प्रक्रिया पूरा भए शोभराजलाई आजै फ्रान्स पठाउने

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

हत्या र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई छुटेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई अध्यागमन विभागले फ्रान्स निष्कासनको प्रक्रिया अघि बढाएको छ। सबै प्रक्रिया पूरा भए आजै निष्कासन गरिने विभागका अधिकारीले बताएका छन्। 

उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले कैद छोट्याएर छाड्न आदेश दिएपछि केन्द्रीय कारागारले शोभराजलाई कडा सुरक्षाबीच शुक्रबार अध्यागमन विभाग बुझाएको थियो। 

विभागले उनलाई जरिवाना गरी भिसा नियमित गरेर निष्कासन गर्न लागेको हो । निष्कासनको निर्णय गर्नुअघि उनको ट्राभल डकुमेन्ट तयार हुनुपर्छ। 

काठमाडौंस्थित फ्रेन्च दूतावासले ट्राभल डकुमेन्ट पेस गरे आजै उनलाई निष्कासन गरिने विभागका एक अधिकारीले बताए। प्रक्रिया पूरा नभएमा उनलाई डिल्लीबजार कारागारमा राख्ने तयारी छ। 

शोभराजकी अधिवक्ता शकुन्तला थापाले भने अध्यागमनले आफूहरूलाई केही जानकारी नदिएको बताइन्। ‘हामी बिहानदेखि यहाँ आएर बसेका छौँ, भेट्न दिइएको पनि छैन, केही जानकारी पनि गराइएको छैन,’ कालिकास्थानस्थित अध्यागमन विभागअगाडि भेटिएकी उनले भनिन्, ‘उनलाई आज पनि थुनामा राखियो भने त्यो अवैध हुन्छ।’

शोभराजकै कारण अध्यागमन विभागमा शुक्रबार कर्मचारीबाहेक कसैलाई प्रवेश दिइएको छैन भने ठूलो संख्यामा प्रहरी खटाइएको छ।

See More On

सुझावित समाचार