निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाउँदै छ ।
आयोगले बागमती प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको विवरण शनिवार दिउँसो १ बजे प्रदेश प्रमुख शर्मा समक्ष बुझाउन लागेको हो ।
बागमती प्रदेशको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनबाट बागमती प्रदेशमा ७ वटा दलको प्रतिनिधित्व रहने भएको छ । सोहिअनुसार बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएको प्रतिवेदन आयोगले तयार पारेको छ ।
शनिवार प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसंगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला हुनेछ । प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश गरे लगत्तै प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरिने प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।
प्रमुख पोखरेलका अनुसार आज शनिवार बागमती प्रदेश सहित सबै प्रदेशका प्रदेश प्रमुखहरु समक्ष निर्वाचित सदस्यहरूको विवरण एकै समयमा पेस गरिने कार्यक्रम रहेको छ ।