महिलाहरूका लागि काठमाडौंमा ३५ दिने निःशुल्क ‘माउन्टेन गाइड’ तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, युएनडिपी र नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)को सहकार्यमा निःशुल्क तालिम सुरु भएको हो ।
तालिममा सात प्रदेशका २५ जिल्लाबाट एक सय २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । तालिमको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले एएमएसँग सहकार्य गरेर यो तालिम सुरु गरिएको बताए ।
यो तालिमले पर्वतारोहण क्षेत्रमा नयाँ जनशक्ति तयार हुने उनको भनाइ थियो । उनले परियोजनाअन्र्तगत विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन हुँदै आएको जानकारी दिँदै तालिमलाई व्यावहारिक बनाउन सैैद्धान्तिक तथा व्यावहारिक कक्षा सञ्चालन
गरिने बताए ।
एनएमएका कार्यकारी निर्देशक रुद्रप्रसाद चापागाईंले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा व्यक्त गरे । तालिमका लागि देशैभरबाट आह्वान गर्दा तालिमममा सहभागी हुने चाहनेहरूको संख्या धेरै भएपछि अन्तर्वार्ताको माध्यमबाट सहभागी छनोट गरेको जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)का जीविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए । यो परियोजना नेपाल पर्यटन बोर्डर युएनडिपीको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम हो ।