नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग विजेताले ५५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा लिग विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ पाउने जनाएको छ ।
यसैगरी, तेस्रो स्थानकाले १० लाख र चौथो हुनेले पाँच लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।
यस्तै, इमर्जिङ प्लेयरले एक लाख ४० हजार र प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्नेछन् । कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।