राष्ट्रपतिले दिएको समयसीमाभित्रै सरकार गठन हुने सम्भावना कति देख्नुहुन्छ ?
‘आउटगोइङ’ राष्ट्रपतिले सांसदहरूले शपथ नखाई सरकार गठनको आह्वान गर्नुभयो । विगतमा केपी ओलीको पालामा उहाँले संविधानको धारा नखुलाई सरकार गठनको आह्वान गर्नुभएको थियो । तर, अहिले उहाँले ७६ (२) अनुसार भनेर प्रस्ट गर्नुभएको छ । राष्ट्रपतिले दिएको समय सीमा आइतबारसम्ममा दलहरूको दाबी परेन भने समय थप्ने कि ७६ (३) मा जाने भन्ने उहाँको विवेकको विषय भयो । ७६ (३) अनुसार बन्ने सरकारले पनि दलहरूलाई सहमतिमा लिएर विश्वासको मत लिनुपर्ने भएकाले अहिले नै थप सहमतिका लागि समय थप्नु बढी उपयुक्त हुन्छ ।
अहिलेकै गठबन्धनको निरन्तरताको सम्भावना देखिन्छ कि देखिन्न ?
यो गठबन्धन टुटाउन केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको भए उहाँ उहिल्यै गइसक्नुहुन्थ्यो ।सरकारको अंशियारमात्र बनाउन खोज्नुभएको हो भने सायद प्रचण्ड त्यता जानुहोला जस्तो लाग्दैन । निर्वाचनमा गठबन्धन बनाएरै जनतासामु मत मागिएकाले कम्तीमा दुई वर्ष यो गठबन्धन सँगै जानुपर्छ र जान्छ जस्तो लाग्छ ।
केपी ओलीले देश मध्यावधिको बाटामा जाँदै छ भन्नुको अर्थ के हुन सक्छ ?
उहाँ धमिलो पानीमा माछा मार्न सिपालु हुनुहुन्छ । उहाँमा यो संविधान र व्यवस्थाप्रति कुनै माया र अपनत्व छैन । उहाँ यो संविधान भत्काउन हिजोदेखि नै उद्यत हुनुहुन्छ । त्यसैका लागि उहाँ जनतालाई तर्साउन मध्यावधिको ‘कार्ड’ फाल्दै हुनुहुन्छ ।