रमेश विकलको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएकाे छ । १४औँ विकल स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा गरिएको कार्यक्रममा पुरस्कार वितरण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।
साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङमय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ । यसैगरी २० हजार रुपैयाँ राशिको सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको नि:शुल्क सदगत गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ ।
यस्तै, सिर्जना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उप्रेती तथा संघर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गरिएको छ । कला-संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।
सोही अवसरमा रमेश विकलका प्रतिनिधि कथाहरू र विकलका चार पुस्ताका कथाहरूको लोकार्पण गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, साहित्यकारहरू प्राध्यापक डाक्टर हेमनाथ पौडेल, प्राध्यापक जगत उपाध्याय, आलोक चालिसे, महेन्द्र चालिसे, वसन्त रिजाललगायतले नेपाली साहित्यमा विकलको योगदानको चर्चा गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराएका थिए ।