नोभेम्बरमा कति भित्रिए पर्यटक ?

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

नोभेम्बर २०२२ मा त्रिभुवन विमानस्थल हुँदै ७२ हजार ६ सय ५३ विदेशी पर्यटक भित्रिएका छन् । नोभेम्बर २०१९ मा त्रिभुवन विमानस्थल र उत्तरी तथा दक्षिणी सडक नाकाबाट एक लाख ३० हजार तीन सय दुई पर्यटक नेपाल भित्रिएका थिए । नोभेम्बर २०१९ लाई नोभेम्बर २०२२ सँग तुलना गर्दा पर्यटक आगमन ५५.७६ प्रतिशतले रिकभरी भएको देखिन्छ । सन् २०२२ को पहिलो ११ महिना (जनवरी–नोभेम्बर)मा पाँच लाख ४६ हजार दुई सय १६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ को तुलनामा ५५ प्रतिशत हाराहारी हो । 

पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार चार सय ६२, अगस्टमा ४१ हजार तीन सय चार, सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अक्टोबरमा ८८ हजार पाँच सय ८२ र नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटक भित्रिएका हुन् । 

कुन देशबाट कति ?
नोभेम्बर २०२२ मा भारतबाट २० हजार पाँच सय ३२ अर्थात् कुल संख्याको २८.२६ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आए । कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ आउने गर्थे । तर, चीन सरकारले शून्य कोभिड नीति लिएर आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदा नोभेम्बरमा चीनबाट एक हजार ३८ पर्यटक मात्र नेपाल भ्रमणमा आएका हुन् । 

भारतपछि सबैभन्दा धेरै पर्यटक भित्रिनेमा अमेरिका र युके रहेका छन् । नोभेम्बरमा अमेरिकाबाट सात हजार आठ सय ३१ र युकेबाट पाँच हजार एक सय ६५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, बंगलादेशबाट दुई हजार दुई सय १८, श्रीलंकाबाट एक हजार १८, मलेसियाबाट एक हजार पाँच सय ९३, दक्षिण कोरियाबाट एक हजार ६ सय ७०, थाइल्यान्डबाट दुई हजार चार सय ४१, फ्रान्सबाट दुई हजार पाँच सय ६१, जर्मनीबाट दुई हजार दुई सय ९२, नेदरल्यान्डबाट एक हजार एक सय ४८, अस्ट्रेलियाबाट तीन हजार तीन सय ७५, क्यानडाबाट एक हजार एक सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

See More On

सुझावित समाचार