त्यसै भनिएको होइन । कहिलेकाहीँ यसले अप्रत्यासित रूपमा यसरी नचिताएको कोल्टे फेर्छ कि आफूलाई सत्ता–खेलको उद्भट खेलाडी भन्ठान्नेहरू पनि क्षणभरमै चार बल्ड्याङ खान्छन् । यो आइतबार भयो त्यही । हेर्दाहेर्दै केही घन्टाकै अन्तरालमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुनः प्रधानमन्त्री बन्ने सबै सपना हुरीले उडायो । क्षणभरमै सत्ता राजनीतिको ‘इपिसेन्टर’ बालुवाटारबाट बालकोट सर्यो र प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत सबै प्रमुख पद एकलौटी गर्ने मनसुवा राखेका उनी लट्टीपट्टी सबै हारेको जुवाडेझैँ रित्तो हात बुढानिलकण्ठ फर्कनुपर्ने अवस्थामा पुगे । सबै कुरा यथावत् रहेमा उनका कारण उनलाई मात्र क्षति भएन, कांग्रेस पार्टी पनि केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था आयो । 

प्रश्न उठ्छ, वाम–लोकतान्त्रिक गठबन्धन भत्क्यो कसरी र वाम एवं उदीयमान शक्तिमाझको नयाँ गठबन्धन बन्यो कसरी ? प्रधानमन्त्री देउवा कसरी यस्तो आत्मघाती हठ गर्न पुगे र यसरी पासा पल्टिन पुग्यो ? यो मुुलुकमा राजनीतिमा किञ्चित पनि रुचि हुने सबैलाई थाहा थियो कि माओवादी अध्यक्ष प्रचण्ड जसरी पनि पहिलो खेपमै प्रधानमन्त्री बन्न चाहन्छन् । स्वयं उनको बाँहजोडी नेता भएकाले देउवालाई उनको यो चाहना थाहा नहुने कुरै भएन । वास्तवमा उनले त असम्भव अवस्थामा आफूलाई प्रधानमन्त्री बन्न सम्भव बनाएका प्रचण्डलाई अबको प्रधानमन्त्री तपाईं भनेर वचन नै दिएका थिए । आखिर त्यस्तो के कारण हुन सक्छ कि उनी आफ्नो वचनबाट एकाएक च्युत भए र प्रचण्ड हठात् एक सय असी डिग्रीको फन्को मारेर अर्को ध्रुवमा पुग्न बाध्य भए ? मेरो आकलनमा यसका केही खास कारण हुन सक्छन् । 

पहिलो त प्रधानमन्त्री नपाए पनि प्रचण्ड गठबन्धन टुटाएर एमालेको पोल्टामा पुग्दैनन् भन्ने देउवा र उनको ‘कोर टिम’को बुझाइ । दोस्रो, त्यस्तो प्रयास गरे भने पनि एमालेले उनलाई प्रधानमन्त्री दिँदैन भन्ने विश्वास । तेस्रो,  अढाई वर्ष पर्खेर दोस्रो आधामा प्रधानमन्त्री बन्न उमेरको जुन गौँडामा उनी छन्, त्यसकारण पनि सहज हुँदैन भन्ने उनको ठम्याइ । र चौथो, कहीँ न कहीँ विगतमा सुशील कोइरालालाई झैँ कुनै बाह्य शक्तिले उनी जसरी पनि पहिलो खेपमै प्रधानमन्त्री बन्न सक्छन् भनेर दिलाएको विश्वास । 

त्यसो त शेरबहादुर देउवालाई बालकोटको भान्सामा वैकल्पिक सत्ताको कुनै खिचडी पाकिरहेको त छैन भन्ने आशंका नभएकोचाहिँ होइन । त्यसैले उनले आफ्ना विश्वासपात्र विमलेन्द्र निधिलाई ओलीको ‘मुख सुँघ्न’ पठाएका पनि हुन् । तर, सत्ता राजनीतिका चम्बु खेलाडी न ठहरिए केपी ओली, उनले निधिलाई त्यहाँ पाकिरहेको पकवान्नको सुइँकोसमेत दिएनन् र उल्टो ढुक्क बनाएर पठाए । त्यसपछि त देउवाले निर्णायक वार्ताका नाममा प्रचण्डलाई अलमल्याउने र राष्ट्रपतिले दिएको समय घर्काउने र संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभामा एकल ठूलो दलको नेताका रूपमा आफू प्रधानमन्त्री बन्ने युक्ति अपनाए । 

