३ प्रश्न

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

पछिल्लो राजनीतिक उथलपुथललाई कसरी हेर्नुभएको छ ?
सामान्यतः निर्वाचनअघि गठबन्धन गर्ने चलन हुँदैन । तर, हामीले निर्वाचनअघि नै गठबन्धन गरेर जनतासामु मत मागेका थियौँ । तर, निर्वाचनपछि सरकार गठन हुने क्रममा त्यो गठबन्धनलाई हठात् टुक्र्याइयो । यसले दलहरूको इमानदारीमा प्रश्न उठाएको छ । गठबन्धन टुट्नुमा गठबन्धनमा सहभागी नेकपा समाजवादी र जनमोर्चाबाहेक सबैको बेइमानी देखिन्छ ।

हिजो प्रचण्डजीहरू केपी ओलीको प्रतिगमनविरुद्ध कांग्रेससँगको गठबन्धनमा जोडिनुभएको थियो । सबैले त्यसैअनुरूप जनतासँग मत पनि माग्ने काम गरियो । तर, अहिले उहाँहरू त्यही गठबन्धनलाई छिन्नभिन्न पारेर ओलीजीसितै मिल्नुभएको छ । निर्वाचनबाट बढी सिट जितेको कांग्रेस नेतृत्वले पनि वेलैमा बुद्धि पुर्याउन सकेन । यहाँनिर कांग्रेस नेतृत्वको पनि त्रुटि देखियो । साथै, प्रचण्डको सत्तालिप्सा पनि छर्लंग भयो ।

कांग्रेसका अबका विकल्पहरू के के हुन सक्छन् ?
गठबन्धन जोगाउन नसक्नु हाम्रो नेतृत्वको पनि गम्भीर कमजोरी हो । यस विषयमा पार्टीको उपयुक्त ‘फोरम’मा साथीहरूबीच निर्मम ढंगबाट समीक्षा हुनेछ । त्यहीँबाट हाम्रा आगामी विकल्पहरू सार्वजनिक हुनेछन् ।

प्रचण्ड नेतृत्वको नवगठित  सरकारबारे के भन्नुहुन्छ ?
प्रचण्डको नेतृत्वमा बहुरंगी सरकार बनेको छ । यो सरकार कुनै सैद्धान्तिक आवरणमा बनेको होइन । यसले डेलिभरी दिन सक्यो भने जनतामा आशा सञ्चार गर्न सक्छ । सक्नुभएन भने उहाँहरू भविष्यमा जनताबाटै बढारिने निश्चित छ । 

सुझावित समाचार