राप्ती गाउँपालिका– ५ भुल्केखोला छेउमा एउटा झुपडी देखिन्छ। वरिपरि काठले बारिएको झुपडिमा ठूला–ठूला छिद्र परेको छ। भित्र के छ, बाहिरबाटै देखिन्छ।
हिउँद याम सुरु भयो। बिनाअवरोध छाप्रोमा सिरेटो छिर्छ। तर, यो छाप्रोका ‘मालिक’ ७८ वर्षीय बालाराम घर्ती यसको परवाह गर्दैनन्। उनी यस्ता सिरोटो खप्ने अब बानी परिसकेको बताउँछन्। ‘०६३ सालमा बाढी आएर घर बगायो। अहिले म बसेको ठाउँमा पहिले गोठ थियो,’ उनले भने, ‘त्यही गोठलाई जग उठाएर यो छाप्रो बनाएँ।’
१६ वर्ष यही छाप्रोमै बिताएका घर्तीलाई गाउँपालिकाले नयाँ पक्की घर बनाइदिने भनेपनि उनले अस्वीकार गरे। ‘बुबा तपाईँ यस्तो छाप्रोमा बस्नु भएको रहेछ। हामी (गाउँपालिका) अब टिन हालेर नयाँ घर बनाईदिन्छौं,’ गाउँपालिका अध्यक्ष प्रकाश विष्टले घर्तीसँग भने। तर, सो प्रस्ताव अस्वीकार गर्दै उनले भने, ‘उमेर पनि धेरै भयो। अब धेरै धुलधाम नगर्ने हजुर। पानी नचुहिने ओभानो ठाउँ भए पुग्छ, अब राम्रो घर किन चाहियो र ?’
घर्तीका दुई छोरा छन्। तर, दुबै छुट्टै बस्छन्। कहिले काहीँ जेठा छोराकोमा गएर बस्ने गरेपनि प्रायः त्यही छाप्रोमै उनको बास हुन्छ। सो छाप्रोलाई पनि घर्तीले दुईतले बनाएका छन्। तल खाना पकाउने र माथि सुत्ने। उनकी श्रीमती बितेको पनि धेरै वर्ष भइसक्यो। अहिले त्यही छाप्रोमा उनी एक्लै जीवन बिताइरहेका छन्।
जस्तापाताका लागि निवेदन दिएको भन्दै वृद्ध घर्तीले पक्की घर लिन अस्वीकार गरे। ‘टिन मिलेछ भने गर्नुपर्ला,’ उनले भने, ‘नत्र झनझट छ। भत्काउने हो भने बर्बाद हुन्छ हजुर। मलाई यही राम्रो छ।’
घर्तीले पक्की घर अस्वीकार गरेपनि गाउँपालिका अध्यक्ष विष्टले यो झुपडीको लागि टिन उपलब्ध गराउने र प्वाल टालेर हावा नछिर्ने बनाउने बताए। ‘बास पनि आधारभूत कुरा हो,’ उनले भने, ‘हाम्रो पालिकाभित्रका कुनै पनि नागरिक झुप्रोमा बास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। हामी त्यो अभियानमै छौं।’