केन्द्रमा बनेको एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई सुदूरपश्चिममा पनि प्रदेश सरकार गठनका लागि सुविधाजनक बहुमत छ। केन्द्रको समीकरण प्रदेशमा पनि कायम रहे सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहने निश्चितप्रायः छ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सदस्यको आवश्यकता पर्छ। एमाले, माओवादीसहितको गठबन्धनसँग २९ सिट छ। प्रदेश सभामा ११ सिटसहित माओवादी दोस्रो र १० सिटसहित एमाले तेस्रो ठूलो दल छ। नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सदस्य जोडेर २९ सिट पुग्छ।
कांग्रेससँग १९, एकीकृत समाजवादीसँग चार सिट छ भने एक स्वतन्त्र सांसद छन। केन्द्रमा राजनीतिक समीकरणमा फेरबदल आएसँगै प्रदेशमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने निश्चितजस्तै छ। सत्तागठबन्धन कायम रहेको अवस्थामा सबैभन्दा ठूलो दल बनेको कांग्रेस सुदूरपश्चिममा सरकारको नेतृत्वका लागि प्रमुख दाबेदार थियो। अब एमाले र माओवादीमध्ये एउटा पार्टीको नेतृत्वमा प्रदेश सरकार बन्ने सम्भावना बलियो छ।
माओवादीबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन्। प्रत्यक्षमा तीन सिट मात्र जितेको एमालेमा मुख्यमन्त्रीका प्रबल दाबेदार पराजित भएका थिए। प्रदेशमा एमालेले नेतृत्व गर्ने अवस्था आए पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्न सक्छन्।
प्रदेशमा कांग्रेसले नागरिक उन्मुक्ति पार्टी र समाजवादी वा स्वतन्त्रलाई साथमा लिन सके सरकार गठनका लागि बहुमत पुग्छ। तर, केन्द्रको समीकरणविपरीत प्रदेशमा छुट्टै समीकरण बन्ने सम्भावना नगन्य छ।
माओवादी नेता मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको वर्तमान सरकारमा कांग्रेस र एकीकृत समाजवादी सामेल छन्। यहाँ नवनिर्वाचित सांसदका लागि यही १५ पुसमा शपथग्रहण कार्यक्रम तय गरिएको छ। शपथग्रहणसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ।