कोभिडको आसन्न नयाँ लहरमा भारतको भूमिका

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

ब्राजिल, जापान, अमेरिका र गणतन्त्र कोरियामा कोभिड–१९ को संक्रमण बढ्दै गएको र विशेषतः चीनमा उत्पत्ति भएको परिस्थितिमा भारतले पूर्ण सतर्कता अपनाएको छ । अघिल्लो बुधबार केन्द्रीय स्वास्थ्यमन्त्रीले स्थितिको मूल्यांकन गर्दै भारतमा अर्को महामारीको वृद्धि रोक्ने कार्ययोजनाको रूपरेखा अघि सारेको छ ।

मन्त्रालयको बैठकमा सरकारको गम्भीरतालाई ध्यानमा राख्दै उपस्थित सबैले अनिवार्य नभए पनि मास्क लगाएका थिए । सरकारले ‘कोभिड महामारी अझै समाप्त भएको छैन’ भन्ने तथ्यलाई पुनर्पुष्टि गरेको छ । सरकारले जनतालाई भिडभाड हुने ठाउँमा मास्क लगाउन सल्लाह दिएको छ भने ‘जिनोमिक’सहितको निगरानीलाई बलियो बनाउने निर्णय गरेको छ ।

पोहोरको तुलनामा ५ देखि ११ डिसेम्बरको एक सातामा संक्रमणको नयाँ मामिला दुई प्रतिशतले बढेको छ भने मृत्युदर करिब १० प्रतिशतले बढेको छ । भारत पनि समावेश भएको दक्षिणपूर्वी एसियामा संक्रमणको मामिला एकतिहाइले घटेको छ, तर अमेरिकी क्षेत्रमा २७ प्रतिशतको वृद्धि छ र चीनसहितको पश्चिमी प्रशान्त क्षेत्रमा संक्रमण तीन प्रतिशतले बढेको छ ।

राष्ट्रस्तरमा हेर्ने हो भने एक सातामा अमेरिकामा संक्रमणको मामिला ५० प्रतिशतले बढेको छ भने जापान र गणतन्त्र कोरियामा १३ प्रतिशतले बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालको अवस्थामा कम मानिसमा संक्रमण जाँचको रणनीति अपनाइएकाले संक्रमणको मामिलालाई सावधानीपूर्वक विश्लेषण गर्न आग्रह गरेको छ । डब्लुएचओको सल्लाहलाई बल पु¥याउने गरी विभिन्न कोभिड–१९ सम्बन्धी सर्वेक्षणले हाल देखिएको कोभिड–१९ संक्रमणको मामिला अनुमानभन्दा कम रहेको पुष्टि गरेका छन् ।

डब्लुएचओले बिए.५ ओमिक्रोन सबभेरियन्टलाई अझै पनि प्रभावशाली संक्रामक बताएको छ र १४ देखि २० नोभेम्बर २०२२ को एक सातामा सबभेरियन्टले ७३ दशमलव सात प्रतिशतको व्यापकता कायम गरेको थियो । यो व्यापकतामा अधिकांश अमेरिकी संक्रमणका मामिला थिए ।

अघिल्लो कोभिड–१९ संक्रमण र खोपका बाबजुद यो सबभेरियन्ट शरीरको प्रतिरक्षालाई छल्न थप सफल भएकाले छिटो फैलिरहेको छ । त्यसैगरी ओमिक्रोनको बिए.२ सबभेरियन्टले विश्वव्यापी रूपमा १० दशमलव चार प्रतिशतको व्यापकता लिएको थियो । हालका दिनमा बिए.२.७५ सबभेरियन्ट सतहमा आएको छ र यसले दक्षिणपूर्वी एसिया एवं पश्चिमा प्रशान्त क्षेत्रका मुलुकमा व्यापकता बढाउँदै गैरहेको छ । 

बिएफ.७ सबभेरियन्टलाई बेइजिङ र चीनका अन्य सहरमा भएको कोभिड–१९ संक्रमण वृद्धिका लागि जिम्मेवार मानिएको छ । बिएफ.७ अथवा सटिक भाषामा भन्ने हो भने बिए.५.२.१.७ ओमिक्रोन सबभेरियन्ट बिए.५.बिएफ.७ सबभेरियन्टको पनि भेरियन्ट हो । यो नयाँ सबभेरियन्टमा पहिले कोभिड संक्रमण भइसकेका वा खोप लगाएका वा दुवैमाझ अभूतपूर्व ढंगले फैलिरहेको छ । औसतमा ओमिक्रोन भेरियन्टबाट संक्रमितले पाँचजनालाई संक्रमित बनाइरहेका थिए, तर बिएफ.७ ले १० देखि करिब १७ जनालाई संक्रमित बनाइरहेको छ ।  

