गृहमन्त्री बालकृष्ण खाणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै कांग्रेस नेतासमेत रहेका खाणले नयाँ सरकार गठन प्रक्रियालाई सबैले पनि सहजतापूर्वक लिनुपर्ने बताए।
उनले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै भने, ‘दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्छ।’
खाणले यो सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीलाई पनि सचेत गराए। ‘आमनिर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तन पनि भएका छ । गठबन्धनमा परिवर्तन पनि भएको छ । यसलाई यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ। नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नुपर्दछ । अब हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ता दलमा आबद्ध रहनु त स्वाभाविक हो।’
गृहमन्त्री खाणले एक वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरे। आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सञ्चालन गरेको उनले दाबी गरे।