सदस्य राष्ट्रको स्वार्थमा अल्झेको सार्क

भारतमा बढ्दो धार्मिक असहिष्णुताले यस क्षेत्रका अन्य देशमा पनि प्रभाव पार्न सक्ने हुँदा यसले सार्कलाई थप कमजोर बनाउन सक्छ

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

बंगलादेशको ढाकामा सन् १९८५ डिसेम्बर ८ मा दक्षिण एसियाका सात राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्क स्थापना भएको थियो । यस वर्षको डिसेम्बर ८ मा सार्कले आफ्नो ३८औँ वार्षिकोत्सव मनायो, तर शून्यतामा । भौगोलिक र सांस्कृतिक रूपमा निकट हुन दक्षिण एसियाली राष्ट्रहरूले मिहिनेत गर्नुपरेन ।

सार्क स्थापना गर्नुअघि नै पनि हामीसँग त्यो सुविधा थियो । तर, त्यसलाई हामीले पुँजीकरण गर्न सकेनौँ या चाहेनौँ । आज सार्क भनेर गुगल गर्दा आउने सुरुवाती जानकारी नै दक्षिण एसिया विश्वको सबैभन्दा विभाजित क्षेत्रमध्ये एक हो भनेर सुरु हुन्छ । सार्क राष्ट्रबीचको व्यापार यस क्षेत्रको विश्वव्यापी व्यापारको पाँच प्रतिशतभन्दा कम छ । यो कुनै पनि क्षेत्रीय संगठनको सबैभन्दा कम व्यापारमध्येको एक हो । गर्वको विषय हो, सार्कको एक सदस्य राष्ट्र भारत आज विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ । तर, दुःख यसमा पनि छ, २०२०–२०२१ मा दक्षिण एसियाले भारतको कुल निर्यातको ७.३४ प्रतिशत हिस्सा ओगटेको थियो भने दक्षिण एसियाली राष्ट्रबाट भारतले गरेको आयात यसको कुल आयातको ०.८४ प्रतिशत मात्र थियो ।

कुनै संगठनको सदस्य राष्ट्रका कार्यकारी प्रमुख कति नियमित भेट्छन्, त्यसले कुनै पनि क्षेत्रीय संगठनको सफलता अथवा आवश्यकताको सूचकलाई दर्साउँछ । ३८औँ वार्षिकोत्सव मनाएको सार्कले अहिलेसम्म १८ वटा शिखर सम्मेलन मात्र आयोजना गर्न सकेको छ । पछिल्लो १८औँ शिखर सम्मेलन २०१४ मा भएको थियो, त्यसयता सार्क शिखर सम्मेलन हुन सकेको छैन ।

सायद अंकगणित मिलाउन हो या लाज छोप्न, सार्क सचिवालयको वेबसाइटले सार्क सम्मेलनलाई द्विवार्षिक कार्यक्रमका रूपमा प्रस्तुत गर्न खोजेको छ । जे होस्, सार्क बडापत्रको धारा ३ मा राष्ट्र वा सरकार प्रमुखले ‘वर्षमा एकपटक वा आवश्यक ठानेमा सोभन्दा बढीपटक’ बैठक बस्नुपर्ने प्रावधान छ । भएका सार्क शिखर सम्मेलनको प्रवृत्ति हेर्दा पनि कुनै एकरूपता देखिँदैन । बरु एउटा तथ्य प्रस्ट हुन्छ, सदस्य राष्ट्रहरू शिखर सम्मेलन आवश्यकताले गर्दैनन्, आफ्नो सुविधा र अनुकूलताले गर्छन्, कोमामा रहेको सार्क जीवितै भएको देखाउन या जानकारी दिन । यसको पूर्ण मृत्यु त विश्वगुरु बन्ने दिशामा अघि बढेको दाबी गर्ने भारतलगायत अन्य सदस्य राष्ट्रको छविसँग जोडिएको छ ।

३८ वर्षको अवधिमा सार्कले एउटा सदस्य राष्ट्र थपेको छ अफगानिस्तान, तर अफगानिस्तानमा विद्यमान तालिबानी सरकारलाई अन्य राष्ट्रले मान्यता दिएका छैनन् । भारत र पाकिस्तानबीचको सम्बन्ध अझै पनि चिसो छ । मोदी सरकारले सार्वजनिक रूपमै पाकिस्तानलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्ल्याउने चेतावनी दिँदै आएको छ । ‘छिमेक पहिले’ नीति आख्तियार गर्ने भन्दै तामझामसहित शपथ ग्रहण गरेका मोदीको छिमेक नीति सधैँको झैँ एक निरन्तर र अपरिवर्तनीय अवस्थामा छ । आफूलाई निर्विवाद क्षेत्रीय शक्तिका रूपमा स्थापित गर्न छिमेकी राष्ट्रमाथि प्रभुत्व जमाउन कुनै कसर नछोडेको भारत आज आफूलाई विश्व शक्तिका रूपमा स्थापित गराउने होडमा छ । यसले गर्दा दक्षिण एसियाका साना राष्ट्रहरू आज पनि भारतको शक्तिलाई सन्तुलनमा राख्न जरुरी रहेको ठान्छन् ।

