एमाले अध्यक्ष केपी ओलीले सरकार निर्माणको अनुचित लेनदेनमा सहभागी नहुने बताएका छन् । प्रज्ञा भवनमा आज आयोजित प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचित सांसदलाई बधाई तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘एमाले सरकार निर्माणको अनुचित लेनदेन, भागबन्डा, सेटिङमा समावेश हुँदैन,’ उनले भने, ‘एमालेलाई यो देशको र जनताको भविष्यको चिन्ता छ । गन्तव्यको चिन्ता छ, सत्ता मोलमोलाईको होइन ।’
उनले मुलुकमा राजनीतिक अस्थिरता बढेको भन्दै इतिहासमा कुनै योगदान नगरेकाहरूको, अनुशासनहीनहरूको बोलवाला बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।
‘मुलुकमा राजनीतिक अस्थिरता बढेको छ । अनुशासनहीनता बढेको छ । सामाजिक अवस्था खलबलिएको छ,’ उनले भने, ‘देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । एमालेलाई त्यसको चिन्ता छ ।’
एमाले देशमा सबैभन्दा बढी जनताबाट रुचाइएको अहिले पनि सर्वाधिक लोकप्रिय पार्टीको रूपमा स्थापित भएको उनको भनाइ थियो । ‘एमालेले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेर देशको सबैभन्दा बढी जनताले रुचाएको सर्वाधिक लोकप्रिय पार्टी बनेको छ,’ उनले भने, ‘प्रत्यक्षतर्फ राज्यसत्ताको दुरुपयोग गरेर, संवैधानिक अंगहरूको दुरुपयोग गरेर एमालेलाई हराइएको हो, एमाले आफैँ हारेको होइन ।’
कार्यक्रमको शीर्षक नै ‘एमाले जनताको रोजाइएको पहिलो पार्टी’ राखिएको थियो ।