‘राजद्रोह’ अभियोगमा पक्राउ पेरूका पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

पेरूको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन्। 

पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले डेढ वर्ष माग गरेको थियो, तर टोरेसको हिरासत समयबारे केही उल्लेख नगरिएको पेरूको समाचार समिति एन्डिनाले जनाएको छ। कास्टिलोलाई कम्तीमा १० वर्षको काराबासको सजायको माग गरिएको छ। 

राजद्रोह र षड्यन्त्रको अभियोगमा गत साता पूर्वराष्ट्रपति कास्टिलोलाई पक्राउ गरिएको थियो। उनलाई पक्राउ गरेपछि देशभर आन्दोलन जारी छ । पूर्वराष्ट्रपतिका समर्थकले आयोजना गरेको आमहडताल र आन्दोलनका क्रममा १४ जनाको मृत्यु भएको छ भने कैयौँ प्रहरी र सर्वसाधारण घाइते भएका छन्। घाइते ४० जनालाई अस्पताल भर्ना गरिएको छ। 

देशव्यापी आन्दोलनका कारण दैनिक दुई करोड ६० लाख अमेरिकी डलरबराबरको क्षति भएको अर्थ मन्त्रालयले जनाएको छ। राष्ट्रपति डिना बोल्वार्टेले आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गर्दै शान्ति, सहमति र भ्रातृत्वका निम्ति आह्वान गरेकी छिन्। 

आन्दोलनले उग्र रूप लिएपछि एक महिनाका लागि देशभर आपतकाल लागू गरिएको छ। राजधानी लिमामा कर्फ्यु’ लगाइएको छ। आन्दोलनकारीले कास्टिलोलाई हिरासतमुक्त गर्नुपर्ने, राष्ट्रपति बोल्वार्टेले राजीनामा दिनुपर्ने तथा तत्काल निर्वाचनको मिति तोकिनुपर्ने माग गरेका छन्। 

See More On

सुझावित समाचार