बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ १४ गते

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश  सभाका नवनिर्वाचत सदस्यको शपथग्रहण कार्यक्रम यही पुस १४ गते हुने भएको छ। शुक्रबार बागमती प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सदस्यहरूको शपथग्रहण १४ गतेका लागि तय गरेको हो।

बैठकले प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरूको शपथग्रहणको मिति र ज्येष्ठ सदस्यको नामको विषयमा निर्णय गरेको छ। प्रदेश सभा सदस्यहरूको शपथअघि पुस १३ गते ज्येष्ठ सदस्यलाई शपथग्रहण गराइनेछ। ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ।

ज्येष्ठ सदस्यको शपथपश्चात् बाँकी सांसदहरूलाई शपथग्रहण गराइने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए। मन्त्री खनालले नुवाकोटबाट निर्वाचित माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगाना ज्येष्ठ सदस्यको रूपमा पहिचान भएका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले १३ गते दिउँसो २ बजे शपथ गराउनेछन्।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको १५ दिनभित्र सांसदको शपथ सक्नुपर्ने व्यवस्था छ। आयोगले बागमती प्रदेशमा निर्वाचित भएका सदस्यहरूको विवरण यही पुस २ गते प्रदेश प्रमुख शर्मासमक्ष बुझाएको थियो।

यस्तै, २० दिनभित्र बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पुस १७–१८ मा प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भइरहेको पनि मन्त्री खनालले जानकारी दए। प्रदेश सभाको पहिलो बैठकको मिति भने प्रदेश प्रमुखको कार्यालयसँगको समन्वयमा निर्धारण गरिने खनालले बताए।

सुझावित समाचार