कर्णालीको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड ४० लाख खुद नाफा आर्जन गरेको छ । शनिबार १२औँ चुनावी साधारणसभामा यस्तो जानकारी दिइएको हो । साथै, संस्थामा २० हजार सेयर सदस्य पुगेका छन् । सहकारीले कर्णालीसहित लुम्बिनी, गण्डकी र बागमतीका ३८ जिल्लामा सेवा केन्द्र विस्तार गर्ने स्वीकृत पाएकोे अध्यक्ष दुर्गा न्यौपानेले बताइन् ।
उनले सहकारीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने संस्थापकदेखि सबै टिमको जोडबलले पुगेको बताइन् । संस्थाका सञ्चालक सदस्य गोकर्ण जिसीले कर्जा परिचालन एक अर्ब ५८ करोड ८ लाख ७२ हजार ६ सय रहेको बताए । यसैगरी, कर्जा असुली एक अर्ब २६ करोड ४६ लाख ८ सय ९२ रहेको र आम्दानी ९ करोड ६५ लाख एक हजार ६ सय ८७ रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले एक अर्बभन्दा बढी कारोबार गर्ने सहकारी चन्दननाथको प्रगतिले खुसी तुल्याएको बताए । तिला गाउँपालिकाका पूर्वउपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिइन् । चन्दननाथ सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले सहकारीको बन्दसत्र सुरु भएको र नयाँ कार्यसमिति चयन भएकोमा जोड दिए ।