भारतमा बढ्दो धार्मिक असहिष्णुताले यस क्षेत्रका अन्य देशमा पनि प्रभाव पार्न सक्छ र यसले सार्कलाई अझ कमजोर बनाउने निश्चित छ । सार्कका आठ सदस्य राष्ट्रमध्ये चार इस्लामिक राष्ट्र अथवा इस्लाम बाहुल्य भएका राष्ट्र हुन् । यी सबै तथ्यले आगामी दिनमा पनि सार्कको आशावादी छवि चित्रण गर्दैनन् । १६औँ सार्क शिखर सम्मेलनमा भुटानी प्रधानमन्त्री लियोनछेन जिग्मी थिन्लेले सार्कको असफलतालाई इंगित गर्दै भनेका थिए– विभाजित र झगडालु छिमेकीले समृद्ध समुदाय बनाउँदैनन् । 

सदस्य राष्ट्रका कार्यकारी प्रमुख कति नियमित भेट्छन्, त्यसले कुनै पनि क्षेत्रीय संगठनको सफलता अथवा आवश्यकतालाई दर्साउँछ । भर्खरै ३८औँ वार्षिकोत्सव मनाएको सार्कले अहिलेसम्म १८ वटा मात्र शिखर सम्मेलन आयोजना गर्नुले यसको दयनीय अवस्थालाई प्रस्ट्याएको छ ।

धेरै विश्लेषणले सार्क असफल हुनुमा भारत र पाकिस्तानबीचको द्वन्द्वलाई प्रमुख कारक मानेका छन् । तर, यो सम्पूर्ण कथाको एउटा भाग मात्र हो । वास्तवमा सार्कको स्थापनाकालमै यसलाई कमजोर संगठन बनाइएको थियो । सार्क स्थापना गर्न सक्रिय भूमिका खेलेका यस क्षेत्रका साना दक्षिण एसियाली राष्ट्रको पहिलो उद्देश्य नै आफ्नो राष्ट्रको सार्वभौमसत्ता र पहिचानलाई सुरक्षित राख्नु थियो, जुन उनीहरूले भारतको बढ्दो आधिपत्यको महत्वाकांक्षाले खतरामा परेको देखेका थिए ।

सार्क स्थापनाको नेतृत्व गरेका बंगलादेशी राष्ट्रपति जियाउर रहमानले सार्क स्थापना गर्न दक्षिण एसियाली राष्ट्र प्रमुखहरूसँग गरेको सञ्चारमा कमजोरहरूको शोषण नहोस् र बलियो हाबी नहोस् भन्ने कुरा सुनिश्चित गर्न दक्षिण एसियाली राष्ट्रबीचको सहकारितालाई ठूलो सावधानीसाथ अघि बढाउनुपर्ने उल्लेख गरेका छन् । सार्क स्थापनालाई मूर्तरूप दिन बसेको परराष्ट्र सचिवस्तरीय पहिलो बैठकले क्षेत्रीय सहयोग, सार्वभौमिक समानता, भौगोलिक अखण्डता र अन्य सदस्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित हुनुपर्ने विषयमा जोड दिएको थियो । 

यसको ठिकविपरीत युरोपेली कोइला र स्टिल समुदाय, जुन अहिले युरोपियन युनियनका रूपमा उभिएको छ, स्थापना गर्दा यसका सदस्य राष्ट्रहरू एउटा विषयमा एकमत थिए, यदि यिनले यस परियोजनालाई सफल बनाउने हो भने कोइला र स्टिल उत्पादनमा आफ्नो सार्वभौम शक्तिसँग सम्झौता गर्नुपर्नेछ । यसको मतलब कोइला र स्टिलको उत्पादन राज्यको नभई समुदायको अधीनमा हुनेछ । सार्वभौमसत्तामा अत्यधिक जोड दिने अधिकांश क्षेत्रीय अभ्यासले आफ्नो उद्देश्य प्राप्त गर्न सकेका छैनन् ।

