नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन्, रञ्जित गजमेर । मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ ।
गजमेरविशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए । उनले ‘हम दोनो दो प्रेमी दुनियाँ छोड चले’, ‘मोहनी लाग्ला है’ जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली श्रोतामाझ मादल बजाउने क्रममा उनका आँखासमेत रसाएका थिए ।
‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाए । बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो कि मराठी बोल्नुपर्यो, कि गुजराती कि हिन्दी बोल्नुपर्यो,’ उनले भने । गजमेरको यो सेसन उनका चर्चित गीतहरूको सन्दर्भवरपर केन्द्रित रह्यो । र, ती गीत स्टेजमा गायक उज्ज्वल सागरले गाए ।
एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले एक मात्रै गीत छान्नुपर्दा ‘झझल्को लिएर आएछ सावन’ छान्छन् । आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ कोट्याउँदै गजमेरले भने, ‘नेपाली फिल्ममा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरी श्रीमती र मैले सोच्दा काठमाडौंबाट तारादेवी वा दार्जिलिङबाट अरुणा लामालाई बोलाउनुपर्यो । उहाँहरूको प्लेन खर्च, होटेल यो सबै हाम्रो बजेटले भ्याएन,’ उनले भने, ‘मेरी श्रीमतीले एकपल्टलाई आशा भोसलेलाई भनौँ भनिन् । आरडी बर्मनलाई यो कुरा भन्दा आफैँ आशालाई भन् भन्नुभयो । मैले आशा दिदीलाई प्रस्ताव राख्दा उहाँ एकदमै खुसी हुनुभयो ।’
बाँसुरी फिल्मकै ‘मिर्मिरे साँझमा सिमसिमे पानी’ गीत पनि उक्त गीतसँगै रेकर्ड भएको उनले बताए । ‘खर्च जोगाउन दुवै गीत एकै दिन रेकर्ड गरिएको हो,’ उनले भने । मिर्मिरे साँझ उदित उदितनारायण झाको पहिलो गीत थियो । ‘उहाँले मुम्बईमा माइक समातेर गाएको पहिलो गीत पनि यही हो,’ गजमेरले भने ।
नेपाली गीतको चर्चाको सिलसिलामा बलिउडको चर्चित ‘हम दोनो दो प्रेमी’ गीतको चर्चा पनि आइहाल्यो । उनका गुरुजी आरडी बर्मनले नेपाली शैलीको गीत मागेपछि उनले यही गीतको धुन मादल बजाएर सुनाएको स्मरण गरे । ‘यो गीत रेलमा छायांकन हुन्छ । गीतमा मादल तिमी मात्र बजाउनू, अरू रिदम चाहिन्न । गितार हुन्छ अनि रेलको छुकछुक आवाज पनि चाहिन्छ,’ गजमेरले बर्मनलाई उद्धृत गर्दै भने, ‘हामी रङ लगाउँदा साइनपेपर लाउँछौँ नि त्यो साइनपेपर च्यातेर मेरो एक साथीलाई छिकछिक गर्ने आवाज निकाल्न लगाइयो । मनोहरि सिंह दाइले बाँसुरी बजाउनुभयो । लता मंगेशकर र किशोरकुमारले गाएको गीतमा जितन अमान र राजेश खन्नाले अभिनय गरे ।’