उनलाई के विश्वास थियो भने एकपल्ट प्रधानमन्त्री आफ्नो पोल्टामा परेपछि पद–आकांक्षी पार्टीहरू खुरुखुरु आफूतिर आई नै हाल्छन् । तर, संसदीय राजनीतिका नयाँ खेलाडी भए पनि राजनीतिक चतु¥याइँमा प्रचण्ड पनि कोहीभन्दा कम होइनन् । 

पछिल्लो गठबन्धन र राजनीतिक उलटफेरका ‘मास्टर माइन्ड’ केपी ओली नै हुन् । तर, त्यसलाई सम्भव भने शेरबहादुर देउवाको हठ र प्रचण्डको चुनौतीलाई अवसरमा बदल्ने खुबीले बनायो ।
 

यसपटक उनले पनि सबै अन्डा एउटै टोकरीमा राख्ने गल्ती गरेका थिएनन् । आफ्ना विश्वासिला नेतामार्फत वैकल्पिक द्वार खुलै राखेका थिए । त्यसैले, उनले समय घर्किनुअगावै बालुवाटारको कुटिल वार्ताको युक्तिलाई बाईबाई गरे र प्रधानमन्त्रीको बाजी मारे । र देखियो, गुरुप्रसाद मैनालीको कथाका अमर पात्र चामे र गौंथलीको झैँ ओली–प्रचण्ड सम्बन्धमा निर्णायक मोड– ‘एकछिनमा काटाकाट एकछिनमा चाटाचाट !’ 

यो राजनीतिक उलटफेरका ‘मास्टर माइन्ड’ केपी ओली नै हुन् । तर, त्यसलाई सम्भव भने शेरबहादुर देउवाको हठ र प्रचण्डको चुनौतीलाई अवसरमा बदल्ने खुबीले बनायो । जुन ‘सर्जिकल प्रेसिजन’का साथ यो काम फत्ते भयो त्यसलाई मान्नैपर्छ । एक हिसाबले भन्ने हो भने यो सानोतिनो ‘कोर्स करेक्सन’ नै हो । यदि आफ्नै हातमा सत्ता भएका वेला केपी ओलीले बुद्धि पु¥याएका भए मुलुकले विगत दुई वर्षको महाभारत देख्नुपर्ने थिएन र वाम राजनीति एउटा सुविचारित ‘कोर्स’बाट अघि बढ्न सम्भव हुन्थ्यो । राजनीति न हो, यसमा कहिले काहीँ ‘यदि’ र ‘तर’को कुनै मतलव हुँदैन । 

यसलाई सत्ताको विद्रुप खेल भनौँ या ‘कोर्स करेक्सन’, अब प्रचण्डको नेतृत्वको सत्तारुढ गठबन्धनका चुनौती र अवसर के हुन सक्छन् त्यसलाई आकलन गरौँ । चुनौतीको हिसाबले हेर्दा पहिलो त सत्तासँग जोडिएका यी सात दलको चित्त बुझाएर गठबन्धन जोगाउनु नै ठूलो चुनौती हो । ढंग पुनेन भने एउटै रथलाई चारतिरबाट तानेकोजस्तो अवस्था आउन सक्छ । यसका अतिरिक्त अर्थतन्त्रको सुधार, सुशासनको प्रत्याभूति, जनअपेक्षाको सम्बोधन र विकासका सवाल त छँदै छन् ।

लामो समयदेखि अड्किएर बसेको टीकापुर घटनासँग जोडिएको सवाल, नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, प्रदेश प्रहरी, प्रदेशले पाउनुपर्ने अधिकारको कानुनी ढंगले हस्तान्तरण र संविधान संशोधनजस्ता विषय पनि सम्बोधनकै पर्खाइमा छन् । गाह्रो साँघुरोमा साथ दिएका माधव नेपाललाई पनि सेफ ल्यान्डिङको ठाउँ बनाउनु पनि छँदै छ । यी सबैको केन्द्र भागमा छ केपी ओलीको ‘मुड स्विङ’ । किनकि उनले नयाँ प्रधानमन्त्रीलाई अढाई वर्ष काम गर्न दिएर आफ्नो पालो कुर्छन् कि नाइँ ? त्यो कसले जान्दछ र ?

