चिसो बढ्यो : काठमाडौं उपत्यकामा बिहानैदेखि हुस्सु

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागलाई हुस्सु, कुहिरोले ढाकेको छ । उपत्यकामा बिहानैदेखि हुस्सु लागेकाले घाम देखिएको छैन ।

हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरूले बताएका छन् । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । 

हुस्सुका कारण उडानहरू अवरुद्ध भएका छन् । उडानहरू अवरुद्ध बन्दा यात्रा गर्नेहरूलाई भने असहज भएको छ । हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ ।अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ ।

आगामी २४ घन्टामा  तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 
 

See More On

सुझावित समाचार