सार्क स्थापना गर्ने विषयमा भारतको आफ्नै विमति थियो । भौगोलिक केन्द्रीयता, आकार तथा आर्थिक र सैन्य शक्तिको बलमा दक्षिण एसियामा भारतले आफ्नो स्वार्थ पूरा गर्न छिमेकी राष्ट्रहरूसँग व्यवहार गर्न क्षेत्रीयताभन्दा पनि द्विपक्षीय संयन्त्रलाई प्रयोग गर्दै आएको छ । सार्क स्थापना गरेर छिमेकी राष्ट्रहरूले आफूलाई घेर्न लागेको हिसाब गर्दै भारतले क्षेत्रीय संगठनमा आफ्नो सहभागिताका लागि दुई सर्त राखेको थियो, सर्वसम्मतिका आधारमा निर्णय हुनुपर्ने र द्विपक्षीय तथा विवादित मुद्दालाई छलफलको विषय बनाउन नपाइने । यी दुई सर्त अगाडि राखेर भारतले बहुपक्षीयतामाथि द्विपक्षीयता हाबी हुने तथ्य सुनिश्चित गरेको थियो । सार्क स्थापनाका लागि भएको वार्ताका प्रक्रियामा द्विपक्षीय विषयलाई सार्कको राजनीतिक ढाँचामा समावेश गर्ने नेपालको प्रयास भारतको सर्त र त्यसपछि बंगलादेश र श्रीलंकाको आलोचनापछि सफल हुन सकेन । स्थापनाको समयमै बहुपक्षीयतामाथि द्विपक्षीयता हाबी बनाएको संगठनले गज्जब गर्ला भन्ने सोच्नु आफैँमा गलत हो ।

सार्क आफ्नो समयभन्दा धेरै पाटोमा अगाडि थियो भन्नेमा दुईमत छैन । जब आतंकवाद अन्तर्राष्ट्रिय समुदायका लागि छलफलको विषय नै थिएन, सार्क सदस्य राष्ट्रहरूले १९८७ मै आतंकवादको दमनसम्बन्धी सार्क क्षेत्रीय महासन्धिमा हस्ताक्षर गरिसकेका थिए । अहिले सबैभन्दा महत्वपूर्ण मुद्दाका रूपमा आएको जलवायु परिवर्तन र वातावरण संरक्षणको मुद्दा सार्कले धेरै पहिले नै उठाएको थियो । संयुक्त राष्ट्र संघको सहस्राब्दी विकासका लक्ष्यहरू भनी अघि सारिएका विषय सार्कका लागि नौलो थिएन । तर, यी सबै सार्कका लक्ष्य भए पनि त्यहाँसम्म पुग्ने बाटो भने कहिल्यै बनाइएन । राजा वीरेन्द्रले तेस्रो सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, हाम्रो काम र शब्दबीच मेल हुनुपर्छ, किनभने हाम्रो सफलता हाम्रा शब्द वा सेमिनारले भन्दा पनि हामीले हासिल गरेका परिणामले देखाउनेछन् । हामीले ठूला गफ गरेर निकै कम उपलब्धि हासिल गर्नु उपयुक्त हुँदैन ।

सार्कको असफलताका लागि पाकिस्तानमाथि आरोप लगाउँदै आएको भारतले पाकिस्तानलाई अलग राखेर १९९७ मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई अघि बढाएको छ । बिमस्टेकको अवस्था पनि उत्साहजनक भने छैन । अहिलेसम्म पाँचवटा शिखर सम्मेलन आयोजना गरेको बिमस्टेकले २०२२ मा मात्र आएर आफ्नो बडापत्र अपनाएको छ ।

कुनै पनि क्षेत्रीय संगठनको सफलताका लागि क्षेत्रको प्रमुख राष्ट्रको इच्छाशक्तिको ठूलो भूमिका रहन्छ । भारत र पाकिस्तानका कारण सार्कले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सदस्य राष्ट्रहरूले सार्कभित्रै उप–क्षेत्रीय सहयोग संयन्त्र स्थापना गरेका थिए । तर, त्यो संयन्त्र पनि प्रभावकारी हुन सकेको छैन । सदस्य राष्ट्रबीच प्रभावकारी व्यापार सुविधाका लागि उपक्षेत्रीय सहयोग संयन्त्रअन्तर्गत सन् २०१५ मा अघि सारिएको बंगलादेश–भुटान–भारत–नेपाल मोटर बाहन सम्झौता अहिलेसम्म पूरा भएको छैन ।

वर्तमान विश्व व्यवस्थाको जटिलता र चुनौतीको सामना र समाधान कुनै एउटा राष्ट्र एक्लै गर्न सक्ने अवस्था छैन । वातावरण, जलवायु परिवर्तन, खाद्य, ऊर्जा सुरक्षाजस्ता समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहयोगको विकल्प छैन । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले २३ डिसेम्बर २०२२ मा एक कार्यक्रममा बोल्दै विश्वव्यापी अनिश्चितताका कारण बहुपक्षीयताको प्रभावकारिता घट्दै गएकाले राष्ट्रहरूले आफ्नो स्वार्थलाई मात्र प्राथमिकतासाथ हेरेको बताएका छन् । तर, दक्षिण एसियामा यथार्थवादी चिन्तन लामो समयदेखि हाबी रहँदै आएकाले यस क्षेत्रमा बहुपक्षीयताको अनुभव तिक्त रहेको छ ।

सुझावित समाचार