तर, चुनौतीसँगै प्रचण्ड सरकारसामु अवसर पनि छ । प्रधानमन्त्रीका बाँकी दुई आकांक्षी देउवा र ओलीको तुलनामा उनी भर्खरका छन् । यो देउवाभन्दा कता हो कता ‘सेलेबल इमेज’ हो । उनमा परिस्थितिको सही आकलन गरेर नीतिहरू बनाउने र बदल्ने ‘डाइनामिज्म’ पनि छ । विगतको उनका दुई कार्यकालको अनुभवले उनलाई परिपक्व पनि बनाएको छ ।

सबैभन्दा सकारात्मक पक्ष के भने उनीसँग फरक पार्टीका भए पनि केही गरौँ भन्ने जोस र जाँगरले भरिपूर्ण युवाको राम्रो टिम छ । उनको टिममा सामेल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरू पनि जनताको पारखी नजरको ‘राडार’मा परेका छन् । अतः तिनलाई असफल हुने छुट छैन । पटक–पटक मन्त्रिपरिषद्मा बसेर काम गरिसकेका अनुभवी र नयाँ उत्साह एवं उमंग बोकेर आएर ऊर्जावान्हरूलाई कुशल नेतृत्व दिन सक्दा विकासले बाटो समाउने र राजनीतिक स्थायित्वले जरा गाड्ने अवसर पनि छ उनीसँग । 

रह्यो, गठबन्धन टुटेर विलखबन्द परेको कांग्रेसको कुरा । आफूले देखाउन सक्ने खुबी केही बाँकी नरहेको र कुर्सीमा बसेको ‘रेकर्ड’ बनाउनुबाहेक केही गर्न नसक्ने हुँदा पनि जीवनको उत्तराद्र्धमा समेत शेरबहादुर देउवामा देखिएको कुर्सीको भोकको निर्मम समीक्षा गर्न जरुरी छ । सम्भावना भएर पनि फरक एवं स्वतन्त्र छवि नबनाई उनका पछि लुरुलुरु अनुचर झैँ लागेका नेताहरूले पनि आत्ममन्थन गर्नुपर्छ ।

सबैभन्दा जरुरी पार्टीभित्र मात्र होइन, मुुलुककै समकालीन राजनीतिक परिदृश्यमा उज्ज्वल छवि बनाएका गगन थापा, विश्व प्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेताहरूले पार्टीको संगठन र संसदीय मोर्चामा निर्णायक हस्तक्षेप गर्न जरुरी छ । पुस्ताको कुरालाई बिर्सेर पार्टीमा भएका पुराना पुस्ता अभिभावक बन्न र मार्गदर्शन गर्न गुटको साँघुरो घेराभन्दा माथि उठ्न आवश्यक छ । 

यो समस्या चुनावपूर्वको गठबन्धनले ल्याएको हुँदै होइन । गठबन्धन टुटेको सबै दोष प्रचण्डका टाउकोमा हालेर आफ्ना सभापतिलाई बिचरा धोका पाए भन्ने निष्कर्षमा पुग्नु सबैभन्दा सजिलो बाटो हो । प्रधानमन्त्री पद बर्चोट छोड्दै छोड्दिनँ भन्ने र राष्ट्रपतिलगायत अन्य महत्वपूर्ण पद पनि आफ्नै पार्टीसँग राख्नैपर्ने बाध्यताले यो अवस्था सिर्जना गरेको हो । गठबन्धनका क्रियाकलापमा पार्टीका आधिकारिक निकाय संंलग्न भएर पनि यो परिणाम आएको भए दोष पार्टीको हुन्थ्यो ।

यहाँ त सभापति र उनीनिकटको ‘कोटरी’ मात्र संलग्न भएकाले ती दण्डित हुनैपर्छ । निःसन्देह, कांग्रेसका लागि राजनीतिक घटनाको पछिल्लो विकास ठूलो क्षति हो । अतः यो समग्र परिस्थितिको सम्यक् समीक्षा गरेर अगाडि बढ्न सके कांगे्रसभित्र नेता विशेषको दिन जाला, तर पार्टीको दिन जाँदैन । पाँच वर्ष मिलिक्कै जान्छ । नयाँ नेतृत्व र नयाँ ऊर्जासाथ अघि बढ्न सक्यो भने कांग्रेसको वर्तमान धर्मराएकोजस्तो देखिए पनि भविप्य उज्ज्वल छ । सत्ताको स्वभाव चञ्चल हुन्छ । अतः कतिखेर यो कसका हातमा पुग्छ, के भन्न सकिन्छ र ? 
 

सुझावित समाचार