नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णय : निर्मला हत्या घटनाको छानबिन गरी पीडितलाई न्याय दिने

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको ‘केस’ सम्भवतः सबैभन्दा धेरै ‘फलोअप’ गरेका थिए । घटनाको चार वर्षपछि संयोगवश उनी गृहमन्त्रीको कुर्सीमा पुगेका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय पनि निर्मलालाई ‘न्याय दिने’ गरेका छन् । 

गृह मन्त्रालयमातहतका सबै विभागीय प्रमुखलाई राखेर नवनियुक्त गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी प्रमाणका आधारमा दोषीलाई यथाशक्य चाँडो कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिए । घटनाको अहिलेसम्म प्रभावकारी अनुसन्धान नहुँदा दोषीलाई कारबाही गर्न नसकिएको पनि उनले निर्णयमा उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेले गरेको निणर्यमा भनिएको छ, ‘११ साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धान अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमा उक्त हत्याको छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक छ । पीडित परिवारलाई न्याय दिन शंकास्पद व्यक्तिलाई छानबिन गर्नुपर्छ । तथ्ययुक्त प्रमाण संकलन गरेर पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई दिर्नेशन दिन निर्णयार्थ यो प्रस्ताव सदर गरेको छु ।’ 

निर्मलाको बलात्कार र हत्या सम्भवतः सबैभन्दा धेरै जनचासो जोडिएको घटना हो । तत्कालीन केपी ओली नेतृत्वको सरकार सोही घटनाका कारण चर्को आलोचनामा परेको थियो । नेपाल प्रहरीका तत्कालीन आइजिपी सर्वेन्द्र खनालले पनि चौतर्फी आलोचना सहनुपरेको थियो । ओलीपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १० साउन ०७८ मा हत्यारा पत्ता लगाउन गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिँदै अनुसन्धान गर्न भनेको थियो । सोहीकारण थापाले निर्मला घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका थिए । त्यसअघिका आइजिपी ठाकुर ज्ञवालीले पनि यो घटनाको अनुसन्धानलाई पहिलो प्राथमिकतामा राखेका थिए । वर्तमान आइजिपी धीरजप्रताप सिंहले त प्रहरी प्रधान कार्यालयमै पत्रकार सम्मेलनमार्फत निर्मला घटनाको अनुसन्धान आफ्नै कार्यकालमा निष्कर्षमा पुग्ने बताएका थिए । 

नागरिकतासम्बन्धी अनुसन्धानमा हस्तक्षेप हुँदैन  : रवि लामिछाने, गृहमन्त्री 
मेरा नागरिकता र राहदानीको विषयलाई लिएर प्रहरीमा अनुसन्धान जारी छ । यस विषयमा म जानकार छु । अनुसन्धान निष्पक्ष होस् भन्ने चाहन्छु । यसमा मेरो कुनै हस्तक्षेप हुनेछैन । 

आइजिपी सिंहले भनेका थिए, ‘निर्मला पन्त हत्या अनुसन्धान नयाँ मोडमा पुगेको छ । हाम्रा टोली अनुसन्धानमै छन् । यसले पक्कै निष्कर्ष पाउनेछ । आशा छ, मेरै कार्यकालभित्र यो सम्भव हुनेछ ।’ तर, घटना गुत्थी अझै फुक्न सकेको छैन । यही पृष्ठभूमिमा नवनियुक्त गृहमन्त्री लामिछानेले पनि निर्मला घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेको सन्देश कार्यकालको पहिलो निर्णय गरेर दिएका छन् । 

‘निर्मला पन्त बलात्कार घटनाप्रति सबैको चासो छ । लामो समयसम्मको अनुसन्धानपछि पनि यो सल्टिन सकेको छैन । पीडितले अझै न्याय पाउन सकेका छैनन्, जुन जरुरी थियो । त्यसो हुँदा मैले यो विषयलाई प्राथमिकतामा राखेको हुँ । यो घटनाको अनुसन्धान अब नयाँ शिराबाट अघि बढ्नेछ,’ लामिछानेले पत्रकारहरूसँग भने । निर्मला घटनाको अनुसन्धान गर्न अहिलेसम्म फरक–फरक पाँच समिति बने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पनि कारबाहीमा परे । भलै उनीहरूविरुद्धको कारबाही पछि फुकुवा गरियो । गत ११ साउन ०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीको घरमा ट्युसन पढ्न हिँडेकी उनको शव उल्टाखामस्थित उखुबारीमा फेला परेको थियो । घटनालाई लिएर चौतर्फी विरोध भयो । अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । तत्कालीन आइजिपी सर्वेन्द्र खनालले एआइजी धिरू बस्नेत र डिआइजी सुरज केसीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरे । 

राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संगठनले समेत समिति गठन गरेर अनुसन्धान टोली घटनास्थल पठायो । तर, अनुसन्धान निष्कर्षमा पुग्न सकेन । बरु, फरक–फरक अनुसन्धान समितिका फरक–फरक प्रतिवेदनले घटना झन् गिजोलिन पुग्यो । जिल्ला, प्रदेश र सिआइबीका छुट्टाछुट्टै टोली अहिले पनि अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को छुट्टाछुट्टै टोली अहिले पनि अनुसन्धानमा खटिएका छन् । उनीहरूमध्ये कति देखिने त कति नदेखिने भूमिकामा रहेर अनुसन्धान गरिरहेका छन् । यस क्रममा प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ पनि गरेको छ । उपलब्ध प्रमाणसँग ‘भेरिफाइ’ गरिरहेको छ । 

सिआइबी प्रमुख एआइजी उत्तम सुवेदीले घटनास्थलमा अहिले पनि सक्रियताका साथ अनुसन्धान भइरहेको बताए । ‘निर्मला पन्त हत्या अनुसन्धानलाई लिएर गृहमन्त्रीज्यूको पहिलो निर्णय भएको मैले पनि थाहा पाएँ । यो घटनामा हामी सुरुदेखि नै सजग छौँ । हाम्रो टोली अहिले पनि अनुसन्धानरत छ,’ उनले भने, ‘निर्मला पन्त हत्या जटिल प्रकृतिको घटना हो । यसको अनुसन्धानमा प्रहरी टोली घटनास्थलमा रहनु स्वाभाविक हो । यस्ता घटनामा समय लाग्छ । यसो भन्दैमा अनुसन्धान थाती राख्ने विषय रहेन । त्यसो हुँदा अनुसन्धान जारी छ ।’ एआइजी सुवेदीका अनुुसार हालसम्म सो घटनालाई लिएर एक हजारभन्दा धेरैलाई पक्राउ गरी छाडिएको छ । पाँच सयभन्दा धेरैसँग त सोधपुछ मात्रै गरिएको छ । प्रहरी अधिकृतसहित नौजनाको त डिएनए परीक्षणसमेत भएका छन् ।

सुझावित समाचार