जी–२० अध्यक्ष भारतले आफ्नो समन्वय र साझा प्रतिक्रिया देखाउनुका साथै उसका लागि कोभिड संकट सदस्य राष्ट्रलाई सहयोग गर्ने मौका पनि हुन सक्छ 

  अमेरिकामा गरिएको एक अध्ययनको नतिजाअनुसार बिएफ.७ ले तीनपटक खोप लगाइसकेका स्वास्थ्यकर्मी र बिए.१ एवं बिए.५ ओमिक्रोन सबभेरियन्ट लहरका वेला संक्रमित बिरामीको नमुनालाई निस्तेज पारेको छ । यो तथ्य गम्भीर चिन्ताको स्रोत हुन सक्छ । बिएफ.७ को प्रतिरोधी क्षमता आर ३४६१ टीको उत्परिवर्तनका कारण भएको मानिन्छ । उच्च संक्रमणदर र ‘एसेम्प्टोटिक क्यारियर’ (संक्रमणको लक्षण नदेखिएकाबाट हुने संक्रमणदर) को उच्च अनुपातको संयोजनले हाल चिनियाँ सहरमा उब्जिरहेको कोभिड–१९ लहर नियन्त्रण गर्न हम्मेहम्मे भइरहेको छ । यो लहर चीनमा तब आइरहेको छ, जब चीनमा तुलानात्मक रूपमा न्यून प्राकृतिक संक्रमण विद्यमान छन् । 

बिएफ.७ सबभेरियन्ट अमेरिका, बेलायत एवं महाद्वीपीय युरोपका बेल्जियम, जर्मनी, फ्रान्स र डेनमार्कमा पनि देखिएको छ । बिएफ.७ सबभेरियन्ट पहिलोपटक भारतको गुजरातस्थित गान्धीनगरको गुजरात बायोटेक्नोलोजी रिसर्च सेन्टर (जिबिआरसी) मा पत्ता लागेको हो । भारतमा हालसम्म गुजरात र ओडिसा राज्यमा बिएफ.७ सबभेरियन्ट संक्रमणका दुई मामिला मात्र देखिएका छन् । 

डब्लुएचओले ‘क्षेत्रीय प्रतिरक्षा परिदृश्य, अघिल्ला ओमिक्रोन लहरको आकार, समय र कोभिड–१९ खोप विस्तार’जस्ता कारणले नयाँ उदीयमान ओमिक्रोन डिसेन्डेन्ट भेरियन्टको संक्रमण लहर फैलिन सक्ने राय दिएको छ । भारतका सन्दर्भमा यी कारक अनुकूल देखिन्छन् । बुस्टर डोजको व्यापक खपतको अभाव ती व्यक्तिका लागि चिन्ताको विषय बनेको छ, जो उमेर वा अन्य घातक रोगका जोखिममा छन् । यस सन्दर्भमा केहीले यात्रासम्बन्धी प्रतिबन्धका लागि आह्वान गरेका छन्, तर यी आह्वान खासै व्यावहारिक एवं महामारी विज्ञानसम्मत छैनन् । राष्ट्रियस्तरमा केन्द्र सरकारले पहलकदमी लिए पनि वास्तविक पहलकदमी जिल्ला र नगर तहबाट गरिनुपर्छ । 

हालको महामारीको नयाँ चरण भारतले जी–२० को अध्यक्षता ग्रहण गरेपछि आएको हो । सबै मुलुक स्वास्थ्य प्रणालीको पुनर्जीवन, सुधार र रूपान्तरण प्रक्रियाबाट गुज्रिरहेका छन् । स्वास्थ्य आपत्काललाई प्रभावकारी ढंगले प्रतिक्रिया दिन सक्षम हुन आफ्नो स्वास्थ्य सेवामा लचिलोपन ल्याउन सबै मुलुकले पुनर्मूल्यांकन गर्दै छन् । ठूला चुनौतीका बाबजुद भारतले विगत तीन वर्षमा निदान, औषधि र खोप तथा डिजिटल नवप्रवर्तनमार्फत चिकित्सा प्रतिरोधी क्षमता निर्माण गर्ने कार्यसहित सन्तोषजनक प्रतिक्रिया दिएको छ । थुप्रै जी–२० मुलुकमा यो नयाँ लहर निम्तिने सम्भावना देखिन्छ । हालको समयमा भारतले आफ्नो समन्वय र साझा प्रतिक्रिया प्रभावकारी छ भन्ने देखाउन सक्छ । यति मात्र नभई यो भारतका लागि जी–२० सदस्य राष्ट्रलाई सहयोग गर्ने मौका पनि हुन सक्छ । 

(दासगुप्ता सेन्टर फर सोसल मेडिसिन एन्ड कम्युनिटी हेल्थ जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक हुन्)इन्डियन एक्सपे्रसबाट

सुझावित समाचार