विश्वकपको इतिहासमा युरोपका राष्ट्रबीच मात्र ११ वटा फाइनल भएका छन् । विश्वकपको तथ्यांकअनुसार दक्षिण अमेरिका र युरोपका राष्ट्रबीच नौपटक फाइनलमा प्रतिस्पर्धा भएका छन् । जसमध्ये दक्षिण अमेरिकाले ६ पटक उपाधि हात पारेका छन् । तीनपटकको फाइनल मात्र युरोपले जितेका छन् ।
ब्राजिल ५–२ स्विडेन
सन् १९५८
विश्वकपको सातौँ संस्करण मात्र दक्षिण अमेरिका र युरोपियन राष्ट्रबीच पहिलोपटक उपाधि भिडन्त भयो । ब्राजिलले आयोजक स्विडेनलाई फाइनलमा एकपक्षीय नतिजा निकाली ५–२ ले हरायो । ब्राजिलको जितमा पेलेले सर्वाधिक दुई गोल गरेका थिए । उनले खेलको ५५औँ र ९०औँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा स्विडेनका लिधोल्मले खेलको चौथो मिनेटमै अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा भाभाले ब्राजिललाई १–१ को बराबरीमा पुर्याए । फाइनलमा पेलेसँगै भाभाले पनि दुई गोल गरे । खेलको ८०औँ मिनेटमा स्विडेनका सिमान्सनले ४–२ को गोलअन्तरका लागि गोल गरे । खेलको ९०औँ मिनेटमा पेलेले ब्राजिललाई ५–२ को जित दिलाए ।
ब्राजिल ३–१ चिली
सन् १९६२
ब्राजिलले ब्याक टु ब्याक विश्वकप फाइनलमा युरोपियन राष्ट्रविरुद्ध प्रतिस्पर्धा गरेको थियो । चिलीले आयोजना गरेको विश्वकपको फाइनलमा युरोपबाट चेकोस्लोभाकियाले स्थान पक्का पारेको थियो । ब्राजिलले फाइनलमा चेकोस्लोभाकियामाथि ३–१ ले पाखा लगाउँदै उपाधि रक्षा गर्यो । खेलको १५औँ मिनेटमा चेकोस्लोभाकियाका मासोपुस्टले अग्रता गोल गरेका थिए । खेलको १७औँ मिनेटमा अमारिल्डोले ब्राजिललाई १–१ को बराबरीमा ल्याए । मध्यान्तरपछि ब्राजिलले दुई गोल थप्दै विश्वकप ट्रफीमाथि कब्जा जमायो । ब्राजिलका लागि जिटो र भाभाले एक–एक गोल गरेका थिए । फाइनलमा ६८ हजार ६ सय ७९ दर्शक उपस्थित थिए ।
ब्राजिल ४–१ इटाली
सन् १९७०
मेक्सिको सिटीले आयोजना गरेको विश्वकपको फाइनलमा पुनः एकपटक युरोप र दक्षिण अमेरिकाबीच भयो । यसपटक पनि ब्राजिल नै फाइनलमा पुग्यो । ब्राजिलले इटालीलाई ४–१ ले हरायो । ब्राजिलले तेस्रोपटक उपाधि जित्दा पेले, जर्सन, जरिन्हो र कार्लोस अल्बर्टोले एक–एक गोल गरेका थिए । खेलको १८औँ मिनेटमै पेलेले ब्राजिललाई १–० को अग्रता दिलाए । खेलको ३७औँ मिनेटमा इटालीले बराबरी गोल फर्काएको थियो । इटालीका लागि बोनिसेन्गाले १–१ का लागि गोल गरे । दोस्रो हाफमा ब्राजिलियन खेलाडी आक्रामक रूपमा प्रस्तुत हुँदा इटालीको केही सीप लागेन । खेलको ६६औँ, ७१औँ र ८६औँ मिनेटमा ब्राजिलले गोल गर्दै उपाधि जित्यो । खेलमा कीर्तिमानी रूपमा एक लाख सात हजार चार सय १२ दर्शकले फाइनल हेरेका थिए ।
अर्जेन्टिना ३–१ नेदरल्यान्ड्स
सन् १९७८ (अतिरिक्त समय)
सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप आयोजना गरेको थियो । अर्जेन्टिनाले उपाधि घरबाट बाहिर पठाएन । अर्जेन्टिनाले घरेलु मैदानको फाइदा लिँदै फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै पहिलोपटक उपाधि हात पार्यो । खेलको ३८औँ मिनेटमा केम्पेसले अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । खेलको ८२औँ मिनेटमा नेदरल्यान्ड्सका नानिगाले १–१ को बराबरी गरे । त्यसपछि खेल अतिरिक्त समयमा गयो । खेलको १०५औँ मिनेटमा केम्पेसले र ११५औँ मिनेटमा वेर्टोनीले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए । यस फाइनल खेलमा ७१ हजार चार सय ८३ दर्शक थिए ।
अर्जेन्टिना ३–२ पश्चिम जर्मनी
सन् १९८६
मेक्सिकोमा आयोजना भएको विश्वकपमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले जादुमयी खेल प्रस्तुत गरेका थिए । म्याराडोनाकै एकल प्रदर्शनमा अर्जेन्टिनाले विश्वकपको फाइनल स्थान पक्का गरेको थियो । यस विश्वकपमा अर्जेन्टिनाविरुद्धको क्वार्टरफाइनलमा म्याराडोनाले एक उत्कृष्ट र एक विवादास्पद हाते गोल गरे । तर, फाइनलमा भने उनी गोल गर्न चुके ।
यद्यपि, अर्जेन्टिनाले उपाधि भिडन्तमा पश्चिम जर्मनीलाई ३–२ को रोमाञ्चक स्कोरमा पराजित गर्दै दोस्रोपटक उपाधि हात पार्यो । अर्जेन्टिनाका लागि खेलको २३औँ मिनेटमा ब्राउनले १–० को अग्रता दिलाए । पहिलो हाफमा अर्जेन्टिना १–० मै सीमित भयो । खेलको ५६औँ मिनेटमा भाल्डोनाले अर्जेन्टिनालाई २–१ को स्थितिमा राखे । पश्चिम जर्मनीले खेलको ७४औँ र ८१औँ मिनेटमा गोल गर्दै फाइनललाई २–२ को बराबरी स्कोरमा पुर्याए । खेलको ९४औँ मिनेटमा वुरुचागाले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए । यस खेलमा एक लाख १४ हजार ६ सय दर्शक उपस्थित थिए ।
पश्चिम जर्मनी १–० अर्जेन्टिना
सन् १९९०
विश्वकप फुटबलको इतिहासमा लगातार दोस्रोपटक साबिक विजेता र उपविजेताले ब्याक टु ब्याक उपाधि भिडन्तमा प्रतिस्पर्धा गरे । सन् १९९० मा इटालीले आयोजना गरेको विश्वकपमा अर्जेन्टिना र पश्चिम जर्मनीले प्रतिस्पर्धा गरेका थिए । पश्चिम जर्मनीले अघिल्लो फाइनलमा व्यहोरेको हारको बदला अर्जेन्टिनासँग लियो । फाइनलमा पश्चिम जर्मनीले अर्जेन्टिनालाई १–० ले हरायो । फाइनलमा एक मात्र गोल ब्रेहमेले खेलको ८५औँ मिनेटमा पेनाल्टी गोल गरेका थिए ।
ब्राजिल ३–२ इटाली
सन् १९९४ (टाइब्रेकर)
अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गर्दा ब्राजिल र इटालीबीच उपाधि भिडन्त भयो । सन् १९७० पछि ब्राजिल र सन् १९८२ पछि इटालीले विश्वकपको अन्तिम दुई स्थान सुरक्षित गरेका थिए । फाइनल खेलको निर्धारित र अतिरिक्त समयमा कुनै गोल भएन । विश्वकप इतिहासमै पहिलोपटक उपाधिको छिनोफनो टाइब्रेकरबाट भयो । जसमा ब्राजिलले इटालीलाई ३–२ ले स्तब्ध पार्दै चौथोपटक विश्वकप उपाधि जित्यो । इटालीका बारेसी, मासारो तथा रोबर्टो ब्रागियोले गोल गर्न सकेनन् । ब्राजिलका मार्सिओ सान्तोषले पेनाल्टी गोल गर्न चुके ।
फ्रान्स ३–० ब्राजिल
सन् १९९८
ब्राजिलले ब्याक टु ब्याक फाइनल खेल्यो । फ्रान्सले आयोजना गरेको विश्वकपमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम दुई स्थान पक्का गर्यो । ब्राजिलले फाइनलमा आयोजक फ्रान्ससँग प्रतिस्पर्धा गर्यो । जिनेदिन जिदानको जादुमयी खेलअगाडि ब्राजिल ३–० ले पराजित भयो । जिदानले खेलको २७औँ र ४५औँ मिनेटमा गोल गरे । पेटीले अन्तिम इन्जुरी समयमा गोल गर्दा फ्रान्सले ब्राजिलमाथि सनसनीपूर्ण जित निकाल्यो ।
जर्मनी १–० अर्जेन्टिना
सन् २०१४ (अतिरिक्त समय)
सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकीबीच फाइनल खेल भयो । लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि फाइनल खेलको स्थान पक्का गरेको थियो । संयोग कस्तो रह्यो भने पश्चिम जर्मनीले पनि २८ वर्षपछि नै फाइनल खेल्यो । यी दुवै टोलीले अन्तिमपटक उपाधि भिडन्त सन् १९९० मा गरेका थिए । ब्राजिलमा भएको विश्वकप फाइनलमा जर्मनीले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हरायो । खेलको ११३औँ मिनेटमा मारियो गोट्जेले निर्णायक एक मात्र गोल जर्मनीका लागि गरेका थिए ।