साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झन्डै ६० अंकले बढेको छ। नेप्से ५९.८७ अंक बढेर एक हजार नाै सय ८३.९५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६०, फ्लोट इन्डेक्स ३.६९ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बढेको छ।
मंगलबार नेप्से उच्च अंकले बढेसँगै करिब पाँच महिनायताकै उच्च कारोबारसमेत भएको छ। आज दुई सय ६१ कम्पनीको एक करोड २० लाख २९ हजार कित्ता सेयर तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भए । सोमबार दुई अर्बबराबरको सेयर कारोबार भएको थियो।
आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटेल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक चार प्रतिशतभन्दा धेरैले बढेको छ।
नेप्से बढेसँगै मंगलबार ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, सिर्जनशील लघुवित्त र कालिका पावर रहेका छन्। मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। जसको २० करोड ९४ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ।