जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वीभेगमा पातारासी गाउँपालिका छ, जसलाई चौधबिस भेग पनि भनिन्छ । उक्त मुकाम खलंगादेखि निकै टाढा भएकाले स्थानीयले चौधबिसमा अनुदानको नुन–चामल वितरण केन्द्र डिपो माग गरेका छन् । चौधबिसवासीले हस्ताक्षर संकलन अभियान सञ्चालन गरेर अनुदानमा वितरण गरिने नुन–चामलको डिपो माग गरेका हुन् । संकलित हस्ताक्षर स्थानीय सरकार गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा बुझाउने तयारी गरेका छन् ।
संघीय संरचनाअनुसार मुकाममा रहेका कार्यालय विकेन्द्रीकरण हुनुपर्ने भए पनि कतिपय नुन र चामल वितरण गर्न डिपो (कार्यालय) खलंगा सदरमुकाममै छन् । यद्यपि, सिन्जा भेगमा पर्ने नराकोट र गोठीज्युलामा भने नुनको डिपो राखेर स्थानीयस्तरमै वितरण गर्ने गरिएको छ । संघीयताअघिदेखि नै जुम्लाकोट र धापामा चामलको डिपो भए पनि डिपोमा चामल पाइँदैन । चौधबिस पातारासीमा रहेका सातवटै वडामा कुनै पनि नुन–चामल डिपो छैन । अहिले पनि त्यहाँका स्थानीय नुन–चामलका लागि सदरमुकाम खलंगा धाउँदै आएका छन् ।
०७८ को प्रारम्भिक तथ्यांकअनुसार तीन हजार एक सय ९१ घरधुरी र १६ हजार आठ सय ८१ जनसंख्या रहेको पातारासीमा सबैभन्दा टाढा हुरीमहरी गढीगाउँबाट दुई दिनको पैदल दूरीमा रहेको खलंगा डिपोमै पुगेर अनुदानको नुन–चामल लिने गरेको स्थानीय भक्तबहादुर बुढाले बताए ।
‘यस क्षेत्रमा कच्ची सडक काटिए पनि नियमित सवारीसाधन चल्दैनन्,’ बुढाले भने, ‘पैदलै आउजाउ गर्नुपर्ने अवस्थाले पातारासीको मुकाम डिल्लीचौर लासी बजारमा अनुदानको नुन–चामलको डिपो राखेर वितरण गर्न सरकारसँग माग गरेका छौँ । नेपाल साल्ट ट्रेडिङ कर्पाेरेसन शाखा जुम्लाका प्रमुख खगेन्द्र मल्लले चौधबिसवासीको माग जायज रहेको बताए । ‘गाउँ कार्यपालिकाले निर्णय ल्याएर प्रशासनमा बैठक बसेर प्रशासनले केन्द्रीय संस्थानमा सिफारिस पठाउनुपर्छ,’ उनले भने, ‘०७४ सालमा कनकासुन्दरी गाउँपालिकाको बिक्री केन्द्रको पनि यसरी स्वीकृत भएको